Friday, August 17, 2018

रिटायर्ड जीवन ; केहि भोगाइ , केहि भनाई

रिटायर्ड जीवन ; केही भोगाइ , केही भनाई
=======00000000==========
बिषय प्रबेश

सामान्य गाउँले किसान परीवारको पृष्ठभुमीबाट आएको हुदा सरकारी सेवाको परिबेश मेरो लागि सदैब नयाँ बिषय रह्यो । सेवा निबृति पश्चात् के गर्ने भन्ने कुरामा कहिल्यै कुनै योजना बनाइएन, अझ केही सोचिएन पनि । " देखा जायेगा " भन्दै ५८ कटेको पत्तै भएन । अनिवार्य अवकाश पछिको जीबनको सामना गर्न अलमलको अबस्था रह्यो । बस्नको लागि घर र सामान्य घरखर्चको लागि पेन्सनको भरमा टेकेर म नागरिक जिबनमा फर्किदा समाजका मानकहरु नै फरक भैसकेका थिए । चार दशक पछि नयाँ बाताबरणमा अभ्यस्त हुन नसक्दा यो अलमल स्वाभाविक थियो नै । तर "पुरा केहि नजानेको अलिअलि सबै जानेको ( jack of all but master of none )" सामान्य सेवाको अप्राबिधिक मानिसलाई आउदा दिनमा के गर्ने भन्ने  मेसो मिलाउन गारो भयो । फुर्सद पाइएला भनेको त झन छटपटी हुन थाल्यो ।
कुनै प्रबिधि सिकेको आधारमा नयाँ ब्यबसाय शुरु गर्न न समय थियो , न कुनै जुगाण नै । दस कक्षा सकाएर नौकरीमा प्रबेश गर्नेले के सिकेको होस र ? जिन्दगीको धामामा जागिरको जामा लगाएपछि सामान्य पढाइलाइ निरन्तरता दिदै परीवार पाल्ने ध्याउना बाहेक अरु केही सोच्न सकिएन । रिटायरमेन्टका बारेमा सहकर्मीहरुसंग कुरा चलाउदा धेरै जना बचत र पुंजीका बारेमा चिन्ताशील भेट्टिन्थे  । कोहि भने सक्रिय कामकाजी केरियर सकिने मनोबैज्ञानिक झटकामा थिए । मलाई पनि मेरो स्वतन्त्रतामा नियन्त्रण हुने हो कि भन्नेमा आशंका लागि रह्यो । तर मैले अर्थ्याएको सेवा निबृत जीबनको नौलो मुकाम भनेको आफनो ईच्छाले स्वतन्त्र नागरिक भएर बाच्ने आममानिसको परीबेश नै थियो र छ पनि ।
यसै सिलसिलामा कुनै अज्ञात बिचारकको कबितामय भनाईलाई मैले आदर्श मानेकोछु ।
जीबनको पहिलो दस बर्ष मात्रै आनंदमा बसियो।
दोस्रो दस बर्ष चकचके बनेर काटे ।
तीसको दशक भरि बुलन्द सोच मात्र निकाले ।
चालिसको हुदासम्म आफनै सोचहरुमा  प्रयोग गरियो ।
पचासमा बल्ल वास्तबिकताको सामना भयो ।
साठी बर्षमा अब शान्तिको खोजीमा छु ।।
तनाव र थकानयुक्त परीश्रमबाट मुक्त रहि नयाँ अर्थपुर्ण जीबनको शुरुवात नै रिटायरमेन्ट हो । बाँकी जीबनलाई अर्थपुर्ण बनाउन जीबनसाथी र सहचरहरुसंग सल्लाह गरि योजना बनाउनु पर्ने थियो, बनाइएन  । सामान्यतया गाउँले कृषक समाजको संयुक्त परिवारमा बाबुबाजेको पेशाको निरन्तरता कायम हुन्छ । बाबुले बिरासतमा छोडेको ब्यबसायलाई छोरा नातिले थपक्क टिप्छन् । तर नौकरी पेशामा लागेकाहरु निबृत हुँदाको प्रतिमान बेग्लै देखिन्छ । छोरानातिहरु आफनै बलबुतामा नयाँ बाटो लिन्छन् । पेन्सनर ब्यक्ति असुरक्षित जस्तो बनेर पुर्बबर्ति समाजमा फर्किन्छ । पछिल्लो तीनचार दशकमा समाजले लिएको गतिसंग केही दिनसम्म लय मिलाउन गारो हुन्छ । सोच्ने शक्ति र शारिरिक सक्रियतामा आएको ह्रासले त्रास पैदा गर्नसक्छ  । तर यसरी बिगतका कुरा सोचेर एकान्तिक हुनुभन्दा सकारात्मक सोचेर आगतको स्वागत गर्नमा तयार रहनु निबृत जीबनको पहिलो खुटकिलो हो ।

के के गर्न सकिन्छ ?

