Sunday, September 18, 2016

काल चिन्तन ; एक जटिल मनोबाद

 आज बिक्रम सम्बत ०७३ असौज २ अर्थात १८ सेप्टेम्बर, ईस्बि सन् २०७३ । मेरो पिताजीको श्राद्धको दिन आज आश्विन शुुक्ल द्वितिया पनि परेकोछ । यो बर्ष मैले ६१ औंं शरदोत्सब मनाउदै छु । यसै बर्ष माघ महिनामा पिताजी स्वर्गे भएको 22 बर्ष पुग्दैछ।
यो जिउनु र बाँच्नुको हिसाब हेर्दा श्रृष्टिको क्रम कहिले शुुरू भयो? कहिले सकिएला? भनेर समय गणनाको पनि हिसाब निकाल्नु पर्ने हुन्छ । यहि समय अर्थात कालको जटिल नापोमा आज यो मनोबाद लेख्न कसिएको छु ।
वास्तबमा कालको शास्त्रीय चिन्तन बडो गज्यामज्याङ लाग्दो छ । बुझ्नै गारो । यसै कारण आइन्सटाइनले समयलाई सापेक्षतामा मात्र अनुभव गर्न या बुझ्न सकिन्छ भनेका होलान । अर्थात कसैसंग तुलना गरेर मात्र अर्थ्याउन मिल्छ । जस्तो असाध्यै गर्मी या जाडोमा बस्दा र कुनै मनपरेको मानिसको साथमा बस्दाको समयको गणना यथार्थमा एउटा भए पनि अनुभुतिमा फरक फरक हुन सक्दछ । यसैले काल गणनाको एउटै इकाई पर्याप्त नहुन सक्छ । हाम्रा ऋषिमुनीहरुले  हाम्रो १५ दिन ( एक पक्ष ) लाई पितृहरूको एक दिन र हाम्रो ६ महिना ( एक अयन ) लाई देवताको एक दिन किन मानेका होलान ? यो कालचक्रको हिसाब नै निकाल्न नसकिने भएकोले महाकालको कल्पना गरेका हुन कि ? उत्तर बिचारणिय छ ।
अचेेलका जिउदा महान बैज्ञानिक स्टीफन हकिन्सले समयको संक्षिप्त ईतिहास ( Brief history of times ) नामको पुस्तकमा समय र श्रृष्टिको शुुरुवात संगै भएको मानेका छन । ऊनको भनाई अनुसार अज्ञात आदिद्रब्यमा कारणिभूत महाबिस्फोट ( big bang ) हुदा अब्यक्त अबस्थाको ब्रह्माण्ड ब्यक्त अबस्थामा आयो । यसैताका समयको ज्ञात उपस्थिति शुुरु भएको अनुमान गर्न सकिन्छ । यो काल गणना कहिले सकिएला त ? यसको उत्तर पनि यतिकै जटिल मानिन्छ । तर कुरैको कुरा गर्दा श्रृष्टिसित जन्मेको समय श्रृष्टिसंगै सकिएला भन्न सकिन्छ होला । यो विश्व ब्रह्माण्ड कसरी कहिले सकिएला ? भन्ने प्रश्नको उत्तरमा हकिन्स कुनै खगोलिय ताराको उदाहरण दिन्छन । तारा बिलुप्त हुँदा उसको ईन्धन प्रकाश र उर्जाको रूपमा बिसर्जित हुँदै जान्छ र तारा संकुचित हुँदै सकिन्छ । यसै रितिले यो ब्रह्माण्ड पनि सकिने होला ।
तर प्राच्य दर्शनमा हाम्रा ऋषिमुनिहरुले कालको परिभाषा दिदै भनेका छन, " कलयति सर्बाणि भुुतानि " । अर्थात काल( समय) सम्पुर्ण ब्रह्माण्ड र यसको श्रृष्टिलाई खाने गर्छ । श्रृृष्टिको उत्पति, स्थिति, परिबर्तन र समाप्तिको लय रुपमा बिराट कालचक्र निरन्तर गतिमान रहने बताइएकोछ । ऋग्बेदको नारदसुक्तका अनुसार श्रृष्टिपुर्ब त्यहाँ सत, असत, परमाणु, आकाश, मृत्यु, अमरत्व, दिन, रात, समय जस्तो केही थिएन। अन्धकारबाट अन्धकार ढाकिएको स्पन्दन शक्तियुक्त एउटा तत्वमात्र थियो ।

