Monday, June 10, 2019

मैसापको सारी ( कबिता)

मैसापको सारी-

रचनाकार-रूपेश श्रेष्ठ
 (कविता सेतो पर्दा डटकमबाट साभार गरिएको हो । )
जब मैसाप नयाँ सारीमा झुल्किसिन्छ
चलिरहेका कुरा टक्क रोकिन्छन् र कताताबाट बतास चल्न थाल्छ
त्यस्तो बेला मैसापलाई हेर्दा यस्तो लाग्छ कि
बतास चलिरहोस र मैसापलाई गाह्रो परिरहोस सारी संहाल्न
त्यस्तो बेला सारी भरीको फूल मैसापको अनुहारमा सर्लक्कै सरेको हुन्छ
र मैसाप भरीको सुगन्ध नयाँ सारीमा सरेको हुन्छ ।
मैसाप सारीमा झुल्केको अर्को दिन
चलिरहेको बतास टक्क रोकिन्छ
र कता कताबाट कुरा चल्न थाल्छ
त्यस्तो बेला मैसापलाई हेर्दा यस्तो लाग्छ कि बतास र कुरा दुवै टक्क रोकिउन
मैसापलाई गाह्रो परिसकेको हुन्छ कुरा सम्हाल्न
त्यस्तो बेला मैसापको सुगन्धलाई अत्तरले छ्यप्पै छोपेको हुन्छ
मैसापको घाँटिको ठिक मुन्तिर हिज लगाएको सारीको रङ निलो डाम भएर डामिएको हुन्छ
र मैसापको अनुहार भरीको फूल साहेबको ओठ जस्तै चिथ्रा चिथ्रा परेको हुन्छ
सबैलाई थाहा छ नयाँ सारी लगाउँदा मैसापलाई साहेबले खुब मन पराइसिन्छ

No comments:

Post a Comment