Saturday, August 11, 2018

मंगला राउतको भारत र मिथकीय आद्यप्रारुप


मंगला राउतको भारत र मिथकीय आद्यप्रारुप
(सुदुर लोकसाहित्यसंग सम्बन्धित यो सामग्री np.psjtv.com/2017/1/26091 बाट साभार उद्धृत गरिएकोछ ।)

भारत’ सुदूर पश्चिम क्षेत्रको विशिष्ट लोकसंस्कृतिको एक अभिन्न अङ्ग हो । यस भारत परम्परामा ‘मङ्गला राउतको भारत’ को वैशिष्ट्य अझ विशेष छ, कारण यो गहिरो सामाजिक र व्यक्तिगत मनोविज्ञानको आदिम उदाहरण हो ।भारतको मूल अर्थ हो ‘कथा’ । विशाल कथानक भएको गाथालाई ‘महाभारत’ भनिएको हुँदा ससाना कथानक भएका लोकगाथालाई ‘भारत’ भनिएको हो । मोहनराज शर्मा र खगेन्द्र लुइँटेलका अनुसार “लोककथामा युद्ध, लडाइँ, वीर, वीरता आदिको वर्णन भएको काव्यलाई भारत भनिएको देखिन्छ” (१८३) । उत्तर भारतीय र पश्चिमेली नेपाली पहाडी परम्परामा भारतले वीरता र युद्धलाई प्रमुखतः आत्मसात् गरेको देखिन्छ । शर्मा र लुइँटेलका अनुसार भारतलाई ‘भडाग’ या ‘भणाग’ भनेको पनि पाइन्छ, जसको अर्थ हो, ‘भनाइ’ (१८३) । सुदूर पश्चिम या मध्यपश्चिमका केही ठाउँमा हुड्को नाउँ गरेका बाजा बजाएर पनि प्रस्तुत गरिने हुँदा यसलाई हुड्केली पनि भनिने गरेको जयराज पन्त बताउँछन् । उनी यस परम्पराको नामकरणको सन्दर्भमा यस्तो व्याख्या गर्छन् ः हुड्केलीका साथै भडौ वा भणाग, हुड्के बोल वा हुडेके गीत, पैकेलो वा पैकलो, बफौल, कट्कू, रमौल र भारतजस्ता विभिन्न नाम यसका प्रचलित छन् । भडौ वा गणागको प्रयोग भारतकै कथ्यरुपमा भएको बुझिन्छ । भारत–भाडत÷भाणत–भाडव÷भाणव–भाडौ÷भाणौ जस्ता रुपपरिवर्तिनका सम्भावनाका क्रममा भारतको भडौ÷भणौ अथवा भडाग÷भणाग भएको अनुमान गर्न सकिन्छ । चटक–चडअ–चडा–चरा उदाहरणबाट पनी भडौ वा भणौलाई भारतको अपभ्रंश मान्न सकिन्छ । (२) भारत लोकगाथाकै एक विशष्ट प्रकार हो, जसलाई मौखिक परम्परामै गायनमार्फत जीवन्त राखिएको हो । उत्तरी भारत र सुदूर पश्चिम नेपालको पहाडी भूगोलका अधिकांश भारतहरू कथ्यपरम्परामै एउटा पिँढीबाट अर्को पिँढीमा सर्दै आएका छन् । अतः यिनीहरूको कुनै आधिकारिक लिखित अभिलेख पाइँदैन र पाइए पनि एक सङ्कलक र अर्को सङ्कलको अभिलेखमा सामान्य भिन्नताहरू स्वभाविक पनि हुन् ।
