Sunday, August 27, 2017

नेपाली समाजको बर्ग चरित्र

  ==विश्वभक्त दुलाल आहुति (माओवादी केन्द्रका नेता)को रातोपाटिमा प्रकाशित अन्तर्बार्ताबाट साभार ==
यो विषयमा म तीनवटा उपशीर्षकमा छलफल चलाउन चाहन्छु । नेपाली समाजमा वर्गहरूको निर्माण प्रक्रिया कसरी भयो ?, ती वर्गहरूमा वरिवर्तन कसरी आयो ? र अहिले नेपाली समाजको मूल चरित्र कस्तो छ ?
१. नेपाली समाजमा वर्गहरूको निर्माण प्रक्रिया कसरी भयो ?
अर्थराजनीतिक भन्दा पनि ऐतिहासिक भौतिकवादी कोणबाट हेर्दा दुई सय वर्षअगाडि कोसी नदीदेखि पश्चिम र बागमतीदेखि पूर्व पनि भन्न सकिन्छ या चुरेसम्मको समाज परम्परागत भारतीय समाजको सामन्तवादी चरित्रजस्तो देखिन्छ । त्योभन्दा पारि अर्थात् कोसीपारिको कोचहरूको समाज कविलाइ समाजजस्तो देखिन्छ । पश्चिमको भित्री मधेस दाङलगायतका क्षेत्रमा राजतन्त्रस्तरमा विकास त भएको छ तर समाज कविलाइखालको थारूहरूको बस्ती भएको पाइन्छ । पहाडी क्षेत्रमा त्यतिबेला सानो÷सानोखालको सामन्तवाद देखिन्छ । हिमाली क्षेत्रमा त्यो झनै खुम्चिएको पाइन्छ ।
 समाजमा जब पृथ्वीनारायण शाहको राज्य विस्तार र तामाङ किपट, किरातहरूको किपट र त्यसपछि विशेषगरी लिम्बूहरूको किपट इत्यादिको अन्त्य गर्ने पक्रियासँगसँगै कविलाइ समाजको अवशेषका रूपमा रहेका उत्पादन सम्बन्धहरू भत्किएका छन् ।
त्यसपछि आउँछ जंगबहादुरको मुलुकी ऐन । नेपाली समाजमा विशेषगरी पश्चिमबाट भेरी नदीसम्म र पछि विस्तार हुँदै गोरखा र बेलकोटसम्म फैलिएको खस आर्यहरूको सभ्यता र संस्कृतिमा आधारित सोच्ने परम्परा पृथ्वीनारायणको राज्य विस्तार र जंगबहादुरको मुलुकी ऐनसम्म आइपुग्दा व्यवस्थित गरिसकिएको हुन्छ । जंगबहादुरको मुलुकी ऐन आइसकेपछि कोही पनि त्यसबाट दायाँबायाँ हुन नपाउनेगरी आयो । त्यहाँ किटान गरियो कि, सहरभित्र घाम अस्ताएपछि बस्न नपाउने को÷को, घाम उदाएपछि आउन पाउनेहरू को÷को ? बिर्ता राख्न पाउनेहरू कुन÷कुन, राख्न नपाउने कुन-कुन ?
