Wednesday, May 29, 2013

आस्था र आगतको विसौनी


गोठ गौ,पाँण मौ होइजाउ, उजालो गौं होइ जाउ। सुरकाल सुकिलो होइजाउ,अरोल्या निसिजाउ।।


  पृष्ठभूमि


     अचेल गाउँमा विकासका वारेमा खुप्पै वहस चल्दछ । तुक ताल नमिलेका विकासका नारामा सिधासादा गाउँलेलाइ अल्मल्याइन्छ। यहि अलमल नै हाम्रो परम्परागत राजनैतिक संस्कार बन्न गएकोछ । वाहिरबाट ल्याएर मात्र गाउँमा विकास हुन्छ भन्ने भ्रम पनि छरिएको हुन्छ । तर गाउँका विकास नहुनु एक समस्या हो, र यो समस्याको समाधान   गाउँमैं छ । मुख्य कुरा, यहाँका वासिन्दा विकासका लागि हृदय देखि नै ईच्छुक हुनु पर्दछ । विकासको तिव्र आन्तरिक ईच्छा हुनेहरुले यसका बारेमा बिकासे कार्यकर्ताबाट थुप्रै कुरा बुझ्न सक्दछन् । रोगीको ईच्छा विरुद्ध उपचार हुन सक्दैन । गाउँलेहरुले सर्वप्रथम आफ्नो दृष्टिकोण बदल्नु पर्दछ किन कि विकासको दुनियाँ दृष्टिकोणबाट वन्दछ ।

      अर्काको परिभाषामा अर्थ्र्याइएको जीवन, अर्काकै अवधारणाबाट मूल्याङ्कन गरिएको हैसियत र अर्काले नै लेखि दिएको इतिहासको दृष्टिकोणबाट गाउँलेहरु आफूलाई बुझ्ने गर्दछन् । अर्काले गरीव मान्छेभनि दिएकै कारणबाट यिनीहरु ब्यर्थैमा लल्याकलुलुक भएका छन् । पिता पुर्खाको प्रतापि इतिहासलाई ओझेलमा राखेर टपेर हिसाब गर्दछन् र खाने खेल्ने उमेरमैँ बाजेबनेर चाउरिन थाल्दछन् ।
      गाउँमा धेरै जमिन भयो भने धनी भईन्छ भन्ने परम्परागत सोच अझै कायम छ । धेरै वस्तुभाउ राखेर गाउँलेहरु आफ्नो दुःख आफै बढाई रहेका हुन्छन् । थोरै होस् राम्रो होस् भन्ने भावना आएकै छैन । विकासप्रतिको आधुनिक अवधारणाबाट गाउँ अझै टाढा छ ।
    गाउँ र गरीबका बारेमा दोहरो मापदण्डहरु छन् । गाउँलेहरु गरीब छन्, यिनिहरु केही जान्दैनन्भन्नेहरुले नै आफ्नो बारेमा आफै सोच्नु पर्ने हुन्छभनी भाषण पनि गरिरहेको देखिन्छ । गरीब कहलिएकाहरु पनी अरुसँग आफूलाई दाँज्दा वा चन्दासहयोगदान दिँदा स्वयंलाई गरीब नै भन्दछन् तर गरीवी हटाउन त परीश्रम पो गर्नु पर्छ भन्यो भने हेपेको ठान्दछन् । वास्तवमा गाउँ र गाउँलेहरु के हुन् ? कस्ता छन् ? विवादको विषय वन्न गएको छ । यस वारेमा विभिन्न दृष्टिकोण आउन सक्दछन् ।
दृष्टिकोणका भ्रमहरु
      पुराना संस्कार र पुराना मान्यताहरु धमाधम भत्किरहेकाछन् । एकथरीहरु वर्तमान समयलाई पतनको पराकाष्ठामा पुगेको घोर कलियुगभन्न सक्दछन् । त्यस्तै, अब नून किन्न टनकपुर वा झुलाघाट जानु पर्दैन । औषधि देख्नै नपाई प्वाक्क परेर मर्नुपर्ने स्थिति छैन । माध्यमिक स्कूलसम्मको पढाई गाउँ मै छ । छःमहिना पछि आएको आफन्तको चिट्ठी पढिदिने मानिस अब खोजी रहनु पर्दैन । फोनको सुविधा आफ्नै गाउँमा छ । आधुनिक विकासका चमत्कारहरुको उपयोग गरी रहेका छौँ, यो समय सारै राम्रो छ भन्ने धारणा राख्नेहरु पनि थुप्रै छन् । त्यसैले मानिस आफ्नो सोचाई अनुसार बाँचेका हुन्छन् भन्नु परेको हो ।