आफनो " दिल दिमाग र शरीर" सक्रीय राख्नै पर्ने बाध्यता संगै कुनै न कुनै नयाँ रुचि बिकसित गर्नै पर्छ  । यसै सन्दर्भलाइ लिएर बिचार गर्दा केही बिकल्पहरु पनि छन । जस्तो,
  • किताब लेख्न सकिन्छ कि ? । भनिन्छ, प्रतेक मानिस भित्र कमसेकम एउटा किताब लुकेकै हुन्छ रे ।हामी  भित्र पनि त्यो हुन सक्छ । तुकताल नमिलेको बेफुर्सदी जागिरे जीबनमा स्वतन्त्र भएर त्यसको लागि कुनै प्रयास हुन सकेन । बिगत जीबनका संचित यादहरुको संकलन मात्रै गर्ने हो भने पनि पुस्तक त तयार हुन्छ । अब  छोेरानातिलाई दिने भनेको यहि संस्मरण गाथा मात्रै त हो । यसको लागि केही तयारीको आबश्यक हुन्छ । जो संभब छ ।
  • कुनै नयाँ भाषा सिक्ने हो कि ? यो आधुनिक रुचीको बिषय पनि छ । आजभोलि त कोरियन, चाइनिज, फ्रेन्च, स्पेनिस जस्ता भाषा सिकाउने संस्थाहरु छ्याप्छ्याप्ति भेट्टिन्छन् । नयाँ क्षेत्रमा प्रबेश गर्नु रमाइलै हुनेछ । यसको लागि थप धैर्य र परीश्रमको खाँचो देखिन्छ ।
  • नौला नौला ठाउँमा घुम्न जादा पनि हुन्छ । सामान्यतया केहि बर्ष अझै घुम्न जान सकिन्छ । पारिवारिक दायित्व पूरा गरेपछि केही द्रब्यको जोरजाम मिलाइ तिर्थाटन र पर्यटन संगसंगै गर्न सकिने नै हो । यसको लागि पारिवारिक संसदको सहमति चाहिने नै भयो ।
  • कुनै परोपकारी काममा लागेर आत्मसन्तोष लिन सकिन्छ । यो निरन्तर चलिरहने कुरा हो । तर यस्तो सामाजिक कामको कुनै विशिष्ट क्षेत्र पहिल्याउन समाज र सम्भाबनासंग तालमेल राख्नै पर्छ ।
  • कुनै नयाँ कौशल पो सिक्ने हो कि? अधुरा सपनाहरु पनि तत्सम्बन्धका सीप सिकेर पूरा गर्न सकिन्छ ।  गच्छे अनुसारको सीप सिक्नु सामयिक नै हो ।
  • आदि इत्यादि ।
हाम्रो बिचारमा देबदूत र शैतान संगसंगै बसेका हुन्छन रे । एकले अर्काको बिकल्प दिइरहेका पनि हुन्छन । कसलाई छान्ने भन्ने आआफनो अधिकारमा छ । बर्षौसम्म आफनै समाजका लागि, आफनै परिवारकालागि काम गरिएको हुनाले कतै न कतै त निबृत मानिसको योगदान छ नै । अब हामी त्यसै गरि कडा मेहनत पो गर्न सक्दैनौ । तर अर्थपुर्णरुपमा बिगत अनुभवलाई कुनै न कुनै काममा भने अवश्य लगाउन सक्छौ ।

के भयो , के गरियो ?

