Saturday, April 17, 2010

स्वागतम् सुश्री आत्रेयीलाई

गतबर्ष क्रिसमस भन्दा एक दिन अगाडी हाम्रो बंशबृक्षको एक्काइसौ सन्तान यस धर्तिमा आउदा अष्ट्रेलियामा रातिको ९.१५ बजेको थियो भने नेपालमा बिहानको चार बज्दै थियो । टाढा अष्ट्रेलियामा रहेकि तिनै नातिनिलाई सम्झेर नेपालीको नया बर्षमा आफनो लामो इतिबृत लेख्ने जमर्को गरेकोछू । जति टाढा भएपनि बिज्ञान र प्रबिधिले धर्तिको दुरीलाई निक्कै छोट्याई दिएकोछ। प्रबिधिको प्रयोग गर्ने हो भने मेरो देशको राजधानीबाट मेरो आफनो गाउ पुग्नू भन्दा अष्ट्रेलिया पुग्न र त्यहाँको बारेमा बुझन सजिलो भएकोछ।

हो, म बसेको नेपालको काठमाण्डौबाट नेपालकै पर पश्चिमी गाऊँ मेरो पुस्तैनी थलो सुरकाल पुग्न बसलाइ २ दिन लाग्दछ। त्यहाँ चार बिस बसन्त खाएकी मेरी आमा बस्नु हुन्छ। चारै तिर हरिया डाडाकाँडा छन। डाडाबाट झरेका साना खोलाहरु मिसिएर नदी बनेकाछन। नदीहरु क्रमस: महानदी, सागर हुदै महासागर बन्दछन । महासागर कस्तो हुन्छ? अष्ट्रेलियामा थाहा पाउन सकिएला तर हिमाली पाखा पर्बत र नदिनालाका बारेमा जान्नु पनि कम्ति रोचक छैन। यि खोलानाला वरपरका फराकिला फाँटमा हजारौ-लाखौ बर्षदेखि मानिस बस्ने गर्दथे। कस्ता होलान त प्राचिन अर्बाचिन मान्छेहरू ? यो गहन अध्यनको बिषय हो। यो सार्बभौम-सर्बांगिण कुरा भन्दा पनि हाम्रा बाजे बराजे को थिए? म आफनै कुलबंशको डोरोलाई रेखांकन गर्न खोज्दैछु ।

हाम्रा मनिषिहरुले समयको लामो कालक्रमलाई चार युगमा बाडेकाछन । पुराण,रामायण र महाभारतकालिन समयबाटै बंश परम्र्पराको लामो शृंखला बन्दो रहेछ। तर हाम्रै अज्ञानताको कालो बादलले टाढाका केहि क्षितिजीय क्षेत्र राम्रोसंग देख्न सकिदैनन् । बाह्रौ शताब्दीको धमिलो रेखाबाट मेरो ईतिहासको सपष्ट असपष्ट सिलसिला शुरु भै आजभोली सम्म आईपुगेकोछ। ज्ञात इतिहासको यो क्रमबद्धतालाई यो लेख मार्फत अष्ट्रेलियासम्म पु-याउने जमर्को गरेकोछु । आगत अज्ञात छ। शुभास्ते पन्थान ।

हाम्रा पुराणहरुमा बेदका मन्त्रद्रष्टा ऋषिहरुको संख्या अठासी हजार भएको कतिपय प्रसंग आऊछन । यिनिहरु मध्ये प्रख्यात सात ऋषिहरुको समुहलाइ सप्तर्षि भनिन्छ । यो समुहमा आदिश्रृष्टिकर्ता ब्रह्माका मानसपुत्र अत्रि ऋषिको बिशिष्ट स्थान छ। हाम्रो बंशको पौराणिक जरो यिनै गोत्र प्रबर्तक अत्रि ऋषिसम्म जान्छ । अर्थात हामी अत्रि गोत्रमा पर्दछौ ।

स्थानिय स्वशासनको बारेमा लेखिएको सर्बाधिक पुरानो ग्रन्थका रचयिता हाम्रा गोत्र गुरु भावलाइ नै भगवान मान्दथे। भगवान राम स्वयम् बनबासमा हुदा अत्रि आश्रममा बसेका कथा रामायणमा पढन सकिन्छ। अत्रि पत्नी अनुसुया र छोरी अपाला आफैमा बिदुषि महिला थिइन। ऋग्बेद आठौ मण्डल एघारौ सुक्तकी रचयिता अपालाले चर्मरोगको बनौषधि पतो लगाएकी थिइन । स्थानिय सोमलताबाट निर्मित सोमरसबाट ईन्द्रलाई खुशी पारी माइतका खेतहरु सँधै उर्बर रहुन भन्ने बरदान मागेकी थिइन। भनिन्छ माता अनुसुयाले गुप्तरुपमा गंगालाई आफनो आश्रममा बोलाएकी थिईन। हाम्रो गाऊको भुगोलसंग यो परिवारका कैयौ किम्बदन्तिहरु जोडिएकाछन ।

