Monday, May 27, 2013

बडू-बंश-सञ्जाल ; सानो झलक


दुबाइ जसि आल, केलाइ जसि झाल ( स्थानिय आशिर्बचन)
   श्रीकेदारको आलभरी बस्ने बडूहरु सबै एउटै बाजे मोती बडूका संतान हुन भन्ने कुरा पछिल्ला अध्यायमा चर्चा गरि सकियो । मुलतः एउटै माटोमा उम्रिएका वेर्ना जस्ता सुरकाल गाउको सेरोफेरोमा वस्ने सबै आफन्तहरु एउटै देवताको तिलक धारणा गर्दछन् , एउटै मुलको पानी खान्छन र एक अर्कोको पीर मर्कालाई राम्रो सँग बुझ्छन् । श्रीकेदारको आल सबैको साझा सिमाना हो भन्नेमा सबै ढुक्क  छन् ।
    यिनका पूर्खाहरुले गरेका लामो यात्राको झलक समेत पछिल्ला अध्यायमा दिईएको छ । अत्री ऋषिले यहाँका पावन पर्वतीय धामहरुमा आश्रम चलाए । अनुसया, अपाला, आत्रेयीहरुले यतै तिर स्वाध्याय, साधना गर्दै बेदसुक्त समेत निर्माण गरे । साधना स्थलहरुमा आश्रम केदारको स्थापना भयो । कालक्रमानुसार ग्वाल्लेक घामकै पश्चिमी पार्श्र्वमा श्रीकेदारको आल तोकियो, त्यही आल अहिले सुरकालकहलिएको छ । खापरेसंगको लडाई पछि यस क्षेत्रकै देवी देउताहरुले यहाँकै पवित्र जलमा स्नान गरे । नागीमल्लको महत्वकांक्षा  र लछिचंदको अन्यायले गाउँमा प्रवेश नै पाउन सकेन ।
     नेपालको ईतिहासमा लेखिए अनुसार बाह्रौ शताब्दीतिर तत्कालिन कान्यकुब्ज (हाल भारतको कन्नौज) बाट आत्रेय गोत्री ब्राह्मण शक्ति भट्ट, उनका छोरा पृथ्बी र नाति उदय भट्ट हालको भारतिय उत्तरांचल हुदै डोटी प्रदेशमा प्रबेश गरेयसै बंशका बत्सराजले डोटीका राजाकी छोरिसंग बिबाह गरि यहाँको राजपाट समेत चलाएका थिए। यिनका छोरा उपबत्सराज र त्यस पछिका केहि पुस्ता सम्म डोटी र जुम्ला राज्यसम्म यो बंशको शासन थियो ।
    उता भारतमा मुसलमानहरुको चकचकी बढन थालेपछि त्यतातिरका आर्यहरुको पहाडतिर सर्दै आउने क्रम बढन थाल्यो । सम्भबत: सगोत्रीहरुको राज्य भएर होला, काशि बनारसबाट कुमायु हुदै काली पश्चिमका बायुतटिय बस्तिमा कालु भट्ट नामका ब्राह्मण पनि आई पुगे । यिनका तीन छोरा थिए, त्रिपुर, जासु र उदासु । त्रिपुरराज पछि उनका छोरा काशीराज, नातिगजराज र पनाति श्यामराजले यसै प्रदेशका    बिभिन्न बस्ति आबाद गर्दै दिन बिताए ।
   सम्भवत: बिक्रम सम्बत १५९५ तिर हुँदो हो । श्यामराजका छोरा मोति भट्टले ततकालिन सँङौडकोटका रजौटाहरु लाइ प्रभावमा पारे र बडाभट्ट कहलिन थाले । यिनै मोति भट्ट अर्थात मोति बडू ले बायुतट पर्बत (हालको ग्वाल्लेक धुरा) को पश्चिमी पार्श्वलाई आफनो कार्य थलो बनाई बंश परम्परा चलाए । यहि पद-बोधक बडाभट्ट शब्द कालान्तरमा जाति-बोधक बडूभट्टमा अपभ्रंशित भयो। पछि उनका सन्तानहरुले बडू थर नै कायम गरे ।
तदुपरान्त यो पंक्तिकारको बंश बिस्तार क्रम निम्नवत् चलेकोछ।
    मोति बडूका चार छोरा रतनदेव,लखनदेव,सतनदेव र प्रतापदेव-मध्ये लखनदेव का ३ छोरामा शंकरदेव,काशी र दुल्लप थिए । शंकरका कपुरे बडू र मगी भए । कपुरेबाट जसि, हिरा र रामी जन्मिए । जसि बडूका कालो र हिमरे नामका २ छोरा थिए ।कालो बडू पछि क्रमस:रतन,लाटो र मनुवा बडुसम्म चौधौं पुस्तामा हाम्रो इतिहास आइ पुग्दछ । मनुवा बडूका चार छोरा थिए,गुमानी सकते, काशि र दामू। गुमानिका छोरा नन्दराम र नाति मनिदत्त भए । पितामह मनिदत्त र मातामहि लक्ष्मीका तिन छोरा क्रमश: धर्मानन्द,रामदत्त र दामोदर (x)छोरी कुन्ति (पाण्डेय) र काली(पाण्डेय) हुन् । पिता धर्मानन्द र माता नर्मदा का तीन छोरा हामी भानदेव, दत्तराम तथा कृष्णदत्त र छोरी रमा(जोशी) भयौ। यस पछी भानुदेव र राजेश्वरीका चार सन्तानका रुपमा दीपेन्द्रदेव, कैलाशदेवदिलिपदेव र बासुदेवको पालो आउछ। यसरी बुवा दिपेन्द्र र आमा अन्जनाका कोखबाट जन्मेकी कन्यारत्न आत्रेयी लाई अत्री गोत्रीय हाम्रा कुलको जेठो र पहिलो सन्तानका रुपमा एकाइसौ पुस्तामा नामांक गरिएको छ ।