मुसलमानलाई समेत ‘हाम्रा मुसलमान’ र ‘मुसलमान’ भन्ने शब्द प्रयोग गरियो । ‘हाम्रा मुसलमान’ भनेको मल्लकालमा काठमाडौं भित्र्याइएका मुसलमान र ‘मुसलमान’ मात्रै भनेको तराईका मुसलमान । मुसलमानलाई लिखित रूपमा अछुत घोषित गरियो । मुसलमानलाई पनि दुई भागमा विभाजन गरियो । जनजातिहरूलाई पनि दुई खेमामा विभाजन गरियो । एउटा मासिन्याह मतवाली, जसलाई कमारो बनाउन मिल्ने चेपाङ, तामाङ, थारू आदि ।
अर्को नमासिन्याह मतवाली, जसलाई कमारो बनाउन नमिल्ने सुनुवार, लिम्बू, राई, मगर र गुरुङ । जसले जागिर गर्न पाउने, सेनामा पनि जागिर गर्न पाउने । नेवारभित्र पनि दुई तह राखियो, एउटा तागाधारीहरू श्रेष्ठभन्दा माथिका पाँच खलकहरू । त्यहाँभन्दा तलका ज्यापूहरू, जसलाई तागाधारी बनाइएन । जनै लगाउने अधिकार दिइएन, व्यापार गर्ने अधिकार दिइएन । दलितहरू जसलाई त्यसबेलाको ऐनमा ‘पानी नचल्ने जात’ भनेर उल्लेख गरिएको छ । उनीहरूभित्र पनि दुईवटा खेमा बनाइयो । एउटा पानी नचल्ने छोइछिटो हाल्नुपर्ने, छोयो भने आगो या सुनले चोख्याउनुपर्ने । अर्को पानी नचल्ने तर पनि छोइछिटो हाल्नु नपर्ने ।
संवत् १९१० को मुलुकी ऐन अहिले सबैभन्दा बढी लुकाइएको किताब हो । विश्वविद्यालयहरूमा पनि कतै पढाइ हुँदैन त्यसबारेमा । किनकि त्यो मुलुकी ऐनमा अहिले प्रधानन्यायाधीश को बन्ने भनेर त्यतिबेलै लेखिसकेको छ । प्रधानसेनापति को बन्ने भनेर त्यही मुलुकी ऐनले भनेको छ । न्यायाधीशहरू सबैभन्दा बढी को बन्ने, कुन समदुायबाट बन्ने भनेर त्यहाँ लेखिएको छ । तामाङहरूले कति दुःख पाउने भनेर पनि त्यहीँ लेखेको छ ।