रामायण र महाभारतकाल पछि आर्याबर्तमा धेरै उथलपुथल भए। कैयौ सभ्यता बिकसित भए, बिनास भए । बिनासकारी बिपदाहरु आए गए। जेहोस आर्य सभ्यता गंगा प्रसवण क्षेत्र भरी दुबो जस्तो फैलिएरै रह्यो । सानो उदाहरण दिउ, आमाको निम्ति प्रयोग गरिने हाम्रो स्थानिय ‘इज्या’ भन्ने शब्द ‘आर्या’ को अपभ्रंश मानिन्छ। स्मरविय छ, आर्यमाताहरुलाई आर्या भनिन्थ्यो।

नेपालको ईतिहासमा लेखिए अनुसार बाह्रौ शताब्दीतिर तत्कालिन कान्यकुब्ज (हाल भारतको कन्नौज) बाट आत्रेय गोत्री ब्राह्मण शक्ति भट्ट, उनका छोरा पृथ्बी र नाति उदय भट्ट हालको भारतिय उत्तरांचल हुदै डोटी प्रदेशमा प्रबेश गरेका थिए । यसै बंशका बत्सराजले डोटीका राजाकी छोरिसंग बिबाह गरि यहाँको राजपाट समेत चलाएका थिए। यिनका छोरा उपबत्सराज र त्यस पछिका केहि पुस्ता सम्म डोटी र जुम्ला राज्यसम्म यो बंशको शासन थियो ।

उता भारतमा मुसलमानहरुको चकचकी बढन थालेपछि त्यतातिरका आर्यहरुको पहाडतिर सर्दै आउने क्रम बढन थाल्यो । सम्भबत: सगोत्रीहरुको राज्य भएर होला, काशि बनारसबाट कुमायु हुदै काली पश्चिमका बायुतटिय बस्तिमा कालु भट्ट नामका ब्राह्मण पनि आई पुगे । यिनका तीन छोरा थिए, त्रिपुर, जासु र उदासु । त्रिपुरराज पछि उनका छोरा काशीराज,नाति गजराज र पनाति श्यामराजले यसै प्रदेशका बिभिन्न बस्ति आबाद गर्दै दिन बिताए ।

सम्भवत: बिक्रम सम्बत १५९५ तिर हुँदो हो । श्यामराजका छोरा मोति भट्टले ततकालिन सँङौडकोटका रजौटाहरु लाइ प्रभावमा पारे र बडाभट्ट कहलिन थाले । यिनै मोति भट्ट अर्थात मोति बडू ले बायुतट पर्बत (हालको ग्वाल्लेक धुरा) को पश्चिमी पार्श्वलाई आफनो कार्य थलो बनाई बंश परम्परा चलाए । यहि पद-बोधक बडाभट्ट शब्द कालान्तरमा जाति-बोधक ‘बडूभट्ट’ मा अपभ्रंशित भयो। पछि उनका सन्तानहरुले बडू थर नै कायम गरे ।

तदुपरान्तको बंश बिस्तार एकै लेखमा भ्याईन्न । हामीसम्म आइपुग्दा यो छोटकरी क्रम निम्नवत् चलेकोछ। मोति बडूका चार छोरा –रतनदेव,लखनदेव,सतनदेव र प्रतापदेव-मध्ये लखनदेवका ३ छोरामा शंकरदेव,काशी र दुल्लप थिए । शंकरका कपुरे बडू र मगी भए । कपुरेबाट जसि, हिरा र रामी जन्मिए । जसि बडूका कालो र हिमरे नामका २ छोरा थिए । कालो बडू पछि क्रमस:रतन,लाटो र मनुवा बडुसम्म चौधौं पुस्तामा हाम्रो इतिहास आइ पुग्दछ ।मनुवा बडूका चार छोरा थिए,गुमानी सकते, काशि र दामू। गुमानिका छोरा नन्दराम र नाति मनिदत्त भए । पितामह मनिदत्त र मातामहि लक्ष्मीका तिन छोरा क्रमश: धर्मानन्द,रामदत्त र दामोदर हुन् । पिता धर्मानन्द र माता नर्मदाका तीन भाइछोरा हामी भानदेव, दत्तराम तथा कृष्णदत्त भयौ। यस पछी भानुदेव र राजेश्वरीका चार सन्तानका रुपमा दीपेन्द्रदेव,कैलाशदेव, दिलिपदेव र बासुदेवको पालो आउछ। यसरी बुवा दिपेन्द्र र आमा अन्जनाका कोखबाट जन्मेकी कन्यारत्न आत्रेयीलाई अत्री गोत्रीय हाम्रा कुलको जेठो र पहिलो सन्तानका रुपमा यसरी नामांकित गरिएकोछ ।

बिक्रम सम्बत २०६६साल पौष मासे शुक्ल पक्षे सप्तमी तिथौ सौर दिन ८ गते रात्रीगत घटिका २६।५२ बुध बासरे तदनुसार इस्वी सन २००९ दिसेम्बर २४ तारीख अष्ट्रेलियन (मेलबर्न) समय बिहिबासरे रात्री ९ घण्टा१५ मिनेट नक्षेत्रे पुर्बभाद्रपदा चतुर्थ चरणे राशि १२ लग्ने १० जन्मस्थान मेलबर्न अष्ट्रेलिया श्रीमान पिता दिपेन्द्र बडू पुजनिया माता श्रीमति अन्जना बडू प्रथम गर्भे प्रथम पुत्रीरत्न सुश्री दिप्तिका दिर्घमायु भुयात्शुभम्।

No comments:

Post a Comment