Sunday, September 17, 2017

अस्पतालमा एक दिन

अस्पतालको एक दिन
=============
डाक्टरको कोठा बाहिर हामी समेत ८/१० जनाको भयभित जस्तो लाग्ने  शान्तसमूह बेन्चहरु ओगटेर बसेकोछ । दुइजना अरु थपिन आए । छोटो कदकी महिला र उहिले स्वस्थहुदा गठीलो जिउडालको लाग्ने बर्तमानमा दुब्लो देखिएको पुरुष पात्र । दुबै जनाको उमेरले नेटो काटिसकेको बुझिन्थ्यो । दुबैले बेन्चको खाली ठाउँ ओगटेपछि महिलाले कुरा गर्न शुरु गरिन् ।
" के डाक्टर अहिलेसम्म आएका छैनन् र?"
" छैनन्।" लगभग सामुहिक स्वरमा जवाफ आयो ।
ती महिला कुराकानीको मुडमा थिइन । तर त्यहाँको समुहमा कसैले पनि खासै चासो देखाएनन् । उनी आफै फतफताउन थालिन ।
" ढिलो होला जस्तो छ । … हाम्रो भाग्यमै पर्खनु पर्ने लेख्या रै,छ ।… आज पनि कुरी बसौ, है न त? "
कसै कसैले अनुहारमा प्रतिकृया देखाए पनि बार्तालापमा कोहि सामेल भएनन् ।
सायद म जस्तै अरुलाइ पनि उन्को कुरामा रुचि थिएन । नाकमा अस्पतालको औषधीय गन्ध भरिएको थियो । कोरिडोरमा केही मानिस हिडीरहेका आवाजको सिलसिला जारी थियो । .. केही असपष्ट स्वरहरु । केही सुस्केरा र रुवाइहरु .. मनभरि गर्हुङ्गो थप्दै थिए ।
" हँ.." महिलाको पुरुष मित्रले केही सोधेको अर्थमा अपेक्षाकृत ठूलो स्वर निकाल्यो ।
" डाक्टर साप आएजस्तो छ । मैले उनको मोटरको आवाज सुने " महिलाले पनि ठुलै स्वरमा भनिन् ।
" हँ .." पुरुषले आफनो एक हात आफनै कानसम्म पु-याएर साउतिको शरीर-संकेत गरि ठुलै स्वरमा सोध्यो ।
सायद पुरुष कान कम सुन्थे । उन्को भंगीमाले यो बताइसकेको थियो ।
" यिनले केही सुन्दैनन् ।" महिला अरुलाइ बताउन थालिन् । उनको स्बरमा यो खबर सुनाउन सकेकोमा एक किसिमको जोस थपिएको थियो ।
" यिनको एक कान त बिल्कुलै खराब छ ।…. तर हामी कानको उपचारका लागि आएका हैनौ ।  वहाँको खुट्टामा पनि खराबी छ । बिजुलीको सेकाइ दिनु पर्छ ।" महिला पुर्बबत बेलिबिस्तार लाउदै थिइन् ।
" बिजुलीको सेक?" म अनायासै सोध्न पुगे ।
" अँ भन्या… । मलाइ पनि मेरो खुट्टा सेक्नु पर्नेछ। यो सेकाइ खासै गारो छैन । " उ त खुशी भएर बात मार्न थाली ।
" के तपाइको खुट्टा पनि खराब छ र ? बिरामी जस्तो त लाग्नु भएको छैन नि । " म सोध्दछु ।सायद उनलाइ मेरो कुरा मन परेन ।  मुख बिगारेर भन्न थालिन्  ।
" सायद मेरो खुट्टाको पीडा कहिल्यै कम हुनेवाला छैन ।  तीन बर्षदेखि परेशान छु । "
