Tuesday, September 19, 2017

एकादेशमा गाउँका कुरागर्दा

एकादेशमा गाउँका कुरागर्दा …..


=====((((((======

नेताहरुले नगर्नु गरे, गर्नु पर्ने गरेनन् र देश विग्रियो भन्ने बहस  ऊ चुपचाप सुनिरहेको थियो । उसलाई भने देश किन विग्रियो ? थाहा थिएन, कसरी विग्रियो भन्ने पनि थाहा थिएन । खासमा देश भनेको के हो त्यो नै पनि सपष्ट थिएन । तर सबै जना चिन्तित देखेर उसलाइ देशमा कहि न कहि गडबड भएको बिश्वास पर्छ । त्यस पछि केहि त भनौ भनौ जस्तो लाग्यो र उ पनि बिचार राख्न थाल्यो  – ‘देश विग्रियो भने पनि हाम्रो लागि के छ त ? हामी आफ्नै गाउँ न जानुपर्छ । देशमा त हाम्रो को छ र? हामीले किन चिन्ता गर्नु देशको ?’
त्यसपछि पानीको बोतल तान्यो र भन्यो –
"अबेर भयो अब सुतौं । भोलि बिहानै काममा जानुछ ।"
तर कोही पनि जन्मभुमीका पुराना सम्झना सुन्न र सुनाउने मौका छाडन चाहदैनथे । सबै साथीहरूले आआफना कथा ब्यथा सुनाउदै गर्दा  उसले पनि आफनो गाउँका कुरा झिक्यो । आमाबुबा बुढाबुढी हुँदै गएको, रोगी भएको प्रसङ्ग ल्यायो । यसरी कुरा गरिरहँदा झन्डै रोए जस्तो भयो ऊ। आमाबुबालाई भेट्न मन लागेको कुरा गर्‍यो । यो बिरानो शहरमा कतिन्जेल बस्नु भनेर छट्पटी देखायो । लामो सास तान्यो र कोठामा यताउती घुमिरह्यो । उसले कुराकानीको सिलसिलामा आजसम्म साथीहरूलाई कहिल्यै नभनेको एउटी संग बसेको प्रेमकथा पनि उप्कायो । यस्ता कथाहरुको क्रम राति अबेरसम्म चल्यो ।
---
अबेर गरि बिछ्यौनामा गए पछि आज पटक्कै निन्द्रा आएन । रातभरि ऊ सिन्दुरे डाडातिर घुम्दाफिर्दाका रमाइला क्षणमा अलमलिइ रह्यो । गोजीबाट भुटेका भटमास झिकेर एकमुठी एउटी किशोरी कन्याको हातमा हालिदिएको सम्झियो र मुस्कुरायो । त्यसपछि एक वर्ष अघि नै ती कन्याको बिहे कसैसँग भएको खबर गाउँकै मल्लागाउँको भाइले भनेको कुराले मन अमिल्यायो   । यति हुदासम्म त गला अबरूद्द भएको थियो । जे भए पनि  एक मनले आफनी ती मायालुको  घरपरीवार हेेर्न सारै रहर लागेर आउँथ्यो । तर कसरी ? ऊ यही आएर रोकिन्थ्यो । अकमक्क हुन्थ्यो । यसरी दोस्रो दिनको एकाबिहानै उ उनिदै काममा जानुपर्ने भयो।
साँझ साथीहरूले फेरि आआफना गाउँघरका सम्झना उप्काएपछि उसले एक्कासि बरर आँसु झाँर्यो र भन्यो – वास्तवमा मलाइ माया गर्छु भन्ने मोरीको त बिहे भएछ ! पगलीले छोरो पनि जन्माएकी छ रे ! मलाई एक कल फोन पनि नगरी बिहे गरीछ । अब त त्यसलाई  मेरो सम्झना पनि आउँदैन होला है ।  "
यसपछि ऊ नमिठोसँग मुस्कुरायो र भन्यो - " खासमा मलाई गाउँ जान पनि मन  छैन अब  त? किन जानु गाउँ ? बृद्द बाआमा बाहेक को छ र त्यहाँ मेरो ? के छ र त्यहाँ मेरो ? बस् , त्यही विरहलाग्दो सिन्दुरे डाडाको जंगल त हो नि ! "
यसै क्रममा एक दिन साँझको जमघटमा फेरि भन्यो –  " मेरो कथा त सकिदैछ भाइहरु! मनमिलेको मान्छे नपाइने भएपछि के देश के परदेश , के गाउँ के शहर । एउटी थिइ, त्यो गई हाली । अब त बाँच्ने रहर पनि सकिए जस्तो छ हौ।"
उसले एकचोटी सबैलाई हेरेर फेरि यस्तै कुरा दोह-यायो  र जुरुक्क उठेर चुपचाप डेरातिर लाग्यो ।  यसरी एकाएक देशको पीडा " एउटी " को बिहेमा आएर टुंगिएको थियो ।  त्यहाँ जमघट जारी थियो ।  सबैले देश विर्सिएर गाउँ सम्झिरहेका थिए । घर संझिरहेका थिए । गाउँघरबाट आएका आआफ्ना मायालुका अन्तिम कलहरू सम्झिरहेका थिए ।

No comments:

Post a Comment