    यसै आधारमा मोती बडू पछिको वंशावली लाई व्यवस्थित गर्ने प्रयास हुँदै जानेछ। । यो वंशावली तयार गर्दा सुविधाका लागि केही सामान्य संकेत राखिएको छन् । जस्तै,– अपूताली परेका नामको अगाडि –× चिन्ह राखिएको छ । प्रष्ट नाम र विवरण अज्ञात भएको अवस्थामा-? चिन्ह राखिएको छ ।  
उल्लेखनीय काम गर्नेहरु, खास परिचयात्मक विवरण दिनुपर्नेहरु र अन्यत्र वसाईसराई भैजानेहरुको बारेमा विशेष चिन्हव्दारा पाद टिप्पणीमा प्रष्ट्रयाइएको छ या कोष्टकमा थप बिबरण समाबेश छ। मुलपूर्खाहरुको वंशवृक्षलाई सरलीकृत र संक्षेप गर्दै प्रत्येक हाँगाहरुको विवरण पछिल्ला वंशावलीमा यथाक्रम मिलाईएको छ । मोती बडूबाटै पुस्ता/बैकालीको गणना गरी नामको अगाडी संख्यामा जनाइएको छ । नामहरु यथासंभव संक्षेपमा लेखिएका छन् ।  मातृनामहरु संकलन गर्न र सवभन्दा पछिल्लो पुस्ताको विवरण समेत अद्यावधिक गर्न हाल समयले भ्याएन । यसका लागि संकलक क्षमा प्रार्थी छ ।
बडू-बंश बिस्तार-क्रम यसप्रकार छ।
१. मोती भट्ट/मोती बडू ( आधा दिनका मोती मट्ट आधा दिनका मोती बडू भनिने बडू वंशका शिर्ष पुरुष, मूल पूर्खा    र वंश शिरोमणि । पछिल्ला अध्यायमा विशेष चर्चा भै सकेको । यिनका दुई पत्नी १ छोरी र ४ छोरा   थिए ।)
 .१ रतनदेव बडू  मोती बडू की प्रथम पत्नीबाट जन्मेका रतनदेव बडूका संतान हाल सुरकाल कै भाईखर्क भन्ने ठाउँमा बस्दछन् । )
 .२ छोरी रतनमाला?
 २.३ सतनदेव. (मोती बडूकै द्वितीय पत्नीका प्रथम पुत्र हुन । यिनका संतान सुरकालकै कोईरालीमा बस्दछन् । केदारको धामी यसै राठबाट हुने प्रचलन छ । घरको किचलोका कारण यिनले केही वर्ष गाउँ छोडेर अन्यत्र बसे पनि अन्त्यमा यसै गाउमा फर्केका थिए भन्ने भनाई छ । )
 २.४ प्रतापदेव बडू– x ( मोती बडूकै कान्छा छोरा हुन् । अत्यन्तै मेधावी र कार्यकुशल थिए । युवावस्थामै विधुर बने पछि यिनले विवाह नै गरेनन् । भनिन्छ गृहत्याग गरी देशारन गर्न यी उतरापन्थ तिर गएका थिए । यिनका नाममा वजुवा मुठी भनेर अझै पोखल चढाइन्छ ।)
 २.५ लखनदेव बडू (मोती बडूकै तेस्रा पुत्र हुन । यिनका संतान दर संतानले सारा सुरकाल ढाकेको   छ । यिनका पनि काशी, दुल्लप र शंकर बडू नामका तीन छोरा थिए ।)