     पानीले आकाश पखाले पछिको उज्यालो जूनमा दुईवटा यात्रीका दुईवटै दृष्टिकोण आउन सक्दछन् । एउटाले वाटो चिप्लो भयो भनेर निन्याउरो मुख लाउँछ । अर्काले टहटह जून लागेको छ भनेर हाँसी हाँसी हिड्न थाल्दछ । समय र परिस्थिति एकै किसिमका भए पनि यी विपरित दृष्टिकोणले जीवनको वास्तविकतालाई वताउँछ । आधा गिलास दूध दियो भने यौटा वालक दूध पाएकोमा रमाउन सक्छ, अर्को वालक आधा गिलास मात्र पाएकोमा रुन सक्छ । गुलाफको बोटमा फूलसँगै काँडा पनि हुन्छ । यथार्थमा सोच विचार गर्ने सकारात्मक र नकारात्मक दृष्टि नै मानिसको जीवनदर्शन हो । स्पष्ट र मौलिक विचार नभएकाहरु चलनचल्तीका थोत्रा आदर्शबाट तदर्थ जीवन बाँकी रहन्छन् ।
     अस्थिर मनस्थितिले कमजोर मानिसहरु प्रायः नकारात्मक बाटो लिन्छन्, जुन सजिलो तर अनिष्टकारी हुन्छ । सकारात्मक बाटोमा हिड्न त्याग, शक्ति र समय चाहिन्छ । मूलतः राम्रो काम गर्नु पर्दछ भन्ने भावना नै सकारात्मक भावना हो । सकारात्मक सोच भए दुनियाँ सापेक्ष स्तरमा आफै बदलिन्छ 
ग्राम्य जीवन प्रतिको दृष्टिकोण

    हामी हाम्रा गाउँघरलाई देवस्थल मान्दछौ । हाम्रो गाउँको गुगल चित्र यस लिंकमा छ ( https://www.google.com.np/mapmaker?ll=29.484922,80.46037&spn=0.018977,0.03665&t=h&z=15&lyrs=2&lyt=large_map ) यस ब्लगमा वर्णित गाउँ श्रीकेदारको आलकहिलएको छ । शस्यश्यामला बरदवेणियुक्त पवित्र पर्वतीय पृष्ठभूमिमा रहेको यो स्थान ऋषिमूनिले परमार्थ साधना गर्ने र भावतत्व खोज्नेहरुका लागि अनुपम तपोभूमि हो । यो शिवशक्तिले श्रृष्टि परिचालन गर्ने विहार भूमी हो । यो अनन्त सम्भावना भएको पर्यटन स्थल पनि हो । यो ठाउँ अष्ट भैरव, अष्ट दिक्पाल, अष्ट चिरन्जिवि, मुक्तात्मा देव पुरुषहरुले सद्चिन्तन गर्ने र विचार विमर्श गर्ने मन्त्रणा भूमि पनि हो ।
    एकलोटा शुद्ध जल र पत्र पुष्प चढाउँदा पनि प्रसन्न रहने यहाँका आराध्य देवताहरुको सौम्यता, सरलताको व्याख्या हुनै सक्दैन । शिवजीको पूजा भनेको शिव परिवारसँग सम्बन्धित कर्मकाण्ड मात्र हैन । शिवकेदार विशुद्ध यज्ञ-होम र सिधासादा प्रपञ्चरहित पूजा आजामा रमाउछन् । आडम्बरविहीन तत्व-ज्ञान नै शिवभक्ति हो । धार्मिक कहलिएर समाजबाट सम्मान र सुविधा खोज्ने एवं धर्मकर्मको नक्कल मात्र गर्नेहरुका लागि शिवस्थल अपायक र अनिष्टकारी हुन्छन् ।
    यो गाउँ धर्तिको विशिष्ट ठाउँमा छ । यहाँका वासिन्दाहरुका निरोगी र वलिया हात पाखुरा छन् । यहाँ स्वतन्त्र शौर्य सम्पन्न ईतिहास छ । आल भरि नै जमीन, जंगल, जल, जनशक्ति र जोश जाँगर प्रचूर मात्रामा छ । अनि कसरी यहाँका वासिन्दाहरु निर्धा र गरीब हुन सक्दछन् ?