अवकाशको तत्काल पछाडीको  समयमा मनमौजी भएर आफनै पाखा पखेरा घुम्दा केही महिना यतिकै अन्मनिए । सामाजिक सम्बन्ध र पारिवारिक सम्बन्धका केही नयाँ आयाम पनि तेहि बेला बेहोरियो । आफनै ठानेकाहरुले पनि    " भाग खोज्न आएको पो हो कि ? " भनेर पराई ठानेको जस्तो लाग्यो । घरमा हुँदा कहिल्यै नबेहोरेको खाना पकाउने, भाडा माझ्ने, लुगा धुने जस्ता व्यवहार पनि बेहोरे । अर्को शब्दमा भन्नुपर्दा आफू बस्नु पर्ने समाजमा पुनर्समायोजन भए ।
रिटायर हुदा तास खेलेर वा पसलहरुमा गफ गरेर बिताउने गरि दिन काटने छैन भन्नेमा मानसिक रुपले नै तयार भएको थिए । स्विमिङ पुल वा पार्टि चाहारेर बस्ने हैसियत नै थिएन । कमाउनकै लागि मात्र काम नगर्ने भनेर निधो गरे ।  अधिकांश निबृत बरिष्ट नागरिकबृन्द सरह आफुलाई फ्रेश र फुर्तिलो राख्न नयाँ तकनिकीको आधारमा नयाँ काममा हात हाल्न पनि म डराउन थाले । अर्को कुरा, जागिरमा भएको बेलाको जस्तो सम्मानजनक व्यवहार हुदैन कि भन्नेमा पनि आशंका लागिराख्दो रहेछ ।
सोचेको थिए, पुराना पुस्ताको कमान मेरो नजिक आउनेवाला छ । मेरो पुनरागमन अर्थपुर्ण हुनेछ । तर समयको लामो अन्तरालले समाजको कार्यस्थलमा कम प्रासांगिक हुने खतरा पनि उतिकै थियो । तै पनि आउदो पिढिले सम्मानजनक स्थान दिएको पाए ।
धेरै जनासंग धेरै समयपछि बात मारियो । उनीहरुका समस्यामा बिचार विमर्श गरे । मैले ब्यहोर्नुपर्ने समस्याका बारेमा आकलन गरियो । नयाँ निबृत जीबनमा सहजीबन शुरु गरेका धर्मपत्नीहरुका  बिचार पनि महत्वपुर्ण बन्दा रहेछन् ।

सुनी जानेका कुराहरु    

तर पनि समाजमा रिटायर्ड ब्यक्तिहरुबाट केही उदाहरणिय काम हुँदै गरेका कैयौ उदाहरण छन् ।  सेवानिवृत भएपछि आफना अनुभव लेखेर किताब निकाल्नेको संख्या थुप्रै छ । कसैकसैले त बहुचर्चित र बिक्रिका पुस्तक पनि लेखेका छन् । केहि सेवानिबृत पदाधिकारीले स्वयमसेवी बनेर मन्दिर, सेवाश्रम र परोपकारी संस्थामा सक्रीय रहेका देखिए । समाजका विशिष्ट बर्ग, जस्तै- फरक क्षमता भएकाहरु, एकल जमात, बिपन्नतम बर्ग वा किनारीकृत समाजका लागि पनि काम गरीरहेकाछन् ।
मेरा एक जना असल मित्रले त  साठी सकाएपछि शोधपत्र लेखेर डाक्टर नै बन्न भ्याए । बिद्यालय र प्रशिक्षण केन्द्रमा कोचिङ क्लाश लिइ पढाउने त कति छन कति । यसै गरि केही नयाँ काम सिक्ने रोमान्चमा लाग्नेहरुलाई उदाहरणिय रुपमा लिन सक्छौ । कैयौ नयाँ कौशलमा रमाएका पनि देखिन्छन् । एक जना निबृत सचिबले संगीतमा नाम कमाएका छन् । अर्का मित्रले बुढेसकाल लाग्दा नृत्यको अभ्यास पो गरि राखेका रहेछन् ।
खाना पकाउनमा दक्ष हुनु पनि निबृत जीबनको राम्रै पक्ष हो जस्तो लाग्छ । विशेष रेसिपी, पकाउने तरिका , राखिने मसाला र सजावटका मसीना बिषयमा लागेर रमाइलो जीवन बिताएकाहरु पनि देखेकोछु । मेरा यस्ता मित्रहरु पनि छन् , जुन बहुत रुचीपुर्बक नयाँ नयाँ पुस्तक पढीरहेका भेट्टिन्छन् ।
अचेलको नयाँ क्रेज, सोशल मिडियामा अनुभवलाई साझा बनाउनेको संख्या पनि ठूलो छ । विभिन्न बिषयमा बिचार प्रबाहित गरेर बैश्विक बैचारिक मन्चमा सोशल मिडियाले ठुलो योगदान दिईरहेकोछ । बरिष्ट नागरिक बनेपछि कंप्युटर सिकेर सोशल मिडियामा जोडिनेहरु सलामका पात्र हुन । घरपालुवा पशुलाई आफनै बालक सरह माया गरेर राख्नेहरुले पनि निबृत जीबनको सदुपयोग गरीरहेका हुन्छन् ।
हाम्रा एक जना छिमेकि पुराना विशेष बस्तुहरु- सिक्का, हुलाक टिकट, हातहतियार, परिधान, भाँडाकुँडाहरुको संग्रह गरीरहेकाछन् । यो अपत्यारिलो धन्दा आयआर्जनको साधन हुनसक्छ भन्नेमा धेरैलाई बिश्वास नहुन सक्छ । तै , अहिले पुराना कुराप्रति धेरैको रुचि बढिरहेकोछ ।
केही पनि नगरी अवसादमुक्त भएर बस्ने बानी पार्नु पनि कामै हो । चालिसौ बर्षसम्म परेको बानी बदल्न केही समय त चाहिन्छ नै । केही पनि नगर्ने बिकल्प छान्ने भनेर धेरै साथिले बताए  । खानु सुत्नु पढनु र कल्पना गर्नु या स्वप्न देख्नुको दिनचर्या पनि समायोजनका लागि केही दिन ठिकै छ । नजिकैको चिया पसलमा घन्टौ कुरा गरेर समय बिताउनु र नेट सर्फिङमा मात्र लागि रहनु मलाई उस्तै उस्तै लाग्छ । कुनै समयको उत्पादक उपयोग नगरेर पनि निरपेक्ष भावबाट बिहानैदेखि बाल्कोनीमा वसीवरी चिया कफीमा रमाउनु स्वयममा एक प्रयोग पनि हो ।


