Tuesday, September 19, 2017

बर्बाद मेरो भयो


( यो कविता कनकधारा स्वामी स्वदेशानन्दज्युको फेेसबुक टाइमलाइनबाट साभार गरिएकोछ ।  )
बर्बाद मेरो भयो..... (शार्दूलविक्रीडित)
............................................

आफू बस्छ हिमालका नजिकको स्वर्गीय उद्यानमा,
धाई सद्गुरु खोज्न पुग्छ जहिल्यै पापीष्टको गाउँमा।
आफ्ना देव समान शैल चुचुरा पुज्दैन कैल्यै पनि
फोहोरी अरुकै जलाश्रयहरू ढोग्दैछ जैले पनि।।०१।।

च्याभ्रुङ्,मादल,डम्फु ओसिनगए रुन्छन् शनै धुर्धुऱु,
मर्चुङ्गा अब को बजाउँछ यहाँ मर्छन् बिनायोहरू।
हामीमाथि विभिन्न शत्रु दलले पार्दैछ फाटो कति,
आफ्नो संस्कृति बेच्न जान्छ अरुको खुट्टाहरूमा परी।।०२।।

आफ्नो मानिसमाथि छैन जनको विश्वास थोरै पनि,
अर्काकै चतुरे कुरातिर परी जाँदैछ जैले पनि।
आफ्ना कञ्चन रूप शुद्ध जलमा राख्दैन आस्था रति,
पायो खान भने झर्‍यो तलतलै गर्दैन आत्मोन्नति।।०३।।

आफू देव समान सृष्टि शिवको पार्वत्यको सन्तति,
छोरी दिन्छ अतीव नीच कुलमा सोद्धैन एकै रति।
जन्माईकन वर्णसंकरहरू भर्दैछ पाखाभरि
आफू बस्छ लुकेर गाउँ घरमा अर्कै छ बाटाभरि।।०४।।

किन्ने काम सगर्व गर्छ जहिल्यै लज्जा नमानीकन,
अर्को बेच्छ सधैं भईकन खुशी झर्को नमानीकन।
आफैं मालिक हो तथापि अरुको गर्दैछ हा चाकरी,
पुर्खाको गरिमा घटाउनगयो सन्तान ऐलेघरी।।०५।

अर्काकै हित निम्ति बोल्दछ सधैं बाठो भई गाउँमा,
अर्कै मालिक छन् विभिन्न थरिका नेपथ्यमा मञ्चमा।
ठूला हुन् गुरु विश्व विश्वभरिकै हुन् भाग्यदाता हरि,
पाएँ ढोग्न भनेर हर्षित भयो हाँ जी र हूँ जी गरी।।०६।।

को पूज्ला अब यी किराँत कुलको याक्वा तथा मुन्धुम,
साकेला अब को मनाउँछ यहाँ अर्कै छ धर्मोद्यम।
मस्टो मर्नगए विभिन्नथरिका जाली कुरामा परी,
मेरो यो पहिचान मर्छ सजिलै बाँच्दैन होला हरि।।०७।

खेल्दैनन् अब देउसी घरघरै होली सबै दल्दछन्,
आफ्ना तीज दशैं तिहार घटिया भन्नेहरू मिल्दछन्।
अर्कै संस्कृतिमा रमाइरहने सन्तान मेरो भयो,
अर्काकै जहिल्यै गरीकन जदौ बर्बाद मेरो भयो।।०८।।

............ ......................... .
विनीत-
कनकधारा स्वामी स्वदेशानन्द,
पश्चिम कामाख्या, पाण्डु, गुवाहाटी, असम
मितिः १८ सितम्बर २०१७
समयः रात्री ०८ बजेर १५ मिनेट जाँदा।

No comments:

Post a Comment