    गुण अवगुण सालाखाला पारेर हेरियो भने यहाँका वासिन्दाहरु सोझा छन्, इमान्दार छन् र सापेक्ष अभाव देखिए पनि भावनाका धनी छन् । कठोर प्रकृतिसँग पौठे जोरी खेल्दै यिनीहरु हाँसो ठट्ठामा रमाइलो जीवन जिउन सक्दछन् । अभावको किचलो, व्यवहारको गनगन, र दैनिकीका समस्या सहेर पनि यहाँका परिवार कोही पनि विखण्डित भएकै छैनन् । जुनसुकै परीवेशमा पनि जिउन सक्नेहरु टुक्रिन सक्दैनन् । यहाँ अद्यतन अपराध प्रमाणित भै जेल परेकाहरु र हत्या भए गरेको जस्ता कुनै अपराधिक घटनाहरु भएकै छैनन् । नगण्य रुपमा जोइल वा पोइल जानेहरु देखिए पनि समाजले त्यस्तालाई हेय दृष्टिले नै हेरेकोछ ।
    आफ्नै श्रम निष्ठामा विश्वास गर्ने, मनमा कुरा लुकाउन नसक्ने, स्वार्थलाभ लिइ धोका दिने प्रवृति पटक्कै नभएका, अनुकरणीय भलादमीपन भएका, सानैमा पनि सन्तोष मान्ने, मान मर्यादाको परिधि नाघेर पैसा कमाउन नचाहने, शिक्षित नभए पनि समझदार र इमानदार मानिसहरु वस्ने यो गाउँको परिचयात्मक विशिष्टता छ । महान संस्कृतिका धनी मानिएका यहांका वासिन्दाहरुलाई वरपर गाउँका मानिसहरु अक्सर देउता को संवोधन दिने गर्दछन । बडूको बोल नै देउताभन्ने उखान प्रचलित छ । देवत्व भनेको मानव विकासको चरम अवस्था हो । थुप्रै भौतिक कठिनाई व्यहोरेका हुनाले यहाँका वासिन्दाहरु तन र मन नभत्किने गरी वलिया भएका हुन । यिनिहरु कठिनाईलाई विर्सन सक्ने गरी अरुको निम्ति उदाहरण हुन सक्दछन् र कस्तै आपद विपदमा पनि हाँसेर बाँच्न सक्दछन् । विनोदप्रीय स्वभावले यिनिहरुलाई सशक्त जीवन वाँच्न सिकाउँछ । वर्णनातीत विपदका दिनहरुमा पनि यो पँक्तीकारले आफ्नी आमालाई सँधै हाँसेको मात्र देखेको छ । प्रायः सत्तरीको सालाखाला जीवन वाँच्ने यहाँका वासिन्दा औसतमा कमजोर हैन, सारै बलिया छन् ।
    अचेल केहि व्यक्तिहरुको एउटा रटना छ कि उनीहरु गरीब छन् । वास्तवमा गरी
ब किन हुन्छन्
? यो विचारणीय प्रश्न छ । खप्तड स्वामीका अनुसार मानिस जे विचार गर्दछ, त्यही बन्दछ । गरीबीको विचारले मन-मष्तिष्कहरुलाई दरिद्र वनाए पछि कोही धनी हुन सक्दैन । प्लेटोको भनाईमा गरीवी मानिसको भौतिक आकांक्षा बढ्दै गएमा हुने कुरा हो, सम्पत्ति घटेर कोही पनि गरीब भएकै छैन ।