सेवा निबृति र जीबनसाथी

रिटायर भएपछि नयाँ हाकिमको मातहत कामगर्नुपर्ने मनस्थिति बनाउनु पर्दोरहेछ । कुनै बेला संगठनले खटाएको अपेक्षाकृत बरिष्टतर ब्यक्तिलाई हाकिम मानिन्थ्यो , तर सेवा निवृत पछि मैनेजरको यो मानक पनि पुरै परिबर्तन हुन्छ । पहिले सेवाको मौका दिनेलाई मालिकको स्थान दिइन्थ्यो , तर निबृति पश्चात् कुनै समय आफुले बिबाह गरिएको सहधर्मी/धर्मिणिलाइ मालिक मान्नै पर्ने बाध्यता आउदो रहेछ । भनिन्छ, बिबाह त्यो रक्सी हो, जो जति पुरानो भयो  त्यति थप नशालु हुन्छ ।
सामान्यत: बिबाहको तीन दशक पछि सेवा निबृत भइन्छ । आफनो कार्यक्षेत्रको ब्यस्ततामा यो तीस बर्ष आफ्नो परीबेश, परिस्थिति र जोरीपारीको बारेमा थुप्रै भ्रम पालिएर राखिएका हुँदा रहेछन् । एक अर्कालाई राम्रोसंग जानेको भ्रम ती मध्ये एउटा हो ।  यथार्थमा बैयक्तिकताको सम्मानको नाममा, आफनो ब्यस्त समयको बाध्यताको बीचमा केही गम्भीर बिषयमा ध्यानै दिन सकिएको हुँदो रहेनछ । रिटायर भएपछि बल्ल चौबिसै घण्टा कथित जीबनसाथिसंग ब्यतित गर्न पाइन्छ । अनि मात्र हैरान हुने पालो आउँछ । बरा, राम्रोसंग जानेको भनिएको जीबनसाथिको गाँठी कुरा त जानिएकै रहेनछ ?
सेवा निबृति पश्चातको अपेक्षा समान नभएपछि घेरै युगलहरुमा समस्या देखिन्छ । यस्ता बिषयमा बार्ता बिबाद भएन भने समस्या झन बढदै जान्छ । जस्तो रिटायर जीवन कसैको लागि शौक( हवि ) पूरा गर्ने र रोमांचक समय बिताउने मन हुन्छ भने कसैलाइ सामाजिक सम्बन्ध नबिकरण गर्ने प्रतिक्षित जीबनखंड हुन सक्छ । अझ गल्फ या क्रिकेट मैदानमा गफिएर बस्ने वा कम्प्युटरमा च्याटिंग गर्ने मध्ये कुनै एउटा बिकल्प रोज्नुपर्ने बाध्यता आउनसक्छ ।
यस्ता बिबिध बिचारहरुमा रङमङिएर रिटाएर पछि दुबै जनाले आआफ्नो मनमर्जी गर्नु भन्दा सहमतिमा जानू उतम् बिकल्प हो । यस्ता बिपरित रुचीका बिषयमामा निबृत हुनुभन्दा पहिले नै बिचार गर्नु बेश हुन्छ ।
निबृत पश्चात् केही बर्षसम्म सामान्य तँ तँ म म हुनु स्वाभाबिक मानिन्छ । तनाव एक्लो हुँदा झन गहिरो हुन्छ । बिबाह नामको सामाजिक संस्थालाई सामान्य रुपमा संचालन हुन दिन जीवन पर्यन्त सम्झौता गर्नुपर्दो रहेछ । यसरी सम्झौता गर्न नसक्दा रिटायरमेन्ट पछि धेरै जनाले असजिलो समय बिताएको देखिएकोछ । सबै सन्तान आआफना काममा लागिसकेपछि रिटायर्ड प्रौढहरुले