तामाङभन्दा जीवनस्तरमा लिम्बू किन माथि छ ? किनकि लिम्बू मासिन्याहभित्र राखिएन, तामाङ राखियो । मासिन्याहभित्र राख्नेबित्तिकै ऊ स्वतः सरकारी जागिरमा आउन पाएन । पछि असाध्यै भरियाहरूको खाँचो भएको हुनाले पिपामा अवसर दिएको हो । मल्लकालमा जो तागाधारी नेवार थिए, उनीहरूको बिर्ता खोसिएन । पृथ्वीनारायण र जंगबहादुरले खोसेनन् । किनकि काठमाडौंमा नेवारसँग सम्झौता गर्नु थियो । ती तागाधारीहरूसँग खोसेनन् र ज्यापूहरू सबै मोही बन्न पुगे । त्यसपछि अरू बिर्ता पृथ्वीनारायण शाह, जंगबहादुर राणा र उनीहरूका पुरेत, सेनापति, त्यसको लेखपढ हेर्नेहरूले पाए । त्यसकारण नेपाली समाजको वर्गनिर्माणको प्रक्रिया जात र जातिका आधारमा रहेर बनाउन सुरु गरियो । जात पनि वर्ग होइन, जाति पनि वर्ग होइन । तर, नेपालमा जंगबहादुरको मुलुकी ऐनबाट जात र जातिमा आधारित वर्ग बनाइयो ।
संसारको कुनै पनि सामन्तवादी समाजमा जोसँग बढी जमिन हुन्छ, त्यो सजिलै राज्यसत्तामा पुग्छ । ऊ राज्य सत्तासँग सबैभन्दा नजिक हुन्छ । सामन्तवादको नियम नै त्यही हो । तर, नेपालमा एउटा विशिष्टखालको यस्तो घटना घट्यो कि जसले क्षेत्रीय उत्पीडनलाई प्रतिविम्बित गर्छ । चार सय रोपनीको बिर्ता पाएको सूर्यबहादुरको खलक पहाडको भएकै कारण प्रधानमन्त्री भयो । तर, मधेसमा दुई सय बिघा जग्गा भएको एउटा मधेसी सामन्त छ भने ऊ सत्तामा पनि आउन पाएन । मन्त्री या प्रधानमन्त्री त परकै कुरा भयो । एमए पढेको मानिसले जागिर नपाएजस्तो । नेपालमा क्षेत्रीय उत्पीडनको प्रभाव पनि निकै गहिरोगरी परेको छ । अहिले पनि जंगबहादुरले बनाइदिएको त्यही आधारभूत ढुंग्रोमै अल्झिरहेको छ, मुक्त हुन सकेको छैन ।
अहिले न्यायाधीशमध्ये ९० प्रतिशत त्यतिबेला जातजातिका आधारमा जसलाई बनाउने बनेर बाटो बनाएको थियो, त्यही छ । ठूला प्रशासकहरूमध्ये ८० प्रतिशतभन्दा बढी कि त तागाधारी नेवार छ, कि त क्षेत्री र ब्राह्मण छ । नेपाली वर्ग भनेको आर्थिक परिघटनामात्रै होइन, त्यसले संस्कृति पनि निर्माण गर्छ । नेपाली संस्कृति पनि त्यसैमा आधारित रहेर बनेको छ ।
२. ती वर्गहरूमा परिवर्तन कसरी आयो ?