    अभावलाई गरीबी मान्ने हो भन्ने यो विश्व व्यापी छ । घरमा एक पाथी भट्टमास छ तर एक किलो अरहर नपाउँदा कोही गरिब हुन सक्छ र ? गोठमा दूध दिने भैँसी छ भने दिउँसो एक गिलास दूध रहेन भन्दैमा कोही गरिब हुँदैन । कतै रेडियो बजाउन पायो भने फुरुंगिनेहरु छन् भने कतै रंगीन टि.भी., आधुनिक कम्प्यूटर राख्न नसकेकोले गरिब कहलिएका छन् । सम्पन्न भनिएका देशहरुमा नयाँ मोडेलको गाडी खरीद गर्न नसक्नेहरु आफूलाई गरीब भन्दछन् । यस अर्थमा यो सुरकाल गाउँमा निरपेक्ष गरीबी छैन भन्न सकिन्छ । मूल सडकबाट दुई अढाई घण्टामा सजिलै पुग्न सकिने, विद्युत र सञ्चारको सुविधा सम्पन्न, ५ ज (जल, जमीन, जंगल, जनशक्ति र जोशजाँगर) को प्राचुर्यता भएको ठाउँमा गरिवी नामको कुनै रोग स्वेच्छाले बस्नै सक्दैन । धनदौलत जस्ता भौतिक वस्तु मात्र गाउँका सम्पत्ति होइनन्, नागरिकहरुको इमानदारी साहस र नैतिकता पनि साँचो सम्पत्ति हो, जुन यस गाउँमा प्रशस्त छ ।
वर्तमान परिवर्तन
    तदर्थ जीवन बाँची रहेको गाउँमा विकासको गाजेमाजे चाहना र वर्तमान प्रति विरक्ति रहनु स्वाभाविकै हो । यथार्थमा त्यस्तो हरेश खानु पर्ने स्थिति छैन । वर्तमानमा थुप्रै सकारात्मक परिवर्तन दृष्टिगोचर भएका छन् । यस्ता परिवर्तनहरु यसरी सारिणीकरण गर्न सकिन्छ ।
·        संयुक्त परिवारहरु क्रमशः एकल परिवारमा वदलिदैछन् । सरदर १५,२० जनाको संयुक्त परिवार रहने गाउँमा अधिकांश युवा जमातले सानो परीवार प्रति आकर्षण बढाएको पाइन्छ । यो आत्म निर्भरता प्रतिको वाञ्छित इच्छा हो ।
·        प्राचिन सामाजिक संरचनाको स्वरुप र व्यवहारका परम्परागत धारणाहरुमा क्रमशः प्रगतीशील परिवर्तन हुँदैछ । धार्मिक कट्टरतामा विस्तारै कमी आउँदै छ ।
·        महिलाहरुको अवस्था सुधारोन्मुख छ । सामाजिक कार्यमा आधा आकाशको सक्रियता बढेको छ । छात्राहरुको संख्यामा अपेक्षित वृद्धि देखिन्छ । आहारविहार र पोषणका सन्दर्भमा समेत प्रत्यक्ष परीवर्तन देख्न सकिन्छ ।
·        वालविवाह, वहुविवाह क्रमशः घट्दै छन् । यस्ता विवाह असल होइनन्भन्ने धारणाहरु वलवान हुँदैछन् ।
·        शैक्षिक जागरण बढेको छ, शैक्षिक चेतना वृद्धि हुदैछ । बिचैमा स्कूल छाड्ने प्रवृत्ति नरोकिए पनि प्राथमिक कक्षासम्म प्रायः सबै केटाकेटी स्कूल जाने गर्दछन् ।
·        प्रायः सबै घरमा चर्पि छ । सरसफाईमा ध्यान बढेको छ । पहिलेको जस्तो यत्रतत्र फोहोर देखिदैन ।
·        जीवन स्तरमा टड्कारो परिवर्तन देखिन्छ । मिठो खाने, राम्रो लाउनेहरुको संख्या थपिएको छ ।