अलग दुनियाँ बसाउदै नयाँ जीबनसाथी छानेका कैयौं उदाहरण छन्। नौकरी अवधिमा ठिकठाक चलेको भनिएको बैबाहिक सम्बन्धमा पनि चिरा देखिन थाल्छ किनकि पतिपत्नीहरु एक अर्कासंग बल्ल पूरा समय बिताउन थालेका हुन्छन् । यसरी सेवानिबृतिले बैबाहिक जीबनमा परीबर्तन ल्याउछ र बाध्यताबश स्वयम्को जीवन आयाम पनि बदल्नै पर्ने हुन्छ ।
retired husband syndrome ( सेवा निबृत पति लक्षण ) नामको चर्चित बिषयमा अचेल युरोप, अमेरिका , जापानतिर थुप्रै शोध प्रबन्ध लेखिन थालेका छन् । केही जापानी महिलाहरुले त सेवा निबृत पतिलाई काम नलाग्ने पुरानो भाँडा समेत भन्न थालेकाछन् । खासगरी पुरुषको जीबनमा सेवा निबृतपछि थुप्रै महत्वपुर्ण परीबर्तन आउने गर्दछन् । कामकाजी जिबनमा संगसंगै रहने दम्पतिहरु पनि सेवा निबृत पश्चात् बूढो भएपछि पारपाचुके लिने गरेका थुप्रै घटना भएकाछन् । कार्यब्यस्तताका नाममा जुन समस्यामा पहिला वास्ता गरिदैनथ्यो, तिनै समस्याहरु बूढो भएपछि ठुला रुपमा देखिन्छन । कारण अहिले पर्याप्त समय छ र समस्या उपर बिबाद विमर्श बाहेक अर्को बाटो पनि छैन ।
आफनो साथी कतिको आफू अनुकुल छ भन्ने कुरा बुझ्न हप्ताको सातै दिन चौबिसै घन्टा संगसंगै बिताउनु पर्ने रहेछ । तर बिडम्बना यो परीक्षा सेवा निबृति पछि मात्र सामुन्ने आउछ । स्वतन्त्र जीवन शैली बाँचेकाहरुलाइ झन उपरोक्त समस्याको साक्षात्कार कहिल्यै हुदैन ।
सम्पुर्ण वैवाहिक जीवनमा समान रुचि पैदा गर्न केही गर्न सकिएन भने आपसी सम्मान र सम्बेदनशीलताका नाममा ठिकठाक उभिएको देखिएको सम्बन्धमा खतरा रहन्छ ।
भरखरै सेवा निबृत एउटा साथीको टिप्पणि यस्ति थियो, " म आफनो काममा हुदा पत्नी सहयोग माग्थिन । म अनिच्छापुर्बक नै भए पनि जोरजाम मिलाएर सबै माँग सकि नसकि पूरा गर्थे र यसैलाई आफनो सफलता मान्थे । तर अब उनी काम अह्राइ रहन्छिन, काम गर्दा ढंग नपुगेको गुनासो गरि रहन्छिन  र अरुको जस्तो केही नभएको गुनासो गरि रहन्छिन । वास्तबमा मसंग केही छैन र मलाई यो सब राम्रो लागीरहेको छैन ।"
तर कुनै महिलाले यसो भनेको पनि सुनियो- रिटायर भएपछि लोग्ने भने अघाउने गरि पाइयो । तर के गर्नु, पैसो पो आधा पाउन पनि धौ भयो । एउटि बृद्धा महिलाको गुनासो छ, उनी बिहान तनाबग्रस्त भएर उठछिन र बुढालाई अझ ढिलो गरि अघाउन्जेल सुत्न दिइ राखेकोछिन्