भारत, चैत, फाग, माङ्गल वा हुड्केली जे भए पनि यी सबै समाजकै उपज हुन् र यिनीहरू प्रायः घटनाप्रधान गाथा हुन्, तर यिनीहरू समाजको गहिरो मनोविज्ञानका संवाहक पनि हुन् । यस्ता लोकगाथाहरूले प्रतिनिधित्व गरेको सामाजिक अवचेतनको सूक्ष्मतम यथार्थ कहिलेकाहीँ कर्मकाण्डीय मनोविश्लेषणको द्रष्टव्यभन्दा गहन र यथार्थपरक हुन्छ । यसले समाजको अवचेतनको विहंगम दृश्यचित्र पनि प्रस्तुत गर्न सक्छ र सम्पूर्ण सामाजिक चिन्तनको दिशामा प्रकाश पार्न सक्छ । कार्ल गुस्ताभ युङ र नोथ्रोप फ्राइजस्ता पश्चििमेली विद्वान्ले मिथक र लोकसाहित्यको मनोवैज्ञानिक अध्ययनको अध्ययन पद्धति तयार गरेका छन् र यिनै दुई विद्वान्ले तयार पारेको सैद्धान्तिक अध्ययनको भूमिमा टेकेर यो लेख तयार पारिएको छ, जसमा मङ्गला राउतको भारतको आद्यप्रारुप कुन–कुन मिथकीय या शास्त्रीय सन्दर्भमा पाइन्छ र यसले कसरी सामाजिक अवचेतालाई उद्घाटित गर्छ भन्ने कुरा देखाउनु यस लेखको मूल अभिप्राय हो ।
सबैभन्दा अगाडि मङ्गला राउतको भारतको कथावस्तु प्रस्तुत गर्नु नै तर्कसम्मत होला यहाँनिर । यमलाल घिमेरे (२०६७) ले सङ्कल गरी मूल पाठका रुपमा प्रकाशनमा ल्याएको कथालाई यस लेखको आधार मानिएको छ । घिमिरेको सङ्कलनमा प्राप्त उक्त भारतको सार–सक्षेप यस्तो छ ः मङ्गा र जन्जला राउत सौतेला दाजुभाइ हुन् । मङ्गला आफ्नी आमाका एक मात्र छोरा हुन् भने जन्जला सात भाइमध्येका जेठा । बुवाको देहान्त हुने बेला अंशबन्ड हुने भयो । मङ्गला राउतले पूरा सम्पत्तिको आधाको हकदार आफू भएको तर्क राखे भने जन्जला सम्पत्ति आठ भाग लगाएर दामासाहीले बाँड्ने तर्कमा अडिए । फलतः युद्ध भयो, जसमा मङ्गला राउतको जित भयो । तर जन्जला दाजुभाइले बदला लिएरै छाड्ने अठोट गरे ।
केही समयपछि जन्जलाले मङ्गलालाई बबौरीको लेकमा सिकार खेल्न जाने प्रस्ताव राखे । मङ्गलाकी रानी मैनावतीले अनिष्ट हुन सक्ने भन्दै नजाने सल्लाह दिइन्, तर मङ्गला मानेनन् । दुई जीउकी स्वास्नी घरमा छाडेर मङ्गला सिकारमा गए, तर षड्यन्त्रपूर्वक विषपान गराएर उनको हत्या गरियो । त्यसपछि शासन आफ्नो हातमा लिएका जन्जलाले मङ्गलाकी रानीले जन्माउने सन्तानलाई जन्मेकै दिन मारेर उसको वंश निर्मूल पार्ने उद्घोष ग¥यो । केही समयपछि मङ्गलाकी रानीले मध्यरातमा पुत्र बिमललाई जन्म दिइन् र तुरुन्तै बबौरीमा गोठ पालेर बसेका सरैयालाई दिएर पठाइन् । आफूसँग भने एउटा लाम्चो आकारको फर्सीमा रगत लत्पत्याएर राखिन् । बालक जन्मेको थाहा पाएपछि जन्जलाले आफ्नो भाइहरू पठाएर उक्त फर्सीलाई भतिजो सम्झी काटेर फ्याँकिदिए । उता बिमल बढदै जाँदा सरैयाबाट सबै कुरा थाहा पायो । उसकै बाउको आत्मा पनि सपनामा प्रकट भई बिमललाई बेलीविस्तार लगायो । बिमल तरुण अवस्थामा पुग्दा–नपुग्दै काकाको साम्राज्यमाथि धावा बोलेर उनीहरूलाई नष्ट ग¥यो । तीर्थव्रत गरेर यी सबै हत्याको पाप मोचन गरेपछि उसले राज्यको बागडोर सम्हाल्यो र कुशलपूर्वक शासन गर्न थाल्यो ।