यो महाकालका सम्बन्धमा संस्कृतका महाकबि क्षेमेन्द्रको यो पंक्ति उळेखनिय छ ।
" अहो कालसमुद्रस्य न लक्ष्यन्तेऽतिसंंतता: । मज्जन्तोतरनन्तस्य युगान्ता पर्बता इव: ।।" ( कालको महासमुद्रमा कुनै संकोच जस्तो अन्तराल छैन । महाकाय पर्बत जस्ता ठुुल्ठुला युग यसमा समाहित हुँदै जान्छन् ।) 
सर्बभक्षी कालका बारेमा नोबेलपुरुस्कार प्राप्त कबि अक्टिबियो पाजको वर्णन यस्तो छ ।
A clock strikes the time
now its time
it is not time now.
not it is now.
now it is time to get rid of time .
it is time and not now. time its the now.
now its time.
windows close
walls close. doors close.
the words go home. 
now we are more alone..l.

अर्थात कालयन्त्रले नै कालका बारेमा बताउछ । कालमा आज वा अहिले हुदैन । काललाई बिदा दिने समय आज भए पनि काललेनै आजको समय निलिदिन सक्छ । करालकालले हाम्रा सम्पुर्ण  झ्याल- ढोका भित्ता-पर्खाल बन्द गर्छ र हामीलाई नितान्त एक्लो बनाइदिन्छ । 
श्रीमद्भागवतमा राजा परिक्षतलाई शुुकदेव बताउछन, " बिषयको रुपान्तर ( परिबर्तन ) नै कालको आकार हो । त्यहि परिबर्तनको निमित्त बनेको यो कालतत्व आफुुलाई अभिब्यक्त गर्दछ र अब्यक्तबाट ब्यक्त हुन्छ ।" अर्थात काल अमुर्त तत्व हो । घटेका घटनाहरुबाट हामी यसलाई अनुभव गरेर मात्र जान्दछौ ।  हजारौ बर्ष पहिलेको कति शानदार भनाई ! कालजयि ऋषिहरूको अनन्त चेेतनाको अगाडी नतमस्तक हुने कारण यतिमात्रै होइनन् , काल गणनाका सुक्ष्मतम र महतम माप पनि हाम्रा शाास्त्रमा भेेटिन्छन । जस्तै:-
 सुक्ष्मतम अंंश परमाणु ।२ परमाणु=१अणु।३ अणुु= १ त्रसरेणु।
३ त्रसरेणु= १ त्रुटि  ।। १०० त्रुटि= १ बैध ।३ बेध= १ लव ।
३लव = १ निमेष । ३ निमेष= १ क्षण । ५ क्षण= १ काष्ठा
१५ काष्ठा = १ लघु । १५ लघु = १ नाडिका । 
२ नाडिका = १ मुहुर्त । ३० मुहुर्त= १ दिनरात । ७ दिनरात= १ सप्ताह । २ सप्ताह= १ पक्ष । २ पक्ष= १ मास । २ मास= १ ऋतु । ३ ऋतु= १ अयन। २ अयन= १ बर्ष ।।
 शुुकमुनिको गणनामा एक अहोरात्रमा ३२८०५००००० परमाणुकाल हुन्छन । यसरी कालगणना गर्दा १ परमाणु= ८६४०० सेकेण्ड हुदा रहेछन । एबंरित्या हाम्रा पुर्बजहरुले विभिन्न रितिका कालगणना पध्दति निकालेका थिए । यो सामान्य समय गणना बाहेक ब्रह्माण्ड आयुगणनाको पनि हिसाब किताब छ । जस्तै:-
 कलियुग= ४३२००० बर्ष । द्वापरयुग=८६४००० बर्ष ।
त्रेतायुग = १२९६००० बर्ष । सत्ययुग=१७२८०० बर्ष ।
