Thursday, June 20, 2019

समर्पण तिमीलाई !



मेरो भ्रम समर्पण छ ,तिमीलाइ

हे महाराज ! हे इष्ट देब ! हे कुलदेवता!
यदाकदा  अन्तर्मनमा सुट्टुक्क आएर
जे भनेका थियौ, सहजै सकारे,
जे दिएका थियौ, सहर्ष स्विकारे ।
उकालोको अन्तिम उज्यालोमा
जीबनको त्यो गोधुली पारीको जोरजाममा
कुनै भारी बोक्नु छैन मलाइ,
पाउन सकिने सबै पाइसकेपछि
उधारो राखेर केही माग्नु छैन मलाइ ।
मात्र केही प्रश्न बाँकी छन नै
थोरै जिज्ञासा थाति छन ,
तिमी छौ र पो म पनि छु जस्तो
केही भ्रमहरु चिर्न बाँकी छन ।
यो धर्तिको विशाल परिधिमा
मैले बेहोरेको परीक्रमा पथमा
सँधै बाटो देखाइ रहने तिमीलाइ
फगत केही प्रश्न सोध्नु छ मैले ।
फरक फरक मानिस भेटेकोछु  मैले
फरक फरक लेखिएको देखेकोछु मैले ।
कतै लामा कपालवाला भेटेकोछु
कतै मुडुला चिल्ला टाउका देखेकोछु ।
तिम्रै नाममा उफ्रिएका बिबिध मानब समूह मध्ये
कसको नायकत्व लिएकाहौ तिमीले ?
आर्तनादको आवाजलाई कुन ठाउमा उभिएर
निर्णायक बनेर सुनेकाछौ तिमीले ?
तिम्रो नाममा बनाइएका यी मुर्त सम्पदाहरु
तिम्रो नाममा रचिएका यी अमुर्त सम्पदाहरु
यो हुनु नहुनुको सिमाभन्दा माथि उभिएर
कसलाइ स्विकारेकाछौ तिमीले ?
जिन्दगीको अन्तिम पाइलो धर्तिमा छाडेर
जब म उक्लिनेछु कुनै अज्ञात भावभुमीमा
मलाइ स्वागत गर्न कुन रुपमा देखिनेछौ तिमी ?
के तिमीसंगको नाता यै जिन्दगी सम्मको हो त?
मलाई भ्रमित नहुनु परोस केहि गरि कसै गरी
के तिमी मान्छेपिच्छे फरक छौ र ?
के तिमी खास कसैका मात्र नजिक छौ र ?
के मैले र उन्ले देखेका देवता अलग अलग हुन र ?
मात्र केही प्रश्न बाँकी छन , थोरै जिज्ञासा थाति छन ।

***
काठमाडौं
०७६/०२/३२/७
***

No comments:

Post a Comment