Friday, September 1, 2017

बिमारी सपनाहरु


  पहिलोपल्ट अस्पतालको बेडमा पल्टिएर पुराना कुरा सम्झिदैछु । मेरो भित्र अन्तरकुन्तरमा कतै एउटा हुक उठ्छ। सोच्छु, मेरो जिन्दगीका लागि मै कति दोषी छु ? शतप्रतिशत... अहँ पट्क्कै हिसाब मिल्दैन। बिहान उठेदेखि रातीसम्म भ्याइ नभ्याइ कामै मात्र गरिरहनुपर्दा दिक्क लागे पनि, खुइ काढीरहने पलहरूबाट फुत्त निस्किन पनि मन  त लाग्थ्यो नै । तर उसका ती दिग्दारीहरू कहिल्यै अनुहारमा ल्याउन पाएन मैले ।  दुःखलाई पचाउन सक्ने  क्षमता आफुमा हुनुपर्छ भन्ने मान्यतामा बाँचेको थिए ।
     छेउमा  निदाइरहेकी छोराहरुको अवोध-युवा अनुहारमा हेर्दै म कल्पना गर्छु - कतै यिनलाई पनि कुनै रोग त लागेको छैन ? म केही गरी मरिगएँ भने  मेरो घर परीवारले के गर्लान ? कल्पनै मात्रले पनि आङ सिरिङ्ग हुन्छ। मभित्रका उदासीहरू कताकता बाहिर पोखिन खोज्छन्। आफ्नो कल्पनाको छनक  अरुलाई नपरोस भनी केही होसियार हुन्छु। र म पनि निदाउने कोसिस गर्छु।
     अर्धनिन्द्रामै कुनै पुराना दिनमा ज्योतिषीले चिठा हेर्दा ६० पछि खडको भएको कुरा निकालेको याद आउँछ । कर्मको लेखा नै यस्तो रहेछ कि ? आधाउधि ग्रहदशामा बिश्वास पलाउछ । यसअघि थलिएका क्षणहरुको मेसो मिलाउछु । हो कि क्या हो? ज्योतिषका भनाई करिब करिब ठिक देखन्छन । १९/२० बर्षको हुदा पनि यसैगरि ज्वरोले थलिएको र कपाल सबै खुइलिएको थियो । डडेल्धुरामा नयाँ नयाँ नौकरी थियो ।  डेढ दिन पुरै हिडेर बल्ल घर पुगे । घरमा बाबाले धम्यौलाँइ ( धामीहरुलाई सोध्ने सामुहिक विशेष अनुष्ठान ) गर्दा कता कताको देबदोष र पितृदोषका प्रसंग निकालिएका थिए । उचाइन( देवतालाइ धरौटि जस्तै रकम ) छुट्याउदा पनि म्यादिज्वरोले छुट दिएन । जेहोस एक महिनाको धम्यौलाइ- बगौलाइ  र धरेलु औषधिको संयुक्त प्रयासले निदानत: म बाँचे ।  यसरी यसबारको जिन्दगीमा होश आएपछि मृत्युसंग पहिलो साक्षात्कार गरेको थिए ।
      यसपटक पनि साबिककै घरमा एक  साँझ ज्वरो आयो । भाइरल होला भनेर अर्को  एक दिन कुरे । अँह, बढि पो भयो । २ घन्टा हिडेर देहिमान्डौ  पुगे । रात्रिबसबाट महेन्द्रनगर आइयो । डाक्टरलाइ देखाइ २ दिन अरु कुरे । तर ज्वरो बीसबाट उनाइस भएन । छोरा कैलाशले काठमाण्डौको प्लेनटिकटसहितको ब्यबस्थापन गरिदिदा राजधानीको सुमेरु अस्पतालमा लगतै भर्ना हुन पुगियो । दिउँसो  आउने मानिसहरू  देख्दा मलाई लाग्यो यिनीहरूले मलाई अन्तिम विदाई गर्दैछन्। मानिसहरूको कल्याङमल्याङ छउन्जेल केही पीडा पनि कम भएझैँ लाग्थ्यो। दिनभरी जसो मान्छेहरू भै रहन्थे। तर म धेरै गलिरहेको थिएँ। मानिसहरू जब भेटन आउँथे, एक किसिमको खुसी लाग्थ्यो।  