सुदूर पश्चिम नेपालको कुन ठाउँको भारत हो यो भन्नेबारेमा कुनै तथ्यगत प्रमाण उपलब्ध छैनन् । समयसँगै फेरिँदै गएको समाजमा लोकसंस्कृतिप्रतिको चासो हराउँदै गएकाले यस्तो भारत गाउन सक्ने पुस्ता पनि उपलब्ध छैन, तर भारतमा वर्णित कतिपय प्रसङ्गले यस भारतको उद्भवबारे केही अनुमान भने गर्न सकिन्छ । यमलाल घिमिरे भन्छन्, यसमा वर्णित स्थानहरूले यो आछाम जिल्लाको भारत हुन सक्नेतर्फ सङ्केत गर्छ । यसमा प्रयुक्त भाषा हेर्दा यो आछाम जिल्लाको भएको अनुमान यमलाल घिमिरेको छ । हुन पनि हो, यस भारतको भाषा आछामको ओरपच्छिम आछामी भेद नै रहेको छ, जसको पुष्टि यी हरफहरूले पनि गर्छन् ः
ह्या उठ उठ दाज्यू सिकार बाइजाऊँ हो ह्या उठ उठ दाज्यू मङ्गला सिकार बाइजाऊँ हो ह्या तितरी सिकार बाइजाउँ हो ह्या फाँको फकेलो अघि सरी दाज्यु हो ह्या केप बारुद अघि सरी दाज्यु हो । (घिमिरे ३९)
सिकार खेल्न गएको स्थानलाई बबौरी भनेर उल्लेख गरिएको छ ः “दोनाले बन्दुक हामीसातै छ सुन्मट्ट्या गेलेली हामीसातै छ, तमी हुन्छ भन सपै हन्र्या हामी छनाइ छौँ भनी तल ह¥या मुथि ह¥या मङ्गलाकन बबौरीका लेक सिकार लियाछन्” (घिमिरे ३२) । बबौरीको प्रसङ्गले यो भारत कालिकोट जिल्लको हाल ‘भाउभेरी’ लेक या बझाङमा पर्ने बगुरको लेक हुनसक्ने अनुमान पनि घिमिरेलगायतका विद्वान्हरूले लगाएका छन् । राउतहरूको बसोबास सुदूर पश्चिमका पहाडी जिल्लाहरूमा बाक्लो पाइनुले पनि यो भारत सुदूर पश्चिमको भएको पुष्टि हुन्छ ।सुदूर पश्चिमका आदि बासिन्दा खस–आर्य संस्कृतिका संवाहक हुन् र हिन्दूआर्य सभ्यताका उत्तराधिकारी हुन् भन्ने कुरामा दुईमत छैन । प्राग्ऐतिहासिक कालदेखि उत्तरी भारतसँग सांस्कृतिक रुपमा जोडिएर हिन्दूआर्य संस्कृतिको संवाहन गर्ने यस समाजको लोकसंस्कृतिको आदिम रुप यस हिन्दूआर्य संस्कृतिका ऐतिहासिक र मिथकीय सन्दर्भसँग जोडिएका हुन्छन् र प्रस्तुत भारत पनि मिथकीय र शास्त्रीय आद्यप्रारुपबाट अभिप्रेरित छ ।