सेवा निबृत भएपछि पत्नीसंग समय बिताउनु चुनौतिपुर्ण हुँदो रहेछ । तीस बर्षे बैबाहिक जीबनमा छोराछोरीहरुसंग अभावमा बिताएको जीवन नै स्मरण योग्य हुँदोरहेछ । त्यसबेला पो सबै संगै भइन्थ्यो । केही गरिन्थ्यो । केही सुधारिन्थ्यो । अब न कसैको बिचारशैली बदल्न सकिन्छ, न आफू बदलिन सकिन्छ । सिङ्गो दिन बिनाकाम सोचेर बस्नु पनि चुनौति नै हुन्छ । चौबिस घन्टा दुई जना मात्र एकै ठाउ बसिरहन कहाँ सकिन्छ र । न एक भएर न एकान्तमा बस्न सकिन्छ ।
यी समस्याको समायोजन चुनौतिपुर्न छ । तर यो पार गर्नै पर्छ । केही घरेलु जिम्मेदारी सम्हालेर भए पनि बाँच्नु छ । धेरै युगलहरुलाइ सहधर्मी आफू अनुकुल छैन भन्ने थाहा भएर पनि पुरै दिन एक अर्कासंग बिताउनै पर्ने बाध्यता आउछ ।
मनोबैज्ञानिकहरुको मतानुसार मानसिक स्वास्थ्य ठिकठाक बनाइराख्न सामाजिक संस्थाहरुसित जोडिइरहनु पर्छ । सेवा निबृत दम्पतिहरु मध्ये साथीसंगातिहरुसंग सक्रियतापुर्बक जोडिएकाहरुको सामाजिक जीवन अपेक्षाकृत राम्रोसंग बितिरहेको हुन्छ । महिलाहरु यस मामिलामा अझ सक्रीय रहन्छन, किनकि भावनात्मक सम्बन्धका लागि उनीहरु ज्यादै बलिया हुन्छन । तर विचरा पुरुषहरु सामाजिक सम्बन्धाकालागि कम अग्रसर रहेका कारणले सेवा निबृति पश्चात् महिला मित्रमाथि नै आश्रित रहनुपर्ने हुन्छ ।

कामकाजी ब्यस्त जीबनमा आफनो तोकिएको काम र बालबच्चाहरुको समस्यामा घेरिएर बसियो । स्कूलको पढाइ सकिएपछि छोराछोरी घरबाहिर निक्लेदेखि नै पारिवारिक संरचनामा परिबर्तन आइसकेको हुन्छ । घरबाट केटाकेटीहरुले बाहिर उडान गरेपछि उनीहरु उनीहरुको नीजी जिबनले आफ्नो लय लिन्छ । यसै बिन्दुबाट पतिपत्निको केही नयाँ समायोजन आबश्यक देखिन्छ । सन्तान अलग भएपछि त मात्र " हाम्रा छोराछोरी" को मायावी संसारसंग साक्षात्कार हुने हो, जो वास्तविकताबाट कोशौ टाढा हुन्छ । ब्यस्त कार्यकाल र सामाजिक तानाबानामा मात्र यो बेलाको तनाव ब्यबस्थापन गर्न सकिन्छ ।


