Thursday, August 17, 2017

गाउँघरको खानपिन ; एक चर्चा



बिषय- प्रबेश
आफू खानपिनको त्यति शौकिन त परिएन , तर कुनै पनि नयाँ परिकार देख्दा स्वाद चाख्न असाध्यै मन लोभिन्छ । त्यसैले नयाँ ठाउँ जाँदा भरसक्य नयाँ नयाँ परिकार नै रोज्ने गर्दछु । बिगत एक डेढ बर्ष यता  निरन्तर जस्तै   गाउँघरतिर जाने गरिएकोछ । परिबर्तनका अन्य आयाम जस्तै लवाइ खवाइमा पनि  गाउँमा परिबर्तन देखिएकाछन्  । परंपरागत बिबिधतापुर्ण परिकारहरुको स्वाद लिएर हामी गाउँघरको बसाइलाइ अझ संस्मरणिय बनाउन सक्दछौ । मौसमका हिसाबले पनि यो लेख लेख्न बस्दा पहाडको गाउँमा रिमझिम पानी परिरहेको समय छ र गौरा महापर्बको सम्झना आइरहेकोछ । यस्तो चाडपर्बका बेलामा खानेकुराको ख्याल आउनु स्वाभाबिकै नै हुदा यसै  बहानामा खानपिनको चर्चा समसामयिक नै होला जस्तो लागेकोछ ।
स्थानिय खानपिन
आजभोली खेतमा काँक्रो, मुला, चोतो( स्थानिय मुला), पिँडालु, करेला, फर्सी, सिमी आदि तरकारीको छेलोखेलो रहन्छ । साउन- भदौका गाबा ( पिडालुको कलिलो डाँठ र पात ) त प्रख्यात नै भए । पहाडको जीवन शैली जस्तै यहाँको खानपिन पनि सादा र आडम्बर रहित हुन्छ । यो नै हाम्रा खानाको प्रमुख बिशेषता हो जस्तो लाग्छ ।
उपलब्ध भएजतिको सबै तरकारी एउटैमा मिसाएर भुटने र पाएसम्म त्यसमा छाँच ( महि ) हालेर रसदार तरकारी बनाउने चलन अध्यापि देखिन्छ । निख्खर स्थानिय सामग्रीमा स्थानिय मसालाको प्रयोग हुँदा यो " छाँच हालेको तरकारी" को स्वाद बेग्लै हुन्छ । पहिले पाइने केही रैथाने फलफुल, तरकारी र स्थानिय अन्नपात अहिले लुप्तप्राय: छन । केही त हराइ नै सके । अलि अलि पाकेपछि हातले मलेर कमलो बनाउन सकिने केरा आकारको " गोफला" भनिने फलको लहरा अब भेटिनै छोडे । बेडु, तिम्ला, गोलकाँक्रि, गिठा, धमेक, बनतरुल आदि पनि मुश्किलले पाइन्छन् ।
लोकप्रिय पहाडी खाद्यान्न भट्ट ( कालो, सेतो, खैरो सोयाबिन ) को चुक( अमिलो) हालेको दालको स्वादमा आफनै बिशेषता छ । पहाडी ब्यन्जनमा डुब्काको आफनै स्थान छ । डुब्काकै नामबाट ठुला शहरमा केही रेष्टुरेन्ट पनि चल्न थालेकाछन् । गहतका डुब्कालाई सबभन्दा स्वादिलो मानिन्छ ।
पहाडी अचार या चटनीको पनि अलग्ग्गै महात्म्य छ । तिल, भांग या सर्स्यु भुटिवरि पिसेर मुला आदिसंग मिसाएर बनाएको चटनीको स्वाद सजिलै बिर्सन सकिँदैन । दाडिम ( सानो अमिलो अनार ) का बियाँलाइ धनिया र पदम( पुदिना) संग पिसेर बनाएको अचार सम्झिदा पनि मुखै रसाउछ । हिउदको घाममा अमिलो निम्बु आदिको साना साना टुक्रा बनाइ मुला चोतोको लामो पातला टुक्रामा मिसाएर पिसेको हरियो धनिया, खुर्सानि र नुनमा साँधेर खाँदाको आनन्द बेग्लै छ । यसै मिश्रणलाई गुड , खुदो, चिनी वा दहिसंग मिलाएर पनि खानसकिन्छ ।
कोदाको परिकार; अब शहरमुखी भए
