Wednesday, September 20, 2017

नानीहरुलाइ सन्चै छ ?!

नानीहरुलाइ सन्चै छ ?!

-------------------------
कर्मचारीको लागि पनि आषाढ बेफुर्सतकै समय हुन्छ । झरीको बेसुरे झुनझुनसंगै चारैतिर झुम्मिएको कुहिरोले एकतमासको बोझिलोपन थपिदै गएकोछ । आकलझुक्कल झ्यालबाट देखिएका टुक्रे दृश्यहरुले उहिलेको , कता कताको झझल्को दिदैछन् । खुट्टा बाधिएका एक हूल खच्चरहरु खोच्याउदै नजिकैको चउरभरि चरिरहेकाछन् । केही आधुनिकाहरुको हिले सडकमाथिको साबधानीपुर्ण हिडाइ र छिल्लिएको हाँसोको संयोग हेर्न सुन्नलायक छ । लहरै उभिएका पथ-बृक्षहरु यस्तै परिदृश्यका साक्षी हुन क्या रे ।
यो एकलो बसाइ सारै बेसोमतिलो र बेरसिलो हुदोरहेछ । बासी अखवार आँखा अगाडि पस्किन्छु । मासिक राशीफल हेर्दा दशम राहु र चौथो केतु विशेष फलदायक रहने र बेला कुबेलाका यात्रा सम्झना रहिरहने खालका हुने गोचरदशा रहेछ । पट्यार लागेर समाचारपत्र पट्याउछु । बाताबरणमा बाक्लो कुहिरो थपिएकोछ । टाढा आँखा घुमाउदै पुराना यात्राका सम्झनामा भन्ज्याङ्गको उकालीभरि अलमलिन खोज्छु ।
सिमसिमे पानिमा रुखमुन्तिर निथ्रुक्रै भिजेको एउटा धमिलो छाया प्रष्टिदै आउछ । यदाकदा उसंग एक्लै घुम्दा बस्दा जिबनको अर्थबोध बिबिध रंगमा यसैगरि प्रष्टिने गर्दथ्यो । उसंग हिडदाको नागबेली बाटो छोट्टिएको जस्तो लाग्थ्यो । उसको छेउमा पुग्दा मेरो " म " कुन रुपमा अभिब्यक्त हुन्थ्यो, कुन्नि ? हामी एकार्कालाइ बुझे पनि आफैलाइ नबुझेका जस्ता हुन्थ्यौ ।
कागतिको अचारसंग रोटी टोक्दै एकदिन मैले सोधेको थिए ।
" हामीहरुको रसीलो रङ्गीन मन भएको भए अहिले के गरिरहेका हुन्थ्यौ? थाहा छ ? "
" अँ हँ " उसको छोटो उत्तर थियो , " मलाइ के मात्र थाहा छ भने तिमीजस्ता डुलुवाहरुसङ्ग रसीलो मन हुनै सक्दैन ।"
प्रसंग तनावतिर मोडियो । समय-शुन्य मौनतामाथि उसैले प्रहार गरि ।
" प्रेम गर्न र बदलालिनमा नारीहरु पुरुषभन्दा अगाडि हुन्छन भन्छन नि । "
" हो, नित्सेले पनि यस्तै भनेका थिए ।" मैले समर्थन मात्र गरे ।
यसरी बर्षातको बेफुर्सदी समय उबारेर हामीहरु बाटो भरि सुरुसुरु हिडीरह्यौ । हिलो र माटोमा पनि सुगन्ध हुँदोरहेछ । बाँज बज्राँठका सदाबहार हरीया जंगलमुनिका जुकाहरु र चिप्लो ओसीलो बन्यपथले बिथोलिनुपर्ने यात्रा पनि जिन्दगीभरि भुल्न नसकिने हुँदोरहेछ । ओ हो , मेरो पुरुष मनले बतासिदै जाँदा नितान्त ब्यक्तिगत क्षणका कथा कुथुङ्ग्रीहरु मनमनै परायालाइ पैचो दिन थालियो । परायालाइ आफन्तमानी सताउने ती समर्पित क्षणहरुमा उसको प्रारम्भिक स्वाभाविक सतर्कता पनि बिस्तारै थान्को लाग्न थाले । आँखाहरुले फ्रायडको मनोबाद पढदै गए , पिउदै गए । आषाढको सिमसिमे पानीले ओतलाग्दा पनि रुझाउन छाडेन ।
" निथ्रुकै पो हुनु भएछ त । " मेरो भिजेको कुमथलोमाथिको तातो हातको स्पर्श पिठ्यु मुसार्दै क्रमस: बाहिरियो ।
" तिम्रा लुगा पनि खतमै भएछन नि ।" मैले उसको सारीको सप्कोलाइ शालीनतापुर्बक समाते । तपाइबाट तिमीमा झरेको हाम्रो सम्बोधन झनझन आत्मीय भएर एक अर्कामा अल्झिदै गयो ।
समयलाइ पनि बाँध्न सकिन्छ भन्छन् । तर सिमित समयकालागि सुदूरप्रदेशमा खटिएको सरकारी कर्मचारीको यात्रावधि कति पो लम्ब्याउन सकिन्तय्यो र?  बिशाल कालखण्डसंग यस्ता क्षणहरुको अनुपात निकाल्नकालागि गणितको कुनै सुत्रले पनि काम गर्दैन ।
मेरो छेउमै हिडीरहेकी एक्ली नारी पात्रलाइ भुलेर म क्षितिजको हरियालीमा र बगरका बस्तीहरुतिर झकाउन थाल्दछु ।
" के सोच्दैछौ? " म फेरी बिथोलिए ।
" तिमीसङ्गको बसाइलाइ कसरी लम्ब्याउने हो भनेर…. ।" मैले नेटो काटे ।
" बसाइ हैन, हिडाइ मात्र……. । " उसको संशोधनमा मेरो चित्त बुझ्यो ।
हिडाइ रोकिनु भनेको गति शून्य हुनु हो । यो मलाइ मनपर्दैन । चरैवेति, चरैवेतिको आर्य आदर्शलाइ कुनै सीमानामा पनि बाँध्न सकिँदैन । यस्तै भुभुल्काहरुको अनन्त यात्राक्रम निरन्तर चलिरहन्छ । कुनै उदास क्षणमा मैले सोधेको थिए ।
" ज्ञानू! "
" हजूर ! "
" म सरुवा भएर गएपछि मलाइ कुन रुपमा सम्झिनेछौ? भन त ।"
"  धत् ……… ऽऽ ।"
अनायास आँखा रसाए । लल्याक लुलुक भएर उ मसङ्ग  ओतलाग्न आइपुगी । पर कतै आँखा घुमाउदै मैले उसको भिजेको लामो कपाल सुम्सुम्याइ दिए । त्यो क्षण तीतो थियो कि मीठो ? ख्वै … ।
अनायास फोनको घन्टी बज्छ । बाहिर पानी दर्केकोछ । मेरो निबाश स्थान कुहिरोमा कैद भएछ ।
श्रीमतीले फोन गरेकी रहिछन् । सँधैजस्तो मेरो सोधाइ शुरु हुन्छ ।
" हेलो, नानीहरुलाइ सञ्चै छ ? "
---
(  ०५३ सालमा कर्मचारी मिलन केन्द्र सुर्खेतको बार्षिक मुखपत्र " सुर्खेत सुमन " मा प्रकाशीत कथा । )

। 

No comments:

Post a Comment