मनोविश्लेषक कार्ल गुस्ताभ युङ् भन्छन्, मानवीय अवचेतनमा समाजको आद्यव्यवहारबाट एक समूहिक स्मरणको बलियो तर अव्यक्त सत्ता सुषुप्त रुपमै भए पनि उपस्थित भइरहेको हुन्छ, जसका आधारमा धेरै मानवीय व्यवहार व्याख्यातित हुन सक्छन् । युङ्, आफ्नो एक मनोवैज्ञानिक विश्लेषणमा भन्छन्् ः वषौँदेखि म मानवीय अवचेतनको उपजलाई यसको व्यापक अर्थको सन्दर्भमा निरिक्षण गरिरहेको छु, जस्तै— सपना, स्वेरकल्पना, दृष्टि र बहुलाहरुका भ्रमक अभिव्यक्तिहरुमा; तर सबैमा कुनै न कुनै आद्यरुपको पुनरावृत्ति मैले अवश्य पाएको छु, जो बारम्बार पुनरावृत्त भइरहन्छन् र विशष्ट अर्थ बोक्छन् । (५१, ३०९) सतको विजय र दुष्टको पराजय कुनै पनि सभ्यताको समूहित अवचेतको एक अभिन्न पाटो नै हो । पूर्वीय मिथकीय सभ्यतामा यो आदिग्रन्थ पुराण श्रृङ्खलाको मूल कथ्य नै हो, जसको पूरै प्रभाव मङ्गला राउतको भारतमा परेको देखिन्छ । सात भाइको बराबर हक हुनुपर्ने सामान्य सामाजिक न्यायको सिद्धान्तविपरीत उभिने मङ्गला राउतको सुरुको युद्धमा भएको पराजय सामाजिक अवचेतनमा व्याप्त न्यायिक कुण्ठाको उपज हो । फेरि, बिमलद्वारा बदलाको भावना लिनु र अन्ततः जन्जला दाजुभाइको पराजय हुनु मानिसको आदिम अवचेतनकै अभिव्यक्ति हो, जुन पुराणदेखि आद्यप्रारुपमा आधारित प्रायः लोकसाहित्यको एक अनिवार्य यथार्थ हो । अन्त्यमा बिमलको प्रायश्चित्त र तीर्थाटन यस्तै आद्यप्रारुपको लोकसंस्करण हो भन्न पनि सकिन्छ । आद्यप्रारुप अर्थात् अर्किटाइप सभ्यताको त्यो आदिम कथा हो, जसको कुनै न कुनै रुपमा साहित्य या संस्कृतिले अनुकरण गरिरहेको हुन्छ । नोथ्रोप फ्राई (१९५७) का अनुसार आद्यप्रारुप संवादमा साझा प्रतीक हुन् र सबै आद्यप्रारुपको एक साझा केन्द्र हुन्छ । त्यस केन्द्रमा सबै आद्यरुपको साझा अर्थ भेट्टाउन सकिन्छ, जसको अर्थ सार्विक र वैश्विक हुन्छ । फ्राईको त्यस आद्यप्रारुपको केन्द्र मिथकीय परम्परा हो, जुन हाम्रो अवचेतनमा सुषुप्त बनेर बसिदिन्छ । मिथकीय समालोचना पद्धतिले कुनै पनि साहित्यको मूल कथ्य र स्वरुप पूणतः नयाँ हुन्छ भन्ने कुरामा विश्वास पनि गर्दैन । यसले परम्पराको कुनै न कुनै आद्यप्रारुप टेकेरै आएको हुन्छ । यसरी हेर्दा कुनै पनि साहित्य नयाँ होइन, तर त्यस्तै मिथकीय आद्यप्रारुपको रुपान्तरण नै हो । जे मेकपर्सन भन्छन्, “जति थरी कथा भए पनि तिनीहरू आद्य शैलीका मिथकीय कथामै आधारित हुन्छन्— सृष्टिको आख्यान, रुपान्तरण, विनाश, प्रेम, क्षति, प्रतिशोध, मित्रता, खोज, नैराष्य या सफलता । (२७७)