हाम्रो गाउघरमा यति धेरै परिकार छन कि हामीले हामीले बजारीकरण वा शहरिकरण गर्न नै सकेका छैनौ । उदाहरणका लागि सामान्य रोटिलाइ पनि हामी रोटि , रोटा, रोट, फुल्क्या, परौठा, माणा, लौऽन, पुरी, खल्क्या, आदि बिभिन्न भेराइटिमा पस्किन सक्छौ । यस्तै उदाहरणका लागि पहाडी जिल्लाका गाउघर तिर धेरै खेति गरिने र खाइने अन्न मध्येको  कोदो  शहरीकरणसँगै   एक अचुक औषधिको रुपमा पनि परिचित बनेको छ । परम्परागत रुपमैँ कोदोको ढिंडो, रोटी, पुवा र खोले बनाएर खाईन्थ्यो । अहिले शहरबजारमा पनि कोदोको माग बढ्न थालेपछि खोलेलाई सुप भन्न थालिएको छ र खानेदर बढ्दै गएको छ ।कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी परिकार पनि बन्न थालिसकेका छन् । थोरै चामलको भातसँग बिहान र बेलुका ढिंडो खाईन्छ । रोटी भने दिउँसोको खाजा र बेलुकाको खानाको रुपमा गुन्द्रुकको झोल वा साँधेको गुन्द्रुकसँग खाईन्छ । जाडो याममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदोले तातो दिने हुँदा बढीजसो परिकार जाडो याममैं खाईन्छ ।
त्यसो त मंगोलियन जातिले घरमैं कोदोको रक्सी बनाउने चलन छ । कोदोको रक्सी सबैभन्दा राम्रो मानिन्छ । खनिज र शुद्ध अल्कोहलको मात्रा राम्रो भएकाले स्वास्थ्यका हिसाबले पनि कोदोको रक्सीले अरु रक्सीको तुलनामा सबैभन्दा कम असर गर्ने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । स्वास्थ्य विशेषज्ञहरुले कोदोलाई वालवालिकाको सबैभन्दा उत्तम खाद्यान्न प्रमाणित गरेका छन् । भन्ने गरिएकोछ, कोदोको परिकार खाएका वालवालिकाको दिमागको विकास तीव्र गतिमा हुन्छ । हड्डी मजबुत बनाउने र शरीरको संरचना विकासमा कोदोको परिकारले राम्रो भुमिका खेल्छ । जाडोमा कोदोको खोलेले वृद्धवृद्धाको पेट आडिलो हुनुका साथै पेट र आन्द्रालाई सफा गर्छ । उच्चरक्तचाप र मधुमेहका विरामीले नियमित खानाले सञ्चो हुँदै जान्छ । चिल्लो नहालिकन बनाईएको कोदोको खोलेले घाँटीको टनसिल वा खटिरा,पुरानो घाउ वा एलर्जी ठिक हुने गर्छ । यसै गरि  हाम्रा स्थानिय परिकार स्वास्थ्यका लागि सारै अनुकूल छन, तर हामी " घरकी मुर्गी दाल बराबर " मानिरहेकाछौ ।
हरितालिकाको दर ; विशिष्ट खानपिनको समय 
आज भोलि नै हरितालिका ब्रतको समय पनि हो ।तीजमा खाइने दरका केही परिकार तथा बनाउने विधि पनि आआफ्नै किसिमका छन् । अरूबेला  कतै सुन्न नपाइने यो दर शब्द नेपाली सँस्कृतिको अमुल्य शब्द हो । ‘दर’ भनेको पकवान भनेर बुझिन्छ । जाे कसैले अाफूले दरका रुपमा जे खान्छ उसले ‘दर’ शब्दको अर्थ त्यहि खानालाई बुझ्छ । वास्तवमा  दर भनेको  तिज ब्रतको अघिल्लो दिन दरो हुने गरि जुन पकवान खाइन्छ त्यहि नै दर हो भन्छ । उहिले गाऊघरमा दरको लागि शुद्ध जौंको रोटी पकाइन्थे । हाल प्रचलनमा आएका केही परिकारका बारेमा विभिन्न पत्रपत्रिकाबाट  टिपोट गरेर यो लेखमा समेटने प्रयास गरिएकोछ ।
( क )ढकने
दरका रुपमा चौरासी व्यन्जन भएपनि, अनेक परिकार भएपनि ढकने लाई दरबाट हटाउने हो भने त्यो दर हुन सक्दैन । किनभने संस्कृति भनेको परम्परा पनि हो र यसलाई जस्ताको तस्तै संरक्षण गरिन आवश्यक छ । यसकारण ढकनेलाई दरमा सधै समाबेश गरौ ।
ढकने पकाउने तरिका र आवस्यक सामाग्री
१–एक के.जी. चामल(लङग्रेड बासमति)
२–१५० ग्राम ध्यु
३– ड्राई फ्रुट्स( ल्वाङ, सुकमेल, मरिचको धुलो, ढोलो अलैचिको दाना)
* कराहिमा ध्यु तताउने तताएको ध्युमा चामल राखेर सानो आँचमा भुट्ने । चामल भिजाएर पनि भुट्ने चलन छ । तर यहाँ भिजाइएको छैन ।