पारिवारिक संरचनाको दोश्रो महत्वपुर्ण परिबर्तन सेवानिबृति पछि हुन्छ । अचानक दुबै जना बिनाकाम घरमा बस्नुपर्ने स्थिति आएपछि आपसी सम्बन्धमा केही नयाँ स्थानको खोजी हुन्छ । आफना प्रतेक पागलपन र गल्तिहरुलाई सहर्ष स्विकार गर्ने साथिको आबस्यकता महसूस हुन्छ । एउटै छानो मुनि चौबिसै  घंटा संगै बस्ने साथीबाट यो अपेक्षा कतिको पूरा गर्न सकिन्छ, यो महत्वपुर्ण सवालमा रङमङिनु पर्ने अवस्था आउँछ ।
यसका लागि योजना बनाउनोस, तर अति नगर्नोस । एकअर्काको दैनिक जीबनमा धेरै परिबर्तन गर्ने खतरा पनि तत्कालै नउठाउनोस् । थोरै समय साथिको बैयक्तिकताको नाममा खाली छाडी दिनोस । दैनिकीलाइ पन्छ्याएर कहिलेकाँहि यतिक्कै घूमघाम गर्नुहोस । केही राम्रा कुरा अप्रत्यासित रुप मै भै पो हाल्छन कि ?
के गर्दा जीबनसाथीको आन्तरिकबृतलाई मन पराउन सकिन्छ र उसप्रतिको आकर्षणलाई पनि यथावत राख्न सकिन्छ । यसकालागि महत्वपुर्ण टिप्स निम्न बमोजिम हुन सक्दछन् ।
  • घरेलु काममा आफनो स्थान सुरक्षित गरि हालौ ।
  • थोरै समय आफनो एकान्तका लागि पनि निकालौ ।
  • जीबनसाथि र अन्यसाथीहरुको आबश्यकतालाई पनि सम्मान गरौ ।
  • प्रतेक बिहानलाई नयाँ अवसरको रुपमा स्वागत गरौ ।
  • कुनै एउटा कामको ( जस्तो चिया बनाउने, मशीन चलाउने) जिम्मा सहमतिमा आफै लिऔ ।
  • ससाना साझा कुरा ( ट्वाइलेट प्रयोग, तौलिया प्रयोग आदि ) मा विशेष ध्यान दिउ ।
  • आफना रुचिलाइ अलग राखौ । सम रुचीले जीवन निरस हुन्छ भन्छन । संवाद गरि राखौ ।
  • आफना केही साथी सम्बन्धीलाई अलग राखौ ।
  • असहमतिमा सहमति खोजौ । बिबाद न बढाऔ । बरु स्थगन गरौ ।
एक अर्काको जीबनशैलीबाट केही सिकौ र नयाँपनको आनंद लिऔ ।

जिबनोत्तरार्धका रमाइला पक्षहरु   

भनिन्छ, कालो बादलमा पनि चाँदीको घेरा हुन्छ ।निबृत जीबनोत्तरार्धका पनि केही सुनौला पक्ष छन् ।  जेक एन्डरसनको शोधपत्र अनुसार हामी पेन्सनवालाहरुका साथमा तलका केही भौतिक अभौतिक सम्पत्ति सुरक्षित छन । शानकासाथ यो उद्घोष गर्न सकिन्छ कि,
हामी,
  • बहुसंख्यक आममानिसभन्दा धेरै खुशी  छौ । किनकि काम र आरामको सन्तुलन मिलाएकाछौ ।
  • समाजको ठुलो तप्काभन्दा धेरै जानेकाछौ । हाम्रो मष्तिष्कको मेमोरि भरिएकोछ र पो स्लो देखिएकाहौ ।
  • ससाना कुरामा तनाव लिदैनौ । किनकि देश-दुनिया देखेकाछौ । ठुलठुला समस्या बेहोरि सकेकाछौ ।
  • हाम्रो यौन जीवन अपेक्षाकृत राम्रो छ । बल्ल पारीवारिक जीबनमा स्वतन्त्रता पाएकाछौ । ६०-७० को उमेरलाई त यौन सन्तुष्टिको उच्चतम बिन्दु ( apex of adult life ) मानिदो रहेछ ।
  • सामान्य खर्च चलाउन हामीसंग पैसाको जुगाण छ । किनकि अब संग्रहको आबश्यकता रहेन ।
  • हामीलाई अरुको बाधा नपुग्ने गरी मनमर्जिको काम गर्न छुट छ । किनकि हामी सन्तोषी बनेका छौ ।
  • सामान्यतया आफनो शारिरिक बनौटमा सन्तोष छ । कृतिम श्रृङ्गारमा रुचि छैन ।
  • आफुमाथि बिश्वास छ । किनकि गरेर खाएका हौ ।
  • समकालीन समाजमा चिनजानको दायरा विशाल छ । हाम्रा राम्रा साथि पनि छन् । जीबनको बृहत् क्षेत्रलाई बुझेकाछौ ।