कसरी नयाँ÷नयाँ वर्गहरू जन्मिए ? त्यसका थुप्रै घटनाहरू छन् । पहिलो, जंगबहादुरको सुरुङ भत्काउने एउटा काम गोर्खा भर्तीले गर्यो । गोर्खा भर्ती बिल्कुल नकारात्मक कुरा हो । तर, गोर्खा भर्ती हुँदैनथ्यो भने, पोखरा सहर हुँदैनथ्यो । धरान, भैरहवा र बुटवलमा सहर बस्ने सम्भावना धेरै कम हुन्थ्यो । चारवटा जाति लिम्बू, गुरुङ, मगर र राईलाई जंगबहादुरले धनी हुने अधिकार त दिएको थिएन तर गोर्खा भर्तीले त्यो सम्भव तुल्याइदियो । गोर्खा भर्ती नकारात्मक घटना थियो तर त्यसको परिणाम यस्तो आयो ।
दोस्रो, गोर्खा भर्तीले दलितभित्र एउटा मध्यम वर्ग सुनार जाति पनि जन्माइदियो । ती गोर्खा भर्तीमा गएका लाहुरेहरूले कमाएर ल्याएको पैसाले हिन्दुस्तानमा देखेको गहनाको परिपाटीलाई सिको गर्न खोजे । त्यसका लागि उनीहरूले तिनै पुराना परम्परागत सुनारहरूसँग गएर सुन बनाउन थाले । जसका कारण सुनारहरूले नगद पाउन थाले । आर्य खसहरूको बाली लगाएर धानिएको सुनारहरूको व्यवसायले लाहुरेको नगद पाइसकेपछि भने बुटवलमा पाँच तलाको घर निर्माण हुन सुरु भयो । वर्ग परिवर्तन भयो ।
तेस्रो, ०१८ मा जब महेन्द्र सिंगापुर गए, त्यतिबेला मनाङका मान्छेहरू त्यहाँ जडीबुटी र ढुंगा बेचिरहेको देखे । त्यो बेलासम्म मनाङ जिल्ला नेपालभित्र थिएन । मनाङीहरूसँग महेन्द्रले त्यहीँ कुरा गरे । मस्र्याङ्दीको किनारैकिनार माथि आएपछि हाम्रो पाँच गाउँ आउँछ भनेपछि महेन्द्र नेपाल फर्केपछि त्यहाँ भेट्न गए । त्यहाँ उनले नेपाल सरकारलाई मान भनेर आग्रह गरे । उनीहरूले ‘हामी लुकीलुकी कलकत्ताबाट जडीबुटी बेच्नुपर्छ, हामीलाई कसैले टेर्दैन हामीले किन टेर्ने’ भनेपछि, अब ‘तिमीहरूलाई विदेशमा व्यापार गर्नका लागि विशेष सुरक्षा दिन्छु, नेपाल सरकारलाई मान’ महेन्द्रले भने । त्यसरी विदेशमा व्यापार गर्न पाएपछि मनाङमाथिका पाँच गाउँका मानिस सबैको काठमाडौँमा एक÷एक घर बने । मनाङ जिल्लालाई नेपालमातहत ल्याउनका लागि महेन्द्रले गरेको यस सम्झौताले उनीहरू कम्तीमा मध्यमवर्ग र कोही दलाल पुँजीपति वर्गसम्म पुगे ।
अर्को जंगबहादुरको संरचना थकालीहरूले भत्काइदिए । त्यतिबेला मुस्ताङ नेपालमा सबैभन्दा बढी राजस्व भित्र्याउने नाकामध्ये पथ्र्यो । सिंहदरबारले पत्तै पाएन, मुस्ताङी थकालीहरूको एउटा खलकले म्याग्दीमा फलेको राम्रो चामल तिब्बत लैजाने र त्यहाँबाट आएको सुन बाग्लुङ र म्याग्देलीहरूलाई दिने । नुनसँग चामल साट्दै ल्हासाको सुन व्यापारीहरूसँग संगत गर्दै धानै नरोप्ने जाति अहिले नेपालको सबैभन्दा मीठो भात बनाउने जाति बन्यो । र थकालीहरूको एउटा खलक यसरीकन जंगबहादुरको मुलुकी ऐनले चालै नपाउनेगरी मध्यमवर्गमा आयो ।
राजा महेन्द्रले पञ्चायतकाल आइसकेपछि राजपरिवारको नियन्त्रणमा रहनेगरी भारतबाट छानीछानी पुँजीपति घरानियाहरू बोलाएर ल्याए । भारतबाट यसकारण कि मधेसका नेपाली घरानियाहरूलाई उनले मन पराउँथेनन् । माइतीघर फिल्म बनाउनलाई पट्नाको झा परिवारलाई ल्याए । टन्डन परिवारलाई ल्याएर नेपालगन्जमा दुई सय बिघा जग्गा दिएर उद्योग गर्न दिए । पट्नाका रइस मुस्लिमलाई ल्याएर एभरेस्ट होटल बनाउन लगाए । तर, त्यहीँ तराईको, त्यस्तै भाषा बोल्ने, त्यस्तै संस्कृति भएको नेपाली मधेसी सामन्तलाई ल्याएनन् । अम्बर गुरुङ र गोपाल योञ्जनलाई पनि उनले पहाडिया राष्ट्रवाद देखाउन धेरै खर्च गरी ल्याएका थिए । यहाँबाट विदेशी पुँजीको निकै ठूलो चलखेल भयो र मारवाडीहरूको हालिमुहाली चल्न थाल्यो । यसरी जंगबहादुरले बनाएको बाटोलाई भत्काउन सुरु भयो ।
३. र, अहिले नेपाली समाजको मूल चरित्र कस्तो छ ?