*गाडा खैरो हुन्जेल भुट्ने र आगो निभाएर पनि भुटिरहने बा चलाइ रहने । केहि सेलाए पछि माथिबाट दुध राखेर सानो आचमा पकाई रहने । बेला बेलामा चालाउने । छोपी छोपी मकाउने ।
* चामल राम्ररी पाकेपछि त्यसमा रहेको दुध सबै सुक्न दिने र चीनी राखेर राम्ररी चलाउने । त्यसपछि ड्राइ फुडहरु सबैतिर राखेर चलाउने । अलैचिको बोक्रा छोडाएर दाना मात्र राख्ने । केहि समय ढकनाले छोपेर राख्ने । यो परिकार खानको लागि तयार भयो ।
विचार गर्नु पर्ने कुरा के छ भने ढकनेको चामल एक अर्का मा टाँसिएको हुनु हुदैन । हेर्दा  सुख्खा लागेपनि यो दुध र ध्यु मा राम्ररी पाकेको ह्न्छ । पाकिसकेपछि यसको रङ खैरो हुन्छ । यसलाई जुनसूकै तरकारी संग खान सकिन्छ ।
( ख)भिण्डीको अचार
तीजको समयमा जताततै भिण्डी पाइन्छ । हरियो तरकारीका रुपमा भिण्डीको धेरै पकिार बनाउन सकिन्छ । दरकै रुपमा भिण्डीको अचार स्वादिलो र स्वास्थ्य बद्धक पनि हुन्छ ।
आबश्यक सामग्री
१ भिण्डी १ के.जी.
२ हरियो खुर्सानि १०० ग्राम
३ न्यामिर अथवा कागति
४ तीलको छोप २०० ग्राम
५ तेल १०० मी.ली.
६ जिरा, हिंग, मेथी,
बनाउने तरीका
* भिण्डी लामो दुई इन्चको टुक्रा पारेर चिर्ने । खुर्सानि पनि लामो पारेर चिरेर राख्नु
* कराहीमा तेल तताउने
* एक चमचा मेथी, एक चमचा जीरा, एक चुट्की हिंग फुराउने
* चिरेको खर्सानि हालेर एकछिन चलाउने । केही बेर चलाउने र बेसार राखेर काटेको भिण्डी ओइरीने । नुन राखेर सबैतिर चलाउने । सानो आचमा छोपेर पाक्न दिने ।
* हरियो ज्यामिरको अमिलो भए अति उत्तम हुन्छ यदि छैन भने कागतिको अमिलो आवश्यक मात्रामा राख्ने र छाप राखेर चलाउने । अव भिण्डीको अचार तया भयो । यो अचार भात बा पुलाउसंग खाएपनि हुन्छ । गुलियो ढकने वा हलुवा संग खाएपनि हुन्छ ।
( ग )पाल्पाली चुकाउनी
चुकाउनी भन्नासाथ यो पाल्पाली परिकार हो भन्ने बुझ्नु पर्छ । अहिले काठमाडौँका विभिन्न भोजभत्तेर खाने क्रममा पाल्पाको चुकाउनी समावेश गरिँदै आएको छ । यो स्वाद अहिले नेपाल भरिका मान्छेले पाएका छैनन् । तर विदेशीले स्वाद चाखिसकेका छन् । किन भने यो परिकार विभिन्न होटल र नेपाली रेष्टुरेन्टका मेन्यूमा देख्न सकिन्छ । चुकाउनी भनेको अचार हो । यसमा जहाँतहीं पाउने आलु प्रयोग भएको हुन्छ । सजिलै र थोरै खर्चमा यो तयार हुन्छ ।
आवश्यक सामग्री
आलु – १ किलो
दही -१ लिटर
तोरीको दाना -१ सय ग्राम
लसुन पोटी – १ सय ग्राम
नुन – स्वाद अनुसार
बेसार – गाडा हुने गरी
टिमुर, मेथी, धनिया पत्ता स्वाद अनुसार
बनाउने तरिका
आलु उसिनेर बोक्रा निकाल्ने त्यसलाई सानो सानो टुक्रा बनाउने । तोरी र लसुन मसिनो गरी सिलौटामा पिस्ने । त्यसलाई दहीमा मिलाउने । आलुको टुक्रा पनि दहिमा मिसाउने । तोरीको तेल तताउने र मेथी, बेसार फुराउने त्यो तेलले दहिलाई झान्ने । त्यसपछि टिमुर र काटेको धनीयाँ मिसाईदिने । यो अचार स्वाद र स्वास्थ्यका लागि अति उत्तम छ ।
( घ)सिस्नुकरी;नेपाली ब्राण्डेड शब्जी
