Thursday, August 17, 2017

भूू- स्वर्ग हो बैतडी

■भूस्वर्ग हो बैतडी■
( बासुदेब पाण्डेयको फेेसबुक टाइमलाइनबाट साभार । )( फोटो - ब्लगर स्वयम् । )

अग्लो पावन धाम, देव रहने  हो तीर्थ  रौलेश्वर
आस्थाको प्रतिमूर्ति सुन्दर गुफा पातालभूमेश्वर ।
साह्रै सुन्दर ठाउँ पाटन यता अग्लो उताको गडी
हो भन्छन् अपभ्रंश'वायुतड'को विद्वान् हरू बैतडी ।।

गर्छन् देख र भाल नित्य जसको बाबा जगन्नाथले
देवीस्थान समान सुन्दर धरा टेकूँ त्यहाँ माथले ।
गौरा मौलिक चाड भिन्न रसको गाइन्छ ड्यौडा बढी
मेलौली,सतबाँझ ,च्वाँगढ हुने भूस्वर्ग हो बैतडी ।।

सुर्नाया र चमेलिया अलि ठुला,खोला बनी चञ्चल
जान्छन् लाग्छ समुद्र भेट्न जलको भण्डार बोकी तल।
राखूँ लाग्छ अपूर्व दृश्य तिनको कोरेर आँखाभरि
के साँच्चै वरदान नै प्रकृतिको हो साङ्ग्रिला बैतडी ?

अग्ला शैल सुरम्य फाँट झरना भण्डार साहित्यको
भाषा संस्कृति भिन्न मौलिकपना खानी पुरातत्त्वको ।
श्रद्धा गर्छु म तीर्थतुल्य जसको माया मभन्दा बढी
आमातुल्य छ पूजनीय अति नै प्यारो धरा बैतडी ।।

आएको म छु बाध्यतावश उता छाडेर बालापन
मेरो देह यहाँ रहे पनि उतै अल्झिन्छ मेरो मन ।
जाऊँ भन्छ शरीर,थुन्छु मनको लाई सधैॅ हत्कडी
सुत्दा यो मन पुग्छ गाउँघरमै के भुल्दथेॅ बैतडी ।।

खोड्पे,शैल सिगास धाम जगका केदार नागार्जुन
देमाडौॅस्थित बस्दछिन् भगवती रक्षार्थ सारा जन ।
हाँसेझैॅ अपि नित्य बस्दछ जहाँ माणिक्य सारा जडी
साँच्चै सुन्दर सौम्य शैलतनया जन्मस्थली बैतडी ।।

No comments:

Post a Comment