जब उनीहरू जान्थे, तब मन त्यति अमिलो हुन्थ्यो कि भक्कानो नै फुट्थ्यो। मैले चाहेका आफन्तहरूसँग फेरि भेट हुँदैन, म मर्छु भन्ने भावना मभित्र छिर्थ्यो र मनमनै रून्थेँ। फोनमा श्रीमती पनि अक्क न बक्क पर्थी र रून थाल्थी।  धेरैले सोधे पनि के बिरामी भनेर  न हामी कुनै बिमारी बिशेषको नाम दिन सक्थ्यौ । न सबै सम्झाउन आउथ्यो । मोटामोटी बिबरण दिएर टा-यौ ।
      दिमागमा अचानक अनौठा विचारहरूको होडबाजी नै चलेको छ। जीवन र मृत्युका असङ्ख्य विवादहरू मेरा दिमागमा खेलीरहेका छन्। एक-दुई पल्ट त आकाशमा उडेझैँ पनि लागेको छ। किन यस्तो भैराखेको छ, हिजो र आजमै मैले यतिविघ्न किन सोच्नु पर्ने। भ्रम पनि त हैन। आफ्ना वरिपरिका मानिसहरू हेर्छु सबै आफ्नै काममा व्यस्त छन्। अस्पतालको भीडमा लागेका मानिसहरू हेर्छु, र कल्पना गर्छु हरेकका बिरामी बेग्लै होलान्, दुःख र व्यथा बेग्लै होलान्। मैजस्ता आत्तिन लागेका होलान् कति ? मलाई लाग्छ मानिसहरू आफ्ना व्यथा लुकाउन खप्पिस छन्। एक से एक कलाकारहरू हुन् यी मानिसहरू...। लाग्छ यो संसारै एउटा रङ्गमञ्च हो। म पनि जिन्दगीको यो खेपमा कुनै अप्रत्यासित घटना कुरिरहेको पात्र जस्तै नित्य नयाँ भुमिकामा अभिनय गर्दोछु ।
         अस्पतालको पहिलो दिन यतिकै अलमलमा जान्छ ।  ज्वरो ओराल्ने उपक्रममा भिन्न भिन्न बान्की र बानिका नर्सहरु लागिरहन्छन । साँझ इमर्जेन्सीमा भर्ना भएपछि डा. पारस कार्कीले सोध्नु भयो - "कति भयो यस्तो भएको ?"
"सर, अहिले त करिब दुई साता  भयो, तर  म १५ बर्षदेखि रक्तचापको बिमारि हुँ । तीन बर्ष भयो, चिनी रोग देखिएको । ..."

".... ल तुरून्त छातीको एक्सरे गराएर ल्याउनु त। रगत, दिशा पिसाबको पनि परिक्षण गर्नु पर्छ । इसीजी इको पनि लेखिदिएकोछु । यो दुई कोणबाट गराउनु। तल भएन भने इमर्जेन्सीमा गराउँदा पनि हुन्छ।"
       डाक्टरको भनाइ सुनेपछि भने मलाई भित्र कतै चिसो पस्यो। ला.., ढिला पो गरिएछ कि क्याहो ? भन्ने लाग्यो। छोराहरुसँग छिटोछिटो रेडियोलोजी विभागतिर दौडिएँ।  पूर्जा दिएपछि पनि एकछिन पर्खिन भने र माहिलो छोरा एक्सरे शुल्क तिर्नतिर लाग्यो । मलाई निकै बेचैनी भइरहेको थियो। किन डाक्टरले यति हतार गरे ? साँच्चिकै निकै गम्भीर बिरामी लागेको छ कि क्या हो ? त्यत्तिकै अत्तालिने त मेरो बानी छैन तर आज म निकै विचलित छु। छातीको भारीपन घटेको पनि त छैन। बल्लबल्ल बस्न पाएको ठाउँमा बसेर एक्सरे गर्न आउने जाने मानिसहरूलाई नियाल्न थाल्छु। एकछिन पछि पालो आयो र झोलापोका कान्छोलाइ  जिम्मा लगाएर छिरेँ एक्स रे कोठाभित्र।