 ३-२.५.१ काशी बडू (डोवरा, गैर, चाल र डाडामाई भन्ने स्थानमा बस्ने बडूहरुका बाजे हुन । असीमी केदारका मूल धामी यसै राठबाट हुन्छन्।)
 ३-२.५.२ दुल्लप बडू(ऐचेकाणा, तुडा र डङाली भन्ने स्थानमा बस्ने बडूहरुका बाजे हुन्)
 ३-२.५.३ शंकर बडू (मोती बडूका नाती र लखनदेव बडूका तृतीय पुत्र हुन । यिनी पछीको हाँगोलाई मुखिया राठ भनिन्छ । गाउँका मुखिया, देउताका भण्डारे र धामी समेत यसै राठबाट हुने प्रचलन छ । यिनका पनि मगी र कपुरे बडू नामका दुई छोरा थिए ।)
 ४-२.५.३.१ मगी बडू (चौरा, पुजारागाउँ र देउलामा बस्ने बडूहरुका बाजे हुन् । चौरामा बस्नेहरुवाट मुखिया र पुजारागाउँमा बस्नेहरुबाट भण्डारे हुने प्रचलन छ।)
 ४-२.५.३.२ कपुरे बडू ( यिनका संतान हाल सुरकालको परीगाउँ भन्ने ठाउँमा बस्दछन् । सर्वप्रथम        यिनी असिमी केदारकै मंदिर छेउ नदी पारी घर बनाई बसेका थिए रे । त्यो पुरानो वस्तीको भग्नावशेष अझै देखिन्छ । त्यही पारी बसेकाले पारीगाउ भनिए पनि हाल मूल गाउमै यिनका संतानहरु बसेका छन् । यही राठबाट मुखिया र धामी हुने प्रचलन छ ।   यिनका छोरा रामीबडूका पालासम्म असीमी केदारको पूजारी बनेर समेत काम गरेका थिए रे । पछि पैतोला (पाण्डे) हरुलाई पूजारी बनाईयो ।)
हाल मोती बडूबाट वर्तमान पन्ध्रौ वैकाली सम्म आई पुग्दा बडूहरु झण्डै झण्डै दुई हजार भन्दा बढी भएका छन् । मातृनाम र बालकहरुका नाम थप्ने हो भने यो संख्या तीन दोबर पुग्दछ । यस मध्ये धेरै जनाले अन्यत्र बसाई सरी सकेका पनि छन् । यस मध्ये अधिकांस कंचनपुरको महेन्द्रनगर न. पा. बेलौरी, कृष्णपुर गुलरिया, वाणि बंक, दोधारा, व्रह्नदेव, सुडा, सिसैया भन्ने स्थान तिर सरेका छन् । यसै गरी भारतको पिथौरागढ, फैजावाद, बम्बै तिर पनि वसोवास सारेका छन् । नेपाल कै धनगढी, नेपालगंज, डडेल्धुरा र काठमाण्डौमा समेत बडूहरु यही बाटै पूगेका हुन् । यो वंशावलीमा रहेको अधुरो पन, असपष्टता र अन्य त्रुटीहरुलाई पछि परिमार्जन गर्दै लगिने छ ।


सबै बन्धुहरूका घरमा आफनो वंशावली इतिहाश रहोस्। आफना बन्धु, बान्धब, चेलिबेटी, दाजुभाई, आफन्त सानाठुला सबैले अध्ययन, फोन, इमेल गरी आफ्ना पुर्खाको बारेमा थाहा दिउन, थाहा पाउन्। अपनत्व बृद्धि होस् । हाम्रा कुलदेवताले हामी सबैको कल्याण गरून्, यही प्रार्थना गर्दछु।

No comments:

Post a Comment