·        वाल मृत्यु दर स्वात्तै घटेको छ । विरलै केटाकेटी अकालमा मरेका देखिन्छन् । औसत आयुमा सामान्य वृद्धि भएको छ । स्वास्थ्य चेतना आएको छ । 
     तर विकासको वाटोमा बामे सर्दै जाँदा केही अलमल हुनु स्वाभाविकै हुन्छ । विकाससँग सहयात्रा गर्ने केही नकारात्मक प्रवृतिलाई पहिचान गरी राखेमा विकास अलमलिने सम्भावना कम हुन्छ । विकाससँगै ग्रामीण जीवनको पट्यारलाग्दो लयवद्धता परिवर्तन हुनै पर्दथ्यो, तर सुदूरवर्ति गाउँहरुमा समेत शहर जस्तो उपभोगवादीतामा सीमित हुने वातावरणले जीवनको सम्पूर्णता खण्डित हुन सक्दछ । गाउँमा देखिएका केही विकृति र विडम्वनाहरुको टिपोट निम्न बमोजिम छ ।
Ø कृषि कार्य प्रति रुची हट्दै गएको छ । स्थानीय सीप लगभग सकिएको छ र पढेलेखेका भनिएकाहरुबाटै श्रमको अवमूल्यन शुरु भएको छ ।
Ø राम्रा राम्रा लोक प्रचलनहरु र लोक भाकाहरु ढिकीजाँतो (ओखलजतरा) जस्तै लगभग लुप्त प्रायः छन् । बजारबाट किनेका आधुनिक खानपानले प्राथमिकता पाउँदै छ ।
Ø नयाँ सुविधाहरुलाई पुरानो अवस्थाले धान्न सक्दैन भन्ने हेक्का कसैमा छैन । आर्थिक असंतुलनका कारण एक किसिमको तनाव व्याप्त हुँदैछ ।
Ø असल संस्कार, असल चरित्र बनाउने प्रयास पश्चगामी मानिदै छ । धुर्त्याइ गर्नेहरुको वोलवाला देखिदैछ । अर्काको नक्कल गर्ने र अर्काको देखासिकीको स्वांग रच्नेहरु एक किसिमको कुण्ठा पालेर बसेका छन् ।
Ø वेरोजगार,अर्धवेरोजगार युवाहरुमा जुवा, मद्यपान, धुम्रपान धुर्त्याइ, फट्याइ गर्ने प्रवृत्ति देखिएका छन् ।
Ø आम गाउँलेहरुमा चिन्तन गर्ने वानी छैन । मौलिकता र विशिष्टतायुक्त कुराहरुलाई कस्तुरीले आफ्नो वास्ना आफैले थाहा नपाए जस्तो गाउँले स्वयम् स्विकार गर्न तयार छैनन्।
Ø पढे लेखेका युवाहरुले वुद्धि विवेक र क्षमताको विकास गरी स्वयं मेहनत गर्नु भन्दा ठूला वडाको पछि लागेमा स्वतः मौका पाइन्छ भन्ने निरर्थक आशा राखेका हुन्छन् । अर्काको दयामायामा वाँच्न चाहेन परमुखापेक्षी दानमुखी विकास-पद्धति दरिद्र मनस्थितिको उपज हो भन्ने कुरा कसैले बुझेका छैनन् ।
Ø गल्ती सितिमिति स्विकार नगरी लिढेढिपी गरेर भए पनि आफूलाई राम्रो देखाउने नक्कले प्रवृति हावी हुदै छ ।  यसरी ससाना कुरामा आफू चलाक हुन खोज्दा स्वयं अलमलिन्छ भन्ने बु्झाई कम  छ । यथार्थमा मोही माग्ने ढुंग्रो लुकाउने प्रवृति राम्रो मानिदैन ।