नेपालको सामन्तावाद भनेको टुक्रे सामन्तवाद हो । नेपालमा चीन या रुसको जस्तो सामन्तवाद छैन, हामीले त्यसरी विश्लेषण गर्नु उपयुक्त हुँदैन । जमिनको सामन्ती सम्बन्धमा सबैभन्दा ठूलो प्रहार ०१६ को बिर्ता उन्मूलनबाट बीपी कोइरालाले गरे । ‘क’ वर्गको बिर्ता उन्मूलन गरे । त्यसपछि नेपालको कम्युनिस्ट आन्दोलनले किसानलाई जमिन त कहिले पनि बाँड्न सकेन । कतैकतै लगेर सुकुम्बासी राख्नेबाहेक तर सामन्तीहरूलाई निरन्तर आतंकित भने बनाइरह्यो । एकातिर कम्युनिस्ट कहिले जुगेडी, कहिले चिसापानी त कहिले भीमदत्तजस्ता आन्दोलनले त्राहिमाम बनाउने अर्कोतिर राजा महेन्द्रले पनि ं०२१ मा भूमिसुधार भन्ने नौटंकी ल्याएर तर्साउने । यस्तो अवस्थामा नेपालका सामन्तहरू कहिले पनि शान्तले बस्न पाएनन् । त्यस्तो अवस्थामा राजाले पहाडीलाई मधेसमा लगेर राखेका पहाडियाहरू हाबी भए । अहिले पनि तिनीहरू नै मधेसका अहिले ठूला सामन्त भएका छन् । उनीहरू नै सत्तामा पुगेका छन् । उनीहरूसँग अहिले १० बिघाजति जग्गा छैन ।
नेपालमा अहिले १० बिघा जग्गा हुने मानिसले खेतिपातीबाट वर्षमा पाँच लाख रुपैयाँ जम्मा पार्न सक्छन् । माविको एउटा टिचरले ट्युसन पढाउने हो यताउपति गर्ने हो भने उसले पनि पाँच लाख जम्मा गर्छ । त्यो १० बिघा जग्गा हुनेविरुद्ध लड्नु भनेको माविको एउटा टिचरसँग लड्नुजस्तै हो । त्यसैले नेपालमा अब सामन्तवाद बाँकी छैन सामन्तवादका अवशेषहरू मात्रै बाँकी छन् ।
उत्पादन सम्बन्धका आधारमा हेर्दा जमिनमा अहिले सामन्तवादी सम्बन्ध निर्णायक छैन । हलियाप्रथा पनि मुस्किलले पाँच लाखभन्दा धेरैको संख्या अहिले नेपालमा छैन । त्यस्तै उद्योगधन्दाको कुरा गर्दा स्वाभाविक रूपमा राष्ट्रिय पुँजी दमनमा छ । दलाल पुँजी हाबी भएको छ । यो सत्य कुरा हो । राष्ट्रिय पुँजी पनि पुँजीवाद नै हो, दलाल पुँजी पनि पुँजीवाद नै हो । नेपालको अहिलेको निर्णायक पुँजी भनेको दलाल पुँजीवाद नै हो । दलाल पुँजीवाद भन्नेबित्तिकै साम्राज्यवाद भन्ने नै बुझ्नुपर्छ ।
राजनीतिमा सामन्तवाद भनेको वंश, कुल, लिंग या जन्मका आधारमा कसैले सरकारी पोस्ट पाउँछ भने त्यो राजनीतिक सामन्तवाद हो ।
राजनीतिक पुँजीवाद भनेको खराब होस् या असल होस् चुनेर भोट दिएरमात्रै पोस्ट प्राप्त हुने व्यवस्था हो । तर, त्यो कानुनअनुसार नै भएको हुनुपर्छ ।
संस्कृतिको क्षेत्रमा अलि बढी नै सामन्तवादको पकड बाँकी छ । त्यो साँचो हो तर हाम्रो जीवनको आधारभूत शैली नै सामन्तवादी भन्ने कुरो सत्य होइन । अर्धसामन्ती भनेर पनि माओले बीचमा त्यत्तिकै घुसाएकामात्रै हुन् । त्यो पनि खास होइन । नेपालमा बाली, निगाहामा अहिले कुनै चीज प्राप्त हुँदैन ।
यदि कतै हुन्छ भने त्या अपवाद हो । सामन्तवादमा व्यक्तिको सांस्कृतिक जीवन छनोटको स्वतन्त्रता हुँदैन, पुँजीवादमा हुन्छ । क्रान्तिकारी भूमिसुधार भएन भने पुँजीवाद आउँदैन भन्ने कुरा गलत छ । कृषि क्रान्तिले मात्रै पुँंजीवादमा पुगिन्छ भन्ने कुरा गलत छ । त्यसैले फेरि नयाँ जनवादी क्रान्ति गर्ने भन्ने कुरा सम्भव छैन । किनभने जनवाद भनेकै पुँजीवाद हो । पुँजीवादी समाजमा क्रान्ति गरेर अर्को पुँजीवाद ल्याउने भन्ने हुँदैन । अब जाने भनेको समाजवादतिर हो ।

No comments:

Post a Comment