तराईमा नपाईएता पनि पहाड र भित्रि मधेर तिर सिस्नु जहाँ पनि पाईन्छ । जङ्गलतिर पाईने यो बनस्पती पौष्टीक आहारका रुपमा गरीबको झोपडीमा बढी मात्रामा पाक्ने गथ्र्यो । तर जमाना फेरीयो । सिस्नुले आज स्टार होटलमा मान्यता पायो । यो आज विदेशतिर निर्यात गरिने नेपाली खाद्यय बनस्पतिका रुपमा परिचित छ । सिस्नु टिप्न गाह्रो छ । औषधिका रुपमा पनि प्रयोग हुने सिस्नु पौष्टिक तत्वले भरिपूर्ण मानिन्छ । होटलतिर यसको मुल्य मासुभन्दा महंगो छ । तेल मसला राखेर, उसिनेर, सुप बनाएर, धुलो पाउडर बनाई छोप मात्र प्रयोग गरेर सिस्नुको उपयोग गर्ने गरिएको छ ।
=बनाउने विधि र आवश्यक सामग्रीहरु 
ताजा सिस्नु – आधा किलो
अदुवा – २५ ग्राम
लसुन – २५ ग्राम
प्याज – १०० ग्राम
तेल – ८० ग्राम
जिरा धुलो – एक चम्चा
नुन, खुर्सानी – स्वाद अनुसार
मकैको पिठो – १०० ग्राम
धनियाँ पत्ता – १५ ग्राम
टमाटर – १०० ग्राम
१. सबै भन्दा पहिला सिस्नुलाई राम्रोसँग केलाउने । चिम्टाको सहयोग लिने, किनभने सिस्नुले पोलछ पनि । एउटा बाटामा राखेर त्यसमाथि मकैको पिठो छर्ने । दुबै सिस्नुमा पिठो लाग्नुपर्छ । एकघण्टा त्यसै छोडीदीने । पिठोले साना साना किरा भए टासेर बाहिर ल्याउँछ । त्यसपछि सबै पिठो झार्ने । धेरै पानीमा सिस्नोलाई चिम्टाले च्यापेर चलाउँदै पखाल्ने र पानी तर्काउने ।
२. कराहीमा तेल तताएर प्याजलाई केही रातो हुने गरी भुट्ने । त्यसमा अदुवा, लसुन, जिरा धुलो, खुर्सानी धुलो, राखेर फेरी नडढ्ने गरी भुट्ने । त्यसमा टमाटर हालेर केही बेर पकाउने र लेदो बनाउने । यसरी पाकेको ग्रेभीमा पानी हालेर उमालेपछि त्यसैमा सिस्नु हालेर पकाउने । पानी केही सुकेर सिस्नुको ग्रेभी शब्जी तयार हुन्छ । नुन, धनियापत्ता स्वाद अनुसार राख्नु पर्छ । यो तरकारी भात, चिउरा, ढिडो, रोटी जे सँग पनि खान सकिन्छ ।
अर्को विधि
सिस्नुलाई पहिला उसिनेर झिक्नु पर्छ । त्यसपछि त्यो उसिनेको सिस्नुलाई पानि सहित फिर्के लगाएर ग्रेभी बनाउने । त्यसमा तोरीको तेल तताएर टिमुर मेथी, जिम्मु सुकेको खुर्सानी अदुवा लसुनको लेदो, टमाटर पकाएर त्यहि ग्रेभीमा सिस्नो मिसाएर पनि तयार गर्न सकिन्छ । यो अर्कै स्वादमा आउँछ ।
( ङ ) च्याउ अचार – नयाँपन पुरानो शैली
अचारको स्वाद भएन भने खाना खाएको मजा नै आउँदैन । भोजमा अचार पनि निकै चाहिनछ । आलुको अचार खाने नेपाली जिब्रोमा फरक स्वादमा अचार चखाउन पाए झन मजा ।  मधेश, पहाड सबैतिर पाइने डल्ले च्याउलाई पकाएर त खाना सबैले जानेको हुन्छ तर यसलाई चटपटा स्वादमा पनि खान सकिन्छ ।
च्याउ अचार बनाउन चाहिने सामग्री र बनाउने तरिका
१. एक किलो डल्ले च्याउ
२. अदुवा – २०० ग्राम
३. तील – २०० ग्राम
४. खुर्सानी – हरियो , २०० ग्राम
५. तोरी तेल – १०० ग्राम
६. कागतीको रस – स्वाद अनुसार
७. नुन, बेसार, धनियाँ पत्ता, टिमुर, मेथी हिंग र तोरी दान
* डल्ले च्याउलाई राम्रो सँग पानिमा धुने र दुइ सिट्टि लगाउने । बाफ उडेपछिमात्र कुकरको बिर्को खोलेर सेलाउन दिने ।
* सेलाएको च्याउलाई चप वोर्डमा चनाको दाना आकारमा टुक्रा बनाउने
*अदुवा खुर्किएर त्यस्तै सानो सानो टुक्रा बनाउने ।
*तील भुटेर धुलो बनाएर राख्ने ।
*. खुर्सानी बीचमा चिरेर टुक्रा बनाउने , लामो पारेर चिर्ने ।