" उपचार भए किन ठिक हुदैन ? ठिक हुन समय लाग्छ । " कसैले सल्लाह दियो ।
" मेरो शरीर रोगको घर भैसक्यो । क्यै पनि ठिक हुनेवाला छैन । ब्डप्रेसर, सुगर थायराइड, प्रोष्टेड…." उनी भन्दै थिइन र रोगको गिन्ती पनि जारी थियो । उनको पुरुष मित्रको यो बेलिबिस्तारमा कुनै चासो थिएन । म कुराभन्दा पनि प्रौढप्रति आकर्षित हुँदै उनलाइ नियाल्न थाल्छु । उ त महिलाको नजरबाट बच्दै आँखा झिम्क्याउछ र अजीब किसिमले मुस्कुराउछ । रोगी मानिस यसरी हाँस्न सक्दैन । म असमन्जसमा पर्छु ।
यतिकैमा ढोका खुल्छ । वार्डब्वाइ पो हो कि भनेर सबैले त्यतै नजर लाए । तर अँह, अर्को एक मानिस थपिन्छ । खाली बेन्चमा सुस्ताउदै उ लामो सास फेर्छ । मलिनो अनुहार भएको त्यो थकित मोटो मानिसको एउटा हातले आफनै छाति मुसारिरहेकोछ ।
" बाप रे…. बाहिर त धेरै चिसो छ ।" उ मुखबाट सिगरेटको धुवाजस्तै बाफ निकाल्छ । प्रतिक्षारत समूह चुपचाप छ । बोलक्कड महिला एकटक लगाएर नवगन्तुकलाइ हेरीरहन्छिन  । मोटे रोगी आफनो भनाइ प्रमाणित गरेजस्तो काँधको गलबन्दीलाइ टाउकोमा बाध्दछ र कान ढोक्छ ।
" त्यति जाडो छ र ? हामी दुब्लापात्ला मानिसलाई समेत खासै चिसो महसूस भएको छैन । झन मोटा मानिसलाइ त के पो होला र? खै! " ती बाचाल प्रौढा स्वभावबश अस्वाभाबिक स्वरमै बोल्छिन । मोटे प्रौढ यो अशिष्ट टिप्पणिबाट अप्रभाबित नै रहन्छ । उ समुहप्रति सम्बोधन गर्दै र सहमति जनाउदै आफनो भनाई राख्छ ।
" यो बोसो थपिदै जानु त रोगै हो । चिसो जसलाइ पनि लाग्छ ।…  के डाक्टर आएका छैनन् ? "
कोहि पनि एकीन बताउन सक्ने अबस्थामा थिएनन् ।
तर फतौरी महिला चुप बस्न सकिनन् ।
" डाक्टरले पहिला भर्ना गरिएका बिरामीहरुलाइ हेर्छन् । त्यसपछि मात्र यता ओपिडीको पालो आउँछ । राउण्डमा होलान अहिले… "
हामी बसिरहेको बरंडामा उदास वातावरण छ । मोटे मानिसलाई श्वास फेर्न समस्या थपिए जस्तो छ । उ लामो लामो सास फेर्दैछ । सबै मानिस कुनै अज्ञात आसंकाले संत्रस्त छन् । अचानक वार्डब्वाइ ढोका पुरै उघारेर कोठामा प्रबेश गर्छ । आआफनो पुर्जा लिएर मानिस खडा हुन्छन । तर उ पुर्जा लिदैन, बरु कति जना रोगी छन भनेर गिन्ति गर्न थाल्छ । र लगतै ढोका खुलै छोडेर बाहिर निस्कन्छ । बाहिरको चिसो स्याँठ कोठामा भित्रिन्छ ।
" डाक्टरले धेरै मान्छे जम्मा छन कि भनेर बुझ्न पठाएको रै,छ । " उनै बोलक्कड महिलाले जानकारी पस्किन्छिन । सब जना पूर्बबत चुपचाप छन् । मोटो चश्मा लगाएको दायाँ खुट्टा बाधेको थप एक जना प्रौढ फेरि थपिन्छन् । मेरै छेउमा बसेर खुट्टा तन्काउन खोज्छन ।