यस्ता आद्यप्रारुपका धेरै अनुकरण मङ्गला राउतको भारतमा पाइन्छ । प्रमुखतः दाजुभाइको अंशबन्डासम्बन्धी झगडा नेपाली समाजको आद्यप्रारुपको एक नमुना हो र सामाजिक अवचेतनको एक अभिन्न पाटो नै हो । महाभारतको सम्पूर्ण रडाको आखिर दाजुभाइबीच राज्यको बाँडफाँडकै प्रश्नबाट उठेको हो र मङ्गला राउतको भारतको आद्यप्रारुप महाभारत नै हो । पौराणिक कथा र लोकसाहित्यमा सौतेला दाजुभाइहरूका बीचको झैझगडा त यति धेरै व्याप्त छ कि आज पनि सौतेली आमाको प्रेम र सौतेला दाजुभाइको सद्भाव शङ्काको विषय नै हो । विदुर र धृतराष्ट्रबीचको खटपटी, रावण र कुवेरको सत्तायुद्ध, बाली र सुग्रीवको सङ्ग्राम, पाण्डव र कर्णबीचको तिक्तता, निषद राज्यमा नल र पुष्करको लडाइँ ती तमान आद्यप्रारुप हुन्, जसमा दाजभाइ सत्ताका लागि लडेका थिए ।
यस्ता आद्यप्रारुप हिमाली सभ्यताको मिथकमा मात्रै होइन, पाश्चात्य मिथकहरूमा पनि पाइन्छ । क्राटोसले आफ्नै भाइ हर्कुलिसलाई मारेको कथा मिथकका पाठकलाई नयाँ होइन । मिश्रकै अर्को एउटा मिथकीय सन्दर्भमा मेडियाले आफ्नैै सौतेला भाइ एप्सर्टसलाई मारेको प्रसङ्ग पनि पाइन्छ नै । नर्वेतिर प्रचलित कथाहरूमा पनि भातृहत्याका कथाहरू यथेष्ट रुपमा छन् । उदाहरणका लागि हूरले आफ्नै सौतेला भाइ बाल्दुरलाई मारेर आफ्नो सत्ता सुरक्षित पारेको कथा नर्वेको लोकसाहित्यमा प्रख्यात छ । रोम साम्राज्यका संस्थापक रेमसको मृत्यु आफ्नैै भाइ रोमुलसबाट भएको यथार्थ इतिहासका विद्यार्थीलाई थाहा छ । उता इजिप्टको मिथकमा ओरिसिसलाई आफ्नो भाइ सेटले मारेको कथा पाइन्छ । बाइबलको केन र अबेलको द्वन्द्वको कथा पनि यस्तै आद्यप्रारुपको एक नमुना हो । ग्रिसेली मिथकमा जिउसका छोरा डार्डनसले आफ्नै दाजुको हत्या गरेर आफ्नैै सत्ता स्थापित गरेर ट्रोजन वंशको शासन सुरु गरेको कथा छ । अङ्ग्रेजी भाषाको आदिम कथा विवुल्फमा राजा हियरबियल्डलाई आफ्नै भाइ हेयथसियनले मार्छ । इरानको एक लोककथामा रुस्तमको मृत्यु आफ्नैै भाइको हातबाट हुन्छ । राजकुमार यामाटोको जापानी कथामा यामाटोले आफ्नैै दाजुको हत्या गरेका छन् ।
भातृहत्याको आफ्नै मनोविज्ञान छ । हामीले माथि उल्लेख गरेका प्रायः सबै ऐतिहासिक र मिथकीय सन्दर्भहरू उच्च कुलघराना र राजकुलमा घटेका घटना हुन् । यस्ता घरानामा दैनिक क्रियाकलाप, कथोपकथन, कथावाचन र व्यवहारहरूमा यस्ता घटनाको चित्रण पटक–पटक आउने गर्छ, जसले गर्दा यस्ता कुलघरानामा जन्मिएका बालकहरू यस्तै आद्यरुपलाई आफ्नो अवचेतनको एक शक्तिशाली घटक बनाउन पुग्छन् । अर्को विश्लेषणअनुसार दाजुभाइले एकअर्कालाई आफ्नो ‘सेडे’ अर्थात् छायाका रुपमा देख्छन् र त्यसैले आफ्नो वास्तविक रुपको विलोमका रुपमा देख्छन्, जसबाट वैमनष्य स्थापित हुन पुग्छ । यसको उत्कर्ष युद्ध र हत्या हुन पुग्छ ।