       एक्सरे रिपोर्ट लिन आधाघण्टा फेरि कुर्नुपर्ने भय़ो। कुरे
        रिपोर्ट हेरेपछि डाक्टर अचानक गम्भीर भए। उनले पहिले मेरो अनुहार हेरे। त्यसपछि छोराहरुको अनुहार हेरे। भने - "हेर्नुहोस्..छातीमा दाग देखिएको छ। किडनीमा पनि समस्या छ । अहिले मैले यहाँ केही भन्न सक्ने स्थिति छैन। एकपल्ट युरोलोजिष्ट र कार्डियोलोजिष्टसंग पनि सल्लाह लिनुपर्छ । नेफ्रोलोजिष्टको पनि समय मिलाउनु पर्ला ।  त्यस्तो आत्तिइहाल्नु पर्ने छैन। हामीहरु ठीक गर्छौ ।"
      मेरा हात खुट्टाहरू निदाए, कुनै संवेदना रहेन तिनमा। खै कतिबेला त्यहाँबाट बेडमा पु-याइयो, केही खाइयो कि खाइएन, निदाएँ निदाइँन त्यो पनि थाहा भएन। थाहा भयो त एउटै कुरा - मलाई ज्वरो आएकोछ,  खोकी लागिरहेको छ र छाती हिजोभन्दा दोब्बर गह्रौँ भएको छ। छातीसितै मन पनि तौलिन मन लाग्यो। मन पनि त्यत्तिकै उचाली नसक्नु गह्रौँ भएको रहेछ।
        एकहप्ता सम्म रून्चे बालकझैँ भएको छु र मेरा "आलाकाँचा" छोराहरु मेरो अभिभावक बनेकाछन्  । उसले जे भन्यो म त्यही मानिरहेको छु। कहिलेकाहि  त टेरपुच्छरै नगरौ जस्तो पनि लाग्यो । सोच्थे- मैले जिद्दी कसेर मेरो आयु बढ्ने छैन। फेरि बाँचिरहने रहर पनि त पुगेकै थिएन। मैले देखेकोछु , मानिसहरू साह्रै सिकिस्त भएपछि मात्रै  अस्पताल पुग्छन्  र फर्कि आएपछि त्यति बाँच्दैनन्। मेरो पनि त नियति त्यही नै होला। तर मेरा त थुप्रै योजनाहरू बाँकी नै छन्। साउनको यो महिनामा मनभित्र पनि झरी दर्किरहेकै हुन्छ । म लुरुलुरु नर्सहरुका निर्देसन पालनमा लागिरहेकोछु  निदानत: एकदिन भावविहीन जस्तो लाग्ने चिकित्सक टोलीले  गम्भीर भएर भने - " हेर्नुहोस् तपाईँको समस्यालाइ लिएर हामिले थुप्रै परिक्षण ग-र्यौ । स्क्रब टाइफस र कल्चरटेष्टका लागि राष्ट्रिय प्रयोगशालाबाट पनि रिपोर्ट लियौ । पिशाबमा इनफेक्सन भएको र प्रोष्टेड बढेको हाम्रो प्रारंभिक अनुमान अनुसार औषधि दिदैछौ । डराउनु पर्दैन। औषधि गरेपछि जाति हुन्छ। इन्जेक्सनबाट मात्र दिन सकिने औषधि भएकोले ५ दिनसम्म यतै राखेकाहौ  । अब दुई महिनालाई दवाई दिदैछौ । दुई महिनापछि फेरि आउनुहोला।"