म उनकालागी थपस्थान खाली गरिदिन अलि पर सरिदिन्छु ।
" आरामले वस्नोस । म त यहि खुट्टा बोकेर हिडन अभ्यस्त भैसकेकोछु । " । त्यो अभागी मानिस स्वयम् नै ढल्केर आरामसंग पसारिन्छ । म उसको बारेमा मनोगत अनुमान लगाउछु । एकैछिनमा उसप्रतिको रुचि पनि सकिन्छ । उ भने आँखा चिम्लेर तिघ्रा थपथपाउदै ओठ चलाउन थाल्छ र कुनै गोप्य मन्त्रोच्चारण गरेजस्तो लाग्छ ।
साँच्चै उसको यो उपक्रमसंगै बाताबरणमा एक किसिमको सुनसानपन छाउछ । सबै जना आआफ्नै बेदना र कथा-ब्यथामा हराएका जस्ता देखिन्छन । बाहिरको हुस्सु झनझन गहिरो हुदैछ । हाता किनारका अशोकबृक्ष झन झन शोकमग्न देखिन्छन । कोठाको रोशनदानमा यौटो भङ्गेरो जाडोले लुक्न खोज्दैछ । सेता पुतलीजस्ता आधा दर्जन नर्स कोरीडोर कभर गरेर हिडदैछन् । तिनीहरुलाई अर्थ्याउन नपाउदै घुँडासम्मको सेतो एप्रोन लगाएका एक जोडा डाक्टर हतार हतार त्यतै तिर लागे ।
" ओ हो, फेरि खतरनाक अपरेशनतिर पो लागे डाक्टरहरु त ।" फेरि उनै महिलाले मौन तोडिन । पछिल्लो पटक आएको खुट्टा मुसारि रहने मानिस पनि दिक्दारिए जस्तो छ । पुन: ती महिला यो निस्सासिदो वातावरण सहन गर्न सक्दिनन् क्या रे । बोल्न थालिहालिन् ।
" जे भए पनि अपरेशनमा त्यति दुख्दो रहेनछ । मेरो त तीन चार अपरेशन भैसक्यो ।……"
बोल्दाबोल्दै उ स्वगत सम्बाद बखानी रहन्छे । कसैलाई त्यो प्रति सरोकार छैन । अस्पतालको ढोका नजिक एउटा एम्बुलेन्स आएर रोकिएको देखिन्छ । मलाइ यसरी बसिरहन उच्चाट लाग्छ । र कोरिडोरतिर निक्लिन्छु ।
स्ट्रेचरमा गुडाएर कनै बयस्क महिलालाइ लगिदैछ । गर्दनदेखि खुट्टासम्म नीलो कपडाले ढाकिएकोछ । भित्र पसेका रहस्यमय आँखाहरुमा कुनै चमक छैन । केही क्षणको लागि मेरो आँखाको चारैतिर अँध्यारो किरमिर भए जस्तो लाग्छ । लाग्छ, जिबनका सबै चिन्ह हराउदैछन । सारा अावाज सकिदैछन । मलाइ कतै भागु जस्तो हुन्छ ।
कोठामा भेटिएकी ती बाठी महिला पनि बाहिर निक्लेकी रहिछन । उनी मसंग बोल्न खोजेजस्तो छ । उनले भनिन् ।
" डाक्टर आइ सके । पुर्जा लिने मानिस पनि आउँछ होला । पुर्जा दिन जानोस्न । "
म कोठामा फर्किन्छु । सबै बेन्च भरिएकाछन । मेरो पुरानो स्थानमा कोहि बसिसकेछ । म उभिएरै चिसा हात खल्तीमा छिराउछु । उहीँ पुरानै वार्ड ब्वाइ पनि कोठाको दैलो ओगटेर उभिन्छ । मैले पुर्जा दिन खोज्छु । उ भन्छ ।