*. तोरीको तेल तताएर एक चम्चा मेथी कालो बनाएर फुराउने, एक चम्चा तोरीको दाना पड्काएर आयो घटाउने । त्यसमा एक चम्चा बेसार र एक चिम्टी हिंग हाल्ने । अनि अदुवा फुराउने ।
*खुर्सानी फुराउने , छोपीदिने । खुर्सानीको खार सकिन्छ अनि मात्र ढक्कन निकालेर च्याउ हालेर सानो आगोमा २० मिनट पाक्न दिने । पाकेपछि सेलाउने ।
*नून हाल्ने र तीलको छोप पनि हालेर चलाउने । अनी कागतीको रस हाल्ने । ग्रेभी बनाउन उमालेर सेलाएको पानी थप्दै चलाउने । धनीयाँको पत्ता र टिमुर पनि हाल्ने अन्तिममा । यो च्याउ अचार भात, चिउरा, पुलाउ, रोटी, ढिडो जे साग खाएपनि हुन्छ ।
अर्को तरीका
टमाटर र अदुवा खुर्सानीको प्युरी माथि डल्ले च्याउलाई ठूला टुक्रा गरेर पाकेको प्युरीमा डुवाएर पनि अचार बनाउन सकिन्छ । यस्तोमा उसिनेको च्याउलाई मजाले भुट्नुपर्छ र तिलको छोप पनि राख्नुपर्छ ।
( च )हलुवा – मेवामिष्ठान नेपाली स्वादमा
बिदेशी लड्डु, मिठाई त किनेर ल्याउला तर हामी आफैँले पनि त केही पस्किन सकौँ । यस कारण हलुवा बनाउने कुरा नै बाडौँ । यो हलुवा हाम्रै खेतमा फलेको गहुँको पिठोबाट बनाउन सकिन्छ । गहुँको पिठो छैन भने मकै, चना र फापर पनि प्रयोग गर्न सकिन्छ ।
हलुवा बनाउने सामग्री
१. आधाकिलो गहुँको पिठो
२. सुद्ध घिउ-३०० ग्राम
३. चीनी – ३०० ग्राम
४. पानी – १ लीटर
५. किसमिस – १०० ग्राम
६. काजु – ५० ग्राम
७. कपुर – एक टुड्की
बनाउने तरिका
१. घिउ तताएर पीठोलाई सानो आगोमा रातो हुने गरी भुट्ने
२. अर्को चुलामा पानी र चीनी उमाल्ने
३. राम्ररी भुटीएको पिठोमा सुख्खा देखियो भने माथिबाट घिउ थपेर फेरी भुट्ने ।
४. उमालेको चिनि पानी बिस्तारै हाल्दै चलाउने
५. सबै मिलेर एक भएपछि माथिबाट काजु किसमिस र कपुरको धुलो हाल्ने । सबै तिर राम्ररी चलाउने । यो हलुवा पूजाको लागि प्रसादको रुपमा उपयोगमा ल्याइन्छ । तर हामीले खाना पछिको मिष्ठान्नका रुपमा खान सक्छौँ । यो सुजीको हलुवा जस्तो हुँदैन । यसलाई काँटा प्रयोग गरेर पनि खान सकिन्छ ।
( छ )आलुको अचार
सामग्री :
आलु १ केजी, प्याज ३ वटा, गोलभेंडा ठूलो ३ वटा, हरियो खुर्सानी ६–७ वटा, अदुवा सानो टुक्रा, नुन स्वादअनुसार, कागती १ वटा, जिराको धूलो १ चम्चा, हरियो धनिया“ ।
विधि :
आलु उसिनेर बोक्रा निकाली एउटै सेपमा काट्ने । काँचो प्याजलाई राउन्ड सेपमा अस्रो छटिने गरी काट्ने । गोलभेंडा त्यही सेपमा काट्ने । हरियो खुर्सानीलाई चिरा पारेर काट्ने । अदुवालाई मसिनो गरी काट्ने ।

त्यसमा नुन, कागती, जिराको धूलो एवं हरियो धनियाँ सबैलाई ठूलो बाटामा राखेर मिक्स गर्ने । भुटेको तोरीको तेल हालेर सबैतिर पस्ने गरी मोल्ने । खानुभन्दा आधा घन्टाअघि फ्रिजमा हाल्ने । यो अचार ढकनीसँग खाँदा निकै स्वादिष्ट हुन्छ ।
( ज )पानीपुरी
पानीपुरी भनेपछि थप ब्याख्या गरिरहनु नपर्ला । नेपाली सडकमा खुब बेचिने खाद्य पदार्थ हो – पानीपुरी । धेरैलाई स्वादीलो पनि लाग्छ । तर सडकमा बनेको पानीपुरी साह्रै फोहोर हुन्छ । बेच्नेहरूले हात समेत राम्ररी धोएका हुँदैनन् । धुलो धुवाँ खानेकुरामा परिरहेको हुन्छ ।
त्यसबाट बँच्नको लागि के गर्ने ? सजिलो उपाय त घरमै पानी पुरी बनाउने हो । विभिन्न सामग्रीहरू अध्ययन गरेर तयार पारिएको पानीपुरी बनाउने सजिलो तरिका यस्तो रहेको छ ।