Ø आर्जित धनको राम्रो सदुपयोग हुन सकेको छैन । वचत गर्ने प्रबृति देखिदैन । छोराछोरीको पढाई खर्चमा कंजुस्याई गर्ने, विकृत चालचलनमा सुधार नगर्ने नराम्रो लत परेको छ । यसै कारण आत्म विश्वास क्रमश; घटि रहेको छ ।
Ø अनपढका विचमा अभिमान देखाउनु पढेलेखेकोहरुको पहिचान बनेको छ । गुण कर्म स्वभावले नै मानिस ठुलो सानो हुन्छ भन्ने विशाल सोच आउन बाँकी छ ।
Ø गाउघरमा उत्पादीत सामान बेच्ने हाट वजार व्यवस्थित छैन । स्थानीय सामान पनि किनेर खानु पर्ने संस्कृति विकास भएकै छैन ।
Ø युवकहरु काममा वाहिर हुन्छन । बुढाबुढी र महिला खेतपाखा वनवेत तिर हुन्छन । बेवारेस जस्तो छोडिएका स साना केटाकेटीको पर्याप्त हेरचाह र शिक्षा दिक्षा हुन सकेको छैन ।
Ø गाउलेहरुमा ससाना कुरामा मन अमिलो गर्ने, सानो कुरालाई पनी ईज्जतको प्रश्न बनाउने, आफ्नो गल्ती लुकाई अर्काको गल्ती औलाउने अव्यावहारिक वानी  छ ।
Ø जमीन टुक्रा टुक्रामा विभक्त छ । यस्तोमा हल गोरु लैजान नै घण्टौ लाग्ने गर्दछ । परम्परागत कृषि औजारमा खेती गर्ने तौर तरिका आधारित छ ।
Ø वन जंगलमा धेरै चाप परेकोले हरियाली क्रमश; कम हुदै छ । जंगलमा आधारित वनवेत गर्ने, गोवर सोहर्ने र घर धन्दा गरी गोठेमल खेतमा पुर्याउने कोते घन्दामा अधिकाँस ग्रामिण जीवन सिमित छ ।

Ø रात दिनको व्यस्त दैनिकी, स्वस्थ्य चेतनाको विकास नभएको र आहार विहारमा सुधार नआएको कारण अधिकांस श्रमजीवी गाउलेहरुमा स्वास्थ्य समस्या देखिएका छन् ।
Ø यदाकदा देवी देउताका नाममा मिथ्या धर्मको चक्करमा गाउलेहरु घुमी रहेका देखिन्छन । काल्पनिक कर्मकाण्डवादीहरुले पितामह प्रपितामहहरुको दार्शनिक चेतलाई गाजेमाजे गरि दिएका हुनाले पुराना मान्यता शुध्द रुपमा बुझ्न सकिएको छैन ।      ग्रामीण समाज श्राद्धमा विरालो बाध्नेजस्तो प्रक्रियामुखी काममा अल्मलिएको छ । जीवनमृत्यु, व्याधिव्यवहार जस्ता अनिवार्य आपद विपदमा समेत ग्राम देउताहरुलाई संतुष्ट पार्ने गरी लकीरका फकिरभएकाहरु प्रशस्त देखिन्छ । यथार्थमा जिव्रानले भने जस्तै ईश्वरलाई रहस्यमय बनाउनु हुँदैन ।
Ø समष्टिमा हाम्रा गाउँ अशक्त बुढाबुढी, असहाय गरीवहरुका लागि काल पर्खने ठाउँ भएका छन् । अहिलेसम्म यिनका लागि कुनै कल्याणयोजना बनेको छैन ।
वास्तवमा विकास भनेको के हो त?