मङ्गला राउतको भारतमा मानेवैज्ञानिक विश्लेषणका लागि अन्य दुई शास्त्रीय आद्यप्रारुप पनि फेला पार्न सकिन्छ । पहिलो हो, एउटी आमासँग जन्मिएका सन्तान विभिन्न कारणले अरुसँगै हुर्किनु र समयसँगै रहस्यहरू उद्घाटित हुँदै जानु । मिथक र इतिहासका धेरै सन्दर्भहरूमा लोकलाज, मर्यादा, डर या दैविक भविष्यवाणीका कारण भर्खरै जन्मेका बालकलाई जङ्गलमा फ्याँकिदिने, नदीमा बगाइदिने, जङ्गली जनावरको सहारामा छोडिदिने या निम्न सामाजिक स्तरका मान्छेका जिम्मा लगाइदिने सन्दर्भहरू यथेष्ट रुपमा पाइन्छ । कुन्तीले कर्णलाई नदीमा बगाउनु र माझीले पाल्नु, लाओसले ओडिपसलाई पहाडमा फ्याँकिदिनु र भेडीगोठालाले पाल्नु, देवकीको आठौँ सन्तान कृष्ण रातारात गोकुल पु¥याइनु र यशोदासँग हुर्किनु, सीताका दुई सन्तान वाल्मीकिले पाल्नु आदि अनेकानेक मिथकीय सन्दर्भहरू छन्, जुन मानवसमाजमा सामाजिक अवचेतनको आदिम स्वरुपका रुपमा आजपर्यन्त विद्यमान छन् र समाजको मोविज्ञानको दिशा निर्धारित गरिरहेका छन् ।
जन्मदेखि रहस्यको रुपमा रहेका यी भेदहरूको उद्घाटन शैलीमा केही साझा मिथकीय आद्यप्रारुपहरू छन् । तीमध्ये एक हो, मृतकको आत्माको पुनः प्रकटीकरण । मङ्गला राउतको भारतमा बिमलले आफ्ना बाबुको हत्याको रहस्य सपनामा थाहा पाएका हुन्, जहाँ उनका बाबुको आत्माले उनीसँग साक्षात्कार गरेको थियो । वाल्मीकिले आफ्नो विराट जन्मकथा अवचेतनमै सुनेका भन्ने कुरा शास्त्रहरूमा उल्लिखित छ । शेक्सपियरको हेम्लेट नाटकमा आफ्नै बाबुको आत्माले हेम्लेटलाई आफ्नो हत्यारा चिनाएको र बदला लिनका लागि उत्प्रेरित गरेको कथा छ । यसको अर्थ हो, हाम्रो अवचेतन यस्ता आद्यप्रारुपहरू एक साझा सम्झनाको रुपमा सधैँ अवस्थित हुन्छन् र आफूमाथि पनि यस्तै घटनाहरू घटे भने ती अवचेतनका अवशेषहरू स्वतः उद्घाटित हुन्छन् । मङ्गला राउतको अर्को आदिमप्ररुप धर्मअनुष्ठानद्वारा पाप मोचनको आदिम सिद्धान्त हो । यस्ता अनुष्ठानबाट पापमोचन हुन सक्छ भन्ने तर्क शास्त्रसम्मत हो र धेरै धर्मशास्त्रीहरूले यसको वकालत गरेका छन् । लोकजीवनमा धर्मशास्त्रको आदिरुपको ज्ञान त त्यति हुँदैन, तर