Thursday, August 17, 2017

संझनाको बैतडी

*संझनाको बैतडी*
( हर भट्टराईको फेेसबुक टाइमलाइनबाट साभार  । )

काली पश्चिम बग्छ  कल्कल गरी सीमा सुरक्षागरी
भेट्छौं काफल कागती कटुसका वुटाहरू लद्बदी
माताश्री त्रिपुरा सबै तिर यहाँ डाँडा बसी हेर्दछिन्
सारा बैतडीवासीमा खुशी भई माया सधैं छर्दछिन्
                            //१//
सेती बग्दछ पूर्वमा बल गरी देखाई नौलो छटा
यात्रा मात्र अनन्त हो अरू सबै हो अन्त पो भन्छ त
सिञ्ची हिड्दछ खेत बारी सवको भ्याइ नभ्याइ सधैं
रोपे बीज न बन्छ देश भरिलो बुझ्ने यहाँ छैन क्वै
                            //२//
कस्को दैनिकी चल्दथ्यो र नपुगी पैले झुलाघाटमा
पूरै पश्चिमभेगका जनहरू हिड्थे यही मार्गमा
खाने तेल र नून मात्र नभई किन्थे सबै सामल
रोकिन्थे , जब बैंशले नदीहरू उर्लेर हिड्थे तल
                             //३//
रोपी बोट अफिमका घर निरै गर्ने कुनै सेवन
देख्दा छाउ प्रथा र देउकी प्रथा बन्ने अमिलो मन
टाढा गाउँ पुगे अझै पनि यहाँ चर्को छ छुवा -छुत
लागे रोग नमानी क्यै असजिलो गर्छन् निकै फाक्-फुक
                              //४//
द्यौडा लाग्छ त्यसै पनि अति मिठो झन् यो मिठो फागुमा
छोडी हिड्छ मुमा बुबा अब  युवा भो शून्यता गाउँमा
सोध्छन् वृक्ष जुनारका हिउँदमा टाढा भए ख्वै किन
यस्तो उर्वर भूमीका युवक नि जाने विदेशै किन
                              //५//
आए बन्दछ भक्तिले रसमयी वैशाखको पूर्णिमा
गर्छन् पूजन देवीको गर पूरा भन्दै मनोकामना
मेला लाग्दछ देवी थान सवमा चढ्छन् निकै भाकल
भन्छन् कत्ति नराख भार मनमा आफ्ना प्रतिज्ञा सक
                              //६//
हेर्ने गर्छ अपि उँचो शीर गरी ओडेर बर्को  सफा
यौटै मात्र छ साक्षी बुझ्छ जसले सारा यहाँका कथा
भन्ने गर्दछ पारीको झिलिमिली हेरी पिथौरागढ
खोज्छौ उन्नति देशको यदि भने आफै अगाडि बढ
                             //७//

No comments:

Post a Comment