पानी पुरी बनाउने तरिका
पानीपुरी बनाउको लागि सुरुमा त पानीपुरीको डल्ला बनाउनुप–यो । त्यसको लागि एकदमै सजिलो उपाय छ । दुइसय ग्राम मैदामा दुई सय ग्रामनै सुजि राख्नुहोस । त्यसमा हल्का नुन राख्नुहोस । नुनकै हाराहारीमा बेसन पाउडर राख्नुहोस । भाँडोमा तयार भएको मैदा, सुजि, बेसन पाउडर र नुनलाई राम्रोसँग घोल्नुहोस । अनि विस्तारै थोरै–थोरै गरेर पानी राख्दै मुछ्दै जानुहोस । दुइतीन मिनेट मुछेपछि त्यो तयार हुन्छ । पिठो सुख्खा रोटी बनाउने पिठो जत्तिकै साह्रो बनाउनुहोस ।
उक्त मुछिएको पीठोलाई आधा घण्टाको लागि भाँडोमा ढकनीले छोपेर राख्नुहोस । आधा घण्टा पछि एउटा भाँडोमा थोरै तेल तताउनुहोस । तेल तात्ने बेला सम्म पीठो बेल्न सुरु गर्नुहोस । भाँडोमा भएको पीठोलाई सके सम्म पातलो हुने गरि बेल्नुहोस । सजिलोको लागि दुई सय ग्राम मैदा र दुई सय ग्राम सुजिको पीठोलाई तीन भाग बनाएर बेल्दा सजिलो होला । बेल्दाखेरि बुक्का पीठो र तेल चाहिँ नहाल्नुहोला ।
बेलेर तयार पारिएको पीठोबाट सानो सानो गोलो रोटी काट्न सुरु गर्नुहोस । यसका लागि सबैभन्दा सजिलो गिलासको प्रयोग हुन सक्छ । गिलास चाहिँ एकदमै सानो प्रयोग गर्नुहोस है, नत्र पानी पुरीको पुरिया ठूलो बन्छ । गीलासमा काटेपछि छेउँको नचाहिने पीठोलाई निकाल्नुहोस ।
अब तपाइले पीठो बेलेकै ठाउँमा गोला–गोला साना रोटी तयार भए होलान । अब तीनहरूलाई तेलमा फुराउन सुरु गर्नुहोस । ती रोटीलाई ठकने रोटी जस्तै गरेर फुराउनुहोस । ती रोटी फुरेर सानो सानो गोलो आकारमा तयार हुने छन् । सबै पुरीलाई एकै पटक फुराउँदा हुन्छ । पुरी चाडो पाक्ने भएकोले समयमै फर्काएर हल्का रातो रातो भएपनि निकाल्नुपर्छ ।
अब बाँकी रह्यो पुरिको डल्लो भीत्र राख्ने फिलिङ र पानी कसरी बनाउने भन्ने तरिका । सुरुमा पुरियामा राख्ने पानी बनाउन सिकौं । त्यसका लागि सुरुमा पानी चाहिन्छ ।
पानी, पुदिना, धनिया, अमिलोको लागि इम्ली, भुटेर पिसेको जिरा, धनियाको गेडाको पाउडर, विरे नुनको धुलो, रातो खुर्सानीको धुलो, मरिचको धुलो, कागतीको रस र हरियो खुर्सानी पनि आफ्नो स्वाद अनुसार तयार पार्नुहोस । यो मध्ये कुनै चिज नभएपनि पानी पुरीको पानी चाहिँ बन्छ है । स्वाद केही फरक पर्ला ।
अब सुरुमा धनियाको पात, पुदिना र खुर्सानीलाई मिक्चरमा राख्नुहोस त्यसमा अलिकती पानी पनि राख्नुहोस । धनियार पुदिनाले पानीको स्वाद मिठो बनाउँछ । अब तयार भएको झोललाई बाटा माथी छान्ने राखेर छान्नुहोस । चम्चाको सहायताले त्यसलाई राम्री छान्नुहोस । पानी भाँडोमा जम्मा हुन्छ, छोक्रा चाहिँ नफाल्नुहोला है । पछि चाहिन्छ । उक्त पानीमा एक लिटर जति पानी मिसाउनुहोस । किनकी पानीपुरीको पानी त बाक्लो त हुँदैन नि है ।
उक्त पानीमा इम्लीको लेदो, भुटेर पिसेको जिरा, धनियाको गेडाको पाउडर, विरे नुनको धुलो, रातो खुर्सानीको धुलो, मरिचको धुलो, कागतीको रस सबै मिसाउनुहोस । अनि चम्चाले राम्रोसँग हल्लाउनुहोस । पानी पुरीको पानी चाहिँ यसरी तयार हुन्छ है ।