यिनै शास्त्रीय आद्यकथ्यको अपभ्रंश लोककथाहरूमा पाइन्छ, जसबाट सामान्य गाउँलेहरूले पनि तीर्थव्रत ग¥यो भने पापमोचन हुनसक्छ भन्ने कुरा सिकाएको हुन्छ । मोतीलाल पराजुली भन्छन्, “दान–दक्षिणा गर्नु, तीर्थव्रत गर्नु, पितृ तृप्ति कार्य हुन् भन्ने कुरा लोकले विश्वास गरेको पाइन्छ ।” (७६) मङ्गला राउतको भारतको अन्त्यतिर राजा बिमल पापमोचनका लागि तीर्थाटन गर्न निस्किनु त्यसै सामाजिक अवचेतनको उपज हो, जसको आद्यरुप धर्मशास्त्र नै हुन् । यो भक्तियोगको शास्त्रीय परम्पराको अनुकरण हो । भागवतमा भनिएको छ ः
अकार्मो सर्व कामो वा मोक्ष कमाम उदारधिः तीवे्रण भक्तियोगेन यजते पुरुष परम । (अ. ११)
अर्थात्, निष्काम, सर्वकाम अथवा मोक्षको कामना राखी भक्तियागद्वारा परात्पर (उत्तम पुरुष) को भजन, पूजन र सेवन गर्छ भने साधक अनुग्रहबाट सम्पूर्ण रुपमा निर्मन हुन सक्छ (मुक्ति गौतम ८९) । विमले पनि यसै परत्परको प्राप्तिका लागि तीर्थयात्रामा निस्किएका हुन् । यमलाल घिमिरे लेख्छन्, “बिमलले आफ्ना पिता र काकाहरूको आत्मशान्तिका लागि र आफ्नो अपराधको प्रायश्चित्तका लागि काशी, हरिद्वार, गया, प्रयाग, गण्डकी, गाई श्राद्ध तर्पण गर्नु र गौदान गर्नु धर्मानुष्ठानसम्बन्धी कार्यका नुमना हुन् ।” (४२) महाभारतमा युधिष्ठिर–द्रौपदीको रतिक्रिया हेरेर पापका भागी भएका अर्जुन पापमोचनका लागि तीर्थयात्रामा निस्किएका थिए । आमा मारेको पापमोचनका लागि भगवान् परशुराम तप र यज्ञमा लागेका थिए । आफ्नै आमासँग बिहे गरेर सन्तानसमेत जन्माएको पापबाट मुक्तिका लागि इडिपस पनि राज्य छोडेर पापमोचनका लागि हिँडेका थिए । कलिङ्गको युद्धमा अत्यधिक हिंसाका भागी भएको सम्राट् अशोक त्यसपछि पूर्णतः बौद्धधर्मको प्रचारमा लागेका थिए । यसको कारण उही पौराणिक परम्परा हो, जसमा प्रायश्चित्तका लागि यथेष्ठ मार्गहरू देखाइएका छन्, जसमा एक हो गायत्री मन्त्रको यो स्वरुप ः
पापोहम पापकर्माणन पापात्मा पापसम्भव त्राहिमाम पुण्डरीकाक्षा सर्वै पाप हरो भव ।
यसरी हेर्दा मङ्गला राउतको भारत पूर्वीय शास्त्रीय परम्परा र वैश्विक मिथकीय परम्पराको आद्यप्रारुपको एक सुन्दर समागम हो र मानिसको आदिम मनोविज्ञानको एक आधुनिक प्रतिरुप हो । यसलाई आधुनिक यस अर्थमा भनिएको हो, किनकि यो भारतमा बारुदको प्रसङ्ग आउँछ जसले यो भारत बारुदको आविष्कारपछिको हो भन्ने कुरालाई पुष्टि गर्छ ।

No comments:

Post a Comment