४ युग(४३२०००० बर्ष)= १ चतुर्युगी । ७१ चतुर्युगी= १ मनबन्तर ।१४ मनबन्तर र संध्यान्शका १५ सत्ययुग=१ कल्प( ब्रह्माको एक दिन) १०० ब्रह्मा बर्ष= १ ब्रह्माको आयु ।
एक ब्रह्माको आयु= बिष्णुको १ निमेष हुन्छ र बिष्णु पछि रुद्रको काल आउछ । रुद्र स्वयम् कालरुप पनि हुन र अनन्त छन् ।
सोझो हिसाबमा यो सब कपोलकल्पित जस्तो लाग्ला तर खगोलसंग कालगणनालाई समबध्द गर्दा यसमा सत्यको प्रतीति हुन्छ । इस्वि सम्बतको गणना पृथ्बीले सूर्यको परिक्रमा गर्दा लाग्ने समयमा आधारित छ भने पुर्बीय गणना खगोलपिण्डको सूक्ष्म निरिक्षणमा आधाारित छ ।
यसरी कालको कराल कर्ममा हाम्रो नियति टिकेकोछ । गितामा समेत बिश्वरुपको दर्शन गराउदा यस्तै कालपुरूषको बर्णन गरिएकोछ । यो महाकालको अगाडी सारा ब्रह्माण्ड त भुुसुना बराबर छ भने हामी बबुराहरुको के गिन्ति र ? कालपुरुषको कल्पना बडो जटिल छ । बुझ्न बुझाउन बडो कठिन । सारा संसार यसै कालको घरमा निरन्तर बिलिन हुँदै जाँदो छ, तर पनि मूर्ख मनुष्य यो संसारमा स्थायि रहने हो कि झैै व्यवहार गरिरहन्छ । महाभारतमा यहि प्रबृतिलाई संसारको सबभन्दा ठुुलो आश्चर्य मानिएकोछ । " शेेषा स्थावरमिच्छन्ति किमाश्चर्य मतपरम् " ।
ब्रह्माण्ड बिषयमा बैज्ञानिक हकिन्सले दिएको एउटा उदाहरणबाट यो लेखको बीट मारौ । उनले लेखेका छन् । कल्पना गर्नोस, एउटा धेेरै तला भएको ठूूलो पानिजहाज विशाल समुद्रमा तरिरहेकोछ । त्यसको भुुईतलाको एउटा कोठामा आलुका बोरा राखिकाछन । त्यस मध्ये एउटा बोरा भित्रका केही आलु कुहिएर किरा पर्दैछन । त्यसमध्येको एउटा किरोले धेेरै सोचेर के धमास लाउदैछ भने उ यो जहाज के कति समान बोकेर कहाँ र कसरी जाँदैछ भन्ने खोज गर्नेछ । यो अखिल खगोलका अगाडी हामी मानिस पनि आलुका किरा जस्तै हौ । कालपुरुषको निम्ति यो सारा श्रृष्टि  एक स्पन्दन हो, एक लय हो । भन्नोस त, यो कालगणनाको चक्करमा म किन लागेको हुँला ? बाईबलका प्रथम मानव जोडीले बेकारमा ज्ञानबृक्षको फल चाखेछन् । बरू जड भरत हुनु नै पो निरापद हो कि ? म अहिले यस्तै यस्तै मनोबादमा एक्लो रातको उदास समय काटिरहेकोछु ।तर यो समयरुपि कालपुरुषले मलाई क्रमस: सिध्याउदैछ । कट् ... कट्.. कट्.. । म भन्न सक्दिन, भबिष्यमा मेरो श्राद्धकर्म गर्दा समयले मलाई कसरी अभिब्यक्त गर्नेछ । आखिर समयले नै त हामीलाई विभिन्न दृष्टिकोण दिन्छ ।








No comments:

Post a Comment