" पहिला डाक्टरले जरुरी काम सक्छन । त्यसपछि मात्र म पुर्जि लिन शुरु गर्छु । "
" म उभिन सक्दिन । पुर्जा जम्मा गरि दिनोस्न । "
म जिद्दी बालकले जस्तो गर्छु। उ चुपचाप पुर्जा एकठ्ठा गर्न थाल्छ ।
यसै भिडभाडमा एक महिला  पन्द्र सोल बर्षकी छोरी(?) सहित कोठामा प्रबेश गर्छिन । उनको फुर्तिफार्ति हेर्दा ती कुनै बिमार भएको जस्तो लाग्दैन ।
उहीँ मलाइ पुर्जा बुझाउन भित्र पठाउने महिला पनि त्यसै भिडमा पुगीसकेकी रहिछन् । उनी पछि आएकि  आमाछोरीप्रति लक्षित बनेर भनिरहेकी हुन्छिन ।
" डाक्टरले सबभन्दा पहिले त्यसै मोटेलाइ बोलाउने होला ।…….। अँ , तिम्रो छोरीलाइ कस्तो छ अहिले ।"
" केही राम्रो भएकोछ । इलाज चलेकैछ । "
" अब कतिसम्म … ? ।"
" करिब एक महिना अरु भन्छन ।"
" एक महिना! "
अतिबक्ता महिला कुनै नयाँ उपकथा ( इपिसोड ) सोच्न थालिन क्या रे । मोटो मानिस ज-याकजुरुक गर्दै उठेर टहल्न थाल्यो । उसको मुखाकृति देखेर म झस्किन्छु । अनुहारमा भय ब्याप्त छ र अनुहार नीलो भैसकेकोछ । फटाफट उ बाहिर निक्लिन्छ । त्यहि गतिमा उ कतै ओझेल हुन्छ ।
" गयो, हैन! यस्तै हो त्यो । " उहीँ बकबके महिला बोल्न थाल्छिन् । " त्यसलाइ आफनो रोगसंग लगाव भैसक्यो । डाक्टर एक्लै नहिडनु भन्छन । तर उ सँधै हिडेरै यहाँ आउँछ र यसैगरि केहिबेर बसेर हिडेरै फर्किन्छ  । उ एक किसिमको मनोरोगी भैसक्यो । "
उनी लामो श्वास लिएर फेरि थप्छिन-" म पनि हरेक दिन त्यसैको बारेमा सोच्दै यहाँसम्म आउछु । उ न आएसम्म छटपटि भै रहन्छ । भोलि त्यो आउँछ कि आउदैन , भन्न सकिँदैन । "
अब ती महिलालाई यहाँ पर्खिनमा दिक्दार लागे जस्तोछ । उनी साथको श्रवणसुस्त प्रौढलाई इशारा गर्छिन र लगत्तै दुबैजना पुरानै लयमा कोठा बाहिर निकलन्छन । म पनि कोरिडोरतिर निकलन्छु । स्ट्रेचरमा लगिएकी महिलाका टकटकी लगाएका आँखा सम्झिन्छु । आफनै अनुहारभरि माकुराको जालो लागेजस्तो असजिलो हुन्छ । बेचैन भएर बाहिरको बरण्डासम्म पुग्छु । अस्पतालहाता बाहिरको रेलिङ्गभन्दा पर सडकमा जिन्दगीको अर्कै होहल्ला छ । त्यो गतिमान दृश्यको प्रवाह रमाइलो लाग्छ । त्यसभन्दा पर भने हलुको हुँदै गएको हुस्सुका कारण कहि पनि सपष्ट हुनसक्दैन । तर मलाइ लाग्छ, त्यहाँ पनि जिबनको अर्को कुनै कोलाज कुनै अर्को लयमा नाँचीरहेकोछ, हाँसीरहेकोछ ।

No comments:

Post a Comment