अब चाहिँ पुरिया भित्र राख्ने अचार चाहियो है । पुरियामा औंलाले सानो प्वाल पारेर अचार राख्न सकिने कुरा त तपाइलाई थाहै छ । तर त्यो भन्दा पहिला अचार बनाउन सिकौं ।
यसको लागि चारवटा उसिनेर खोल्साएको आलु, उमालेको चना, प्याज, नुन, खुर्सानीको धुलो, हरियो खुर्सानी, पिसेर राखेको जिराको धुलो र धनिया पाउडर । अब एउटा सानो भाँडोमा आलुलाई मिच्ने, त्यसमा प्याज, जिरेनुन, रातो खुर्सानी, हरियो खुर्सानी, धनिया पाउडर, अघि छानेर राखेको हरियो छोक्रा पनि त्यसैमा राखेर मज्जाले चलाउने ।
अब अचार पनि तयार भयो है । अब पुरियामा अचार राख्ने, अरु अमिलो पिरो केही थप्न मन लागेको भए त्यसमैमा थोरै थप्ने । दही खान मन लाग्छ भने दही पनि थप्ने । अनि त्यो पुरियामा दुई चम्चा पानी पुरीको पानी राख्ने र क्वाप्प खाने ।
कस्तो गज्जब है !  स्वादीष्ट पानी पुरि बनाएर खानुहोस । हामीले दिएको बिधी कस्तो लाग्यो  । यो बिधि साथीहरुसँग पनि बाड्नुहोस ।
( झ )टमाटरको अचार
१. पहिले टमाटरलाई मजाले धुनुहोस ।

२. टमाटरलाई सानो सानो टुक्रा पारेर काट्नु होस ।३. त्यसपछी स्वादअनुसार नुन, बेसार तथा मसला हाल्नुहोस ।

४. त्यसमा अलिकती खुर्सानीको धुलो मिसाउनुहोस, स्वादीलो हुन्छ ।
५. लसुन, अदुवा तथा हरियो खुर्सानी का स साना टुक्रहरु पारेर मिसाउनुहोस ।६. त्यसैमाथि मेथि, जीरा, रायो र धनिया भुटेर पिसेको धुलो हाल्नुहोस ।७. मजाले टमाटर मोलेर काँचो तोरीको तेल मिसाउनुहोस् ।
८. अब तपाईको अचार तयार भयो, फेरी राम्रो संग मोलेर एकैक्षण राख्नुहोस ।९. अब केही सिसाका बट्टारुमा अचार भरेर घाममा सुकाउनुहोस, लगभग १० देखि १५ दिनमा तपाइको अचार खानका लागि योग्य हुन्छ ।
( ञ ) पुदिनाको चिया
पुदिना त हामी सबैलाई नै थाहा छ । पुदिनाको अचार खानु स्वास्थ्यको लागि धेरै नै फाइदाजनक छ । पुदिनाले खाना पचाउन पनि मद्दत गर्छ ।  पुदिनाको अचार मात्र हैन त्यसको चिया पनि निकै फाइदा जनक हुन्छ ।

पुदिनाको चियाले शरीरलाई स्वस्थ्य बनाउनुको साथै तौल घटाउन पनि मद्दत गर्छ । यदि तपाई तौल घटाउन चहानुहुन्छ भने प्रयोग गर्नुहोस् पुदिनाको ।  
बनाउने तरिका
तातो पानीमा २ ठुलो चम्चा पुदीनाको पात हाल्नुहोस् । त्यसलाई १५ मिनेटसम्म उमाल्नुहोस् । उम्लिएपछि स्वाद अनुसार मह हाल्नुहोस् र पुदीनाको चियाको स्वाद लिनुहोस्
१) पुदीनाको चियाले पेट सफा गर्दछ । यसरी शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले तौल कम गर्ने मद्दत मिल्छ ।।
२) कसैलाई पुदीनाको तेज बास्नाले भोकको नियन्त्रण गर्दछ । कसैलाई राती खान खाइसकेपछि पुदिनाको चिया खाएपछि मिठाई खान मन लाग्दैन ।
३) पुदिनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई सन्तुलित राख्दछ । गुलियो खाने इच्छा कम गर्दछ ।
स्वस्थ बन्न खाने तरिका जानी  राख्नुस ।
अन्तमा;
स्वस्थ रहन मानिस जति इच्छुक हुन्छन, सजिलै सबै जना त्यति सफल हुँदैनन् । रोग लागेपछि स्वस्थ बन्न ठूलो आर्थिक र मानसिक क्षतीपछि मात्रै संभव छ । तर, हामीले दैनिक जीवनमा ध्यान पु¥याउन नसकेका स–साना कुराले स्वस्थ जीवन जिउन धेरै मद्दत मिल्छ ।
घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल सबैभन्दा उत्तम हुन्छ । नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ । बिहान–बेलुकीको खानामा हरियो सागले फाइदा गर्छ ।
दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ । बेलुकीको खानामा २–३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ ।
नून थपेर खाने बानी छोड्नुपर्छ । बिहान–बेलुकीको खानामा हरियो सागले फाइदा गर्छ । दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ ।
बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैका लागि एकैनास हुँदैन । शारीरिक श्रम बढी गर्नेले धेरै र कम गर्नेले थोरै खानुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन । बेलुकीको खाना खाएपछि कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा मासु खाएमा हानि हुँदैन । खसी, राँगो, बंगुरको मासुले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराको मासुले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुराको मासु पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानि गर्दैन ।
माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।
हाम्रो गाँउघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आँटो, फापर र कोदोको रोटी, कूरिलोको सूप, कोइरालो, तीते करेला र केराको बुङ्गाको अचार, निउँरोको र लौकाको तरकारी, भुटेको मकै, भट्मास, चना, केराउ, दाँते ओखर आदिले मुटुलाई फाइदा पु¥याउँछ ।
उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन् । गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकैले पनि मुटुलाई फाइदा गर्छ । हाम्रो गाँउघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आँटो, फापर र कोदोको रोटी, कूरिलोको सूप, कोइरालो, तीते करेला र केराको बुङ्गाको अचार, निउँरोको र लौकाको तरकारी, भुटेको मकै, भट्मास, चना, केराउ, दाँते ओखर आदिले मुटुलाई फाइदा पु¥याउँछ । बेलुकीको खानामा दैनिक एक पोटी काँचो लसुन खाँदा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाइ एस्पिरिनले जस्तै रगतलाई पातलो बनाउँदछ ।

खाना थोरै–थोरै गरेर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक मात्रै पेट कसिने गरी खाने र लगत्तै सुत्ने बानी मुटुका लागि खतरनाक हुन् । जिब्रोले मीठो मानेको भरमा " खयान " सप्रेको मानेर टन्न खानु शरिरलाइ हानीकारक मानिन्छ । त्यसैले थोरै तर धेरैपल्ट उचित खाना खाएर आहार व्यवस्थापन गर्नुपर्छ । खानामा कोलेस्ट्रोलको मात्रा जति कम भयो मुटुलाई हानी त्यति कम हुन्छ । यूरिक एसिड बढेकाले खानामा प्रोटिनको मात्रा र यूरिक एसिड बढाउने पदार्थ घटाउनु पर्छ । बेलुकीको खानामा दैनिक एक पोटी काँचो लसुन खाँदा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाइ एस्पिरिनले जस्तै रगतलाई पातलो बनाउँदछ । मधुमेह (चिनी रोग) भएकाहरूले गुलियो खानु हुँदैन । डाइबेटीक डाइट चार्ट अनुसार क्यालोरी हिसाब गरेर खानु पर्छ ।
ल, परम्परागत खानपिनमा सुधारल्याई सफा र शुद्ध खाना खाऔं । सदैब स्वस्थ रहौ ।
यो पङ्तिकारको सबैलाइ हार्दिक शुभकामना ।

No comments:

Post a Comment