केही सुझाव / समापन


"शुभ सेवानिवृति " को कामना कसैलाई प्रिय लाग्दैन होला । रिटायरमेंट शब्द आफैंमा बोझिल छ । लाग्छ, यसपछि सब खतम छ । तर त्यस्तो हुँदै होइन । हामी जीबन भरी धेरै कामबाट रिटायर हुने गर्छौ र नयाँ कामसित जोडिन्छौ । यो त ड्रेस चेन्ज गरे जस्तै त हो नि । हामी अबिबाहितबाट बिबाहित भयौ । छोरा/ छोरीबाट बाबू/ आमा बन्यौ । गोठालो, कृषक, विद्यार्थी, शिक्षक, कर्मचारी जस्ता कतिपय कामबाट निबृत भइयो , तर यी सबै कामको भुमिका जिन्दगीमा अलग अलग रुपमा स्थापित छ । नयाँ रोमान्च, नयाँ अनुभव । एकपल्ट त मैले एउटा स्थायि नौकरी नै छोडे र फिरन्ता बने । यी प्रतेक मुकामले मलाई भिन्न अर्थ र उपयोगिता दिएकोछ ।
त्यसैले अब मान्नोस कि आफुसंग बहुमुल्य योग्यता बाँकी छ, जो समाजका निम्ति आबश्यक छ । हाम्रो संबिधानले पनि यो मानेकोछ । हुन सक्छ, नयाँ धरातल पहिल्याउदा अप्ठ्यारा महसूस होलान। तर परीबर्तनलाई स्विकार गर्नासाथ सब सामान्य हुन्छ । नयाँ क्षेत्रको नयाँ प्रशिक्षणमा बस्दा नयाँ बानी ब्यहोरा त बसाल्नै पर्छ । यसरी नयाँ प्रतिभा बिकसित गरेपछि समायोजनमा सुबिधा हुन्छ । आफनो क्षमतालाई चिन्न सकिए नजिकको नयाँ परीबेशसंग घुलमील सहजै हुनसक्छ । आफैमा मात्र सिमित रहदा आफू नै एक्लिने हुन्छ ।
हामीले जीवनमा बेहोरिएका कतिपय " धक्का " हरुलाइ झेलेकोछौ । त्यसै अनुभवबाट पनि आगामी जीवन परिभाषित गर्न सकिन्छ । जिबनको यो रंगावली ( स्पेक्ट्रम ) मा आशाबादी र निराशाबादी भनिने दुइटा कोण छन् । हामी जुनसुकै कोणमा उभिएर सोच्न सक्छौ ।
आशावादिताले चुनौतीबाट अनुभव संगाल्छ । समस्याको अस्थायि स्थिति निश्चित रुपमा एकदिन अतीत बन्दछ र उज्यालो भबिष्य देखिन्छ । निराशाबादिताले प्रतेक काममा समस्या मात्र देख्छ । त्यो समस्या पनि अरुले थोपरेको जस्तो लाग्छ । फलत: समाधान नपाइदा आगत आँध्यारो लाग्छ ।
यसकारण आशाबादी बनेर आफनो ब्याबहारिक स्वरुपको इमानदार परिक्षण गर्न सेवानिबृत अबधि उपयुक्त समय हो । चुनौति भित्र नै अवसर बसेको हुन्छ । त्यो अनुभवले केहिे समात्न सकिन्छ । आशाबादि कोणमा उभिएर नै हामी जीबनलाई पुनर्प्रोत्साहित ( रिबुट ) गर्न सक्दछौ ।
अबकाशको उमेर एक क्षितीज हो । यहाँबाट मृत्युको अर्को क्षितीज देखिनु स्वाभाविक छ । बिगतमा गर्न नपाएका कुनै नयाँ काम उठाएर आनंद लिन सकियो भने यो मुकामको बसाई सार्थक बन्दछ । दुनियाँलाई आफ्नो असल योग्यताको स्मरण गराई खुशी बाँडने मौका चुकाउनु हुँदैन । यस्तो बाँडचुँड गर्न सकिने खुशी खोज्न के गर्नु पर्ला ? भन्ने प्रश्नको उत्तर खोज्दै गर्दा केही नयाँ काम शुरु गर्ने सुनौलो सुत्र अबश्यै मिल्नेछ ।


*******************










No comments:

Post a Comment