      डाक्टरको भनाइ सुनेपछि बाहिरको साउने झरीले भिजाए जसरी भित्र कतै भिज्यो। औषधि गराइको शारीरिक पीडा त छँदैछ, आर्थिक भार कति थपिने हो, थाहा छैन। फेरि यस्तो बिरामीको के भर र, ज्यान अब सिद्धिएकै हो कि भने पनि लाग्न थाल्यो। छालाभित्रका अङ्गहरूले कतिबेला काम गर्न छोड्छन् थाहै नहुने। ऊफ...। अरूको अनुहार अझै भावविहीन छ। सबै कागजपत्र बोकेर बाहिर निस्किँदा बेतमासको झरी परिरहेको थियो । लाग्यो, जिउने उपक्रममा एउटा अध्याय सकियो ।
        जिन्दगी कस्तो असजिलो। हिजोअस्तिसम्म सामान्य थिएँ। लाग्थ्यो केही भएकै छैन। तर अब लाग्छ जिन्दगीले पूरै कोल्टे फेरेको छ। कुनै कुरा सीधा छैन। छातीभित्रको गह्रौँ भारी अब मन र मस्तिष्कतिर छिर्न थालीसक्यो। म गल्न थाली सकेँ। मनभित्र विचित्रको बेचैनीले मलाई शान्त हुन दिइरहेको थिएन। येनकन घर पुगेपछि पाँच बर्षे नातिनीले मेरो छेउमा आयो र सोध्यो - "बाबा, कस्तो छ हजुरलाई ? के भन्यो डाक्टरले ?"
       म के भनौँ, के भनौ भयो । सोझो जबाफ दिए- " रुघाखोकि लागेको रे ।केही छैन त्यस्तो।  बूढो मान्छे भएकाले अलिक धेरै समय औषधि खानु पर्छ । " उ प्रफुल्ल भएर नाना थरि थप सपष्टिकरण माग्न थाली । मलाई भने फेरि जिन्दगीमा थप केही पाना जोडिए जस्तो हुदैछ । फेरि जिन्दगी हरियो होला कि भन्ने आश पलाएकोछ ।
       डाक्टरका कागज पत्रहरूबाट केही चाल पाइन्छ कि भनी  फुर्सदले हेर्न थालेँ। उहिले नेपालगंज देखि कै कागज पत्रहरू हेर्दै गएँ। डाक्टरी भाषा सबै बुझ्ने कुरा त भएन तर कतै रोगको नाम, प्रकार र विभिन्न परीक्षणहरू बुझ्न सकिने खालका थिए। एक्स रे, सिटि स्क्यान, एसिडिसि आदिजस्ता शब्दावलीको अर्थ त बुझ्न सकिन्थ्यो  । भित्री पन्नामा कतै लेखेर अन्डरलाइन गरिएको देखेपछि मन खङ्ग्रङ्ग हुन्थ्यो ।  जिन्दगीको अन्त्य यिनै किरिङमिरिङु कोरिएका डाक्टरी अक्षर जस्तो अबूझ पहेली पो रहेछ। बीच बीचका शब्द टिपेर रोगको प्रकृति बुझने कोशीशमा रहन्छु ।  म अब केही दिनको पाहुना मात्र हुने भए भनेर दिक्क पनि लाग्छ ।
       घरमा आएपछि अलि सञ्चो भएजस्तो भयो । र मज्जैसंग सुस्ताए । कता कता सपनामा सास फेर्न धेरै असजिलो भएझैँ लाग्यो।  वरिपरि डाँको छोडेर रोइरहेका  छन् जस्तो लाग्यो । देख्छु, छेउमै डाक्टरहरू उभिएका छन्।  सेतो कपडा ओडाएछन्। ए.... म त मरि पो सकेँछु । म मेरो शरीरबाट निस्किएँ। अब म एउटा जीवात्मा। फगत एक जीवात्मा। हलुङ्गो भइन्छ । " जो लोग रातदिन, मेरे मरने को करते थे दुआ । वहि रो रहेथे, जनाजे को कन्धा देकर " । गालिब महोदयको यो गजलले भने जस्तै गरेर मलामी कुदिरहेका देखेर  म चुपचाप मुस्कुराउछु । निन्द्रा खुल्छ। छ्याङगै उज्यालोमा अर्को सुर्य उदाइसकेको रहेछ ।

No comments:

Post a Comment