      यथार्थमा विकास भनेको हुने र नहुने, जान्ने र नजान्ने बिचको अन्तर मात्र हो । कञ्चनपुरसँग तुलना गर्ने हो भने वैतडीमा विकास नभएको मान्नु पर्छ । तर बझाङ्गसँग तुलना गर्ने हो भने वैतडीमा धेरै विकास भएको छ भन्नुपर्ने स्थिति आउँछ । यसरी नै एउटा एस.एल.सी. पास व्यक्ति स्वयम कक्षा ५ मात्र पढ्नेका लागि जान्ने मानिस हो भने स्नातक पढेका लागि नजान्ने मानिस हो । यसरी विकासलाई सापेक्ष अर्थमा बुझ्नु पर्दछ । वास्तबमा विकास निरन्तर चलि रहने प्रक्रिया हो ।
     विकासको गति थाहा पाउन नयाँ खबर, नयाँ औजार, नयाँ बजार, नयाँ पात्र र नयाँ कानूनका वारेमा जानकारी राख्नु पर्दछ । यस्ता जानकारी लिन गाउँमै स्थानीय सामुदायिक केन्द्र राख्दा सूचनाहरु संस्थागत रुपमै बुझ्न सकिन्छ । सरकारका तर्फबाट गरीबी निवारणका लागि लागु गरिएका विभिन्न विकास कार्यक्रमहरु (जस्तै; त्रिभुवनग्राम विकास कार्यक्रम, गाउँफर्क राष्ट्रिय अभियान, राष्ट्रिय विकास सेवा कार्यक्रम, महाकाली, सेती एकीकृत ग्रामीण विकास कार्यक्रम, आफ्नो गाउँ आफैँ बनाउ कार्यक्रम, गरीबसँग विश्वेश्वर कार्यक्रम, महिला जागृति तथा आय आर्जन कार्यक्रम) आदिका वारेमा जानकारी राखेमा विकासका गतिविधि ठम्याउन सकिन्छ ।
     तर गाउँलेले चाहने विकास भनेको आम्दानीमा वृद्धि, आधुनिक उत्पादनका वस्तुहरुको उपयोग, खानपान र रहनसहनको स्तरमा वृद्धि एवं शिक्षा, स्वास्थ्यमा सुधार गर्नु हो । विकास भएमा फूर्सतका क्षणहरु बढ्दछन् र रमाइलो गर्न सकिन्छ भन्ने ग्रामीण चाहना हुन्छ । यसरी विकास कहिल्यै नसकिने अन्त्यहीन यात्रा बन्न गएको छ ।
विकासका सम्भावनाहरु
विकास सकारात्मक परिवर्तनको नाम पनि हो । गाउँमा चलेका पण्म (पर्म) प्रथा, खेणिको चलन, ऐंचोपैंचो लिने दिने व्यवहारहरु, एक ठाउँमा बसेर भलाकुसारी गर्ने चलन, सबै जातजातीलाई सम्मान सूचक नाता लगाएर संवोधन गर्ने प्रचलन, एक देवताका गुठियारमा एकता राख्ने प्रचलन, भातभान्छा शुद्धपवित्र गरी खाने, कुनै काम गर्दा देवी देउतालाई साछी राख्ने, र सामुहिक काम सर्वसम्मतिबाट दिन तोकेरै गर्ने प्रचलन सकारात्मक विकासका चिन्ह हुन्। दिगो विकास तव मात्र सम्भव हुन्छ, जब स्वावलम्वी भै आफ्नो काम आफै गर्ने बानी बस्दछ । यस क्रममा विकास प्रतिका केही नयाँ अवधारणाहरु विकसित गर्नु जरुरी देखिएको छ । यथा,
v उपभोगवादी सुविधामुखी भन्दा विकासवादी सोच बढाउनु गाउँको हितमा हुन्छ ।
v खेर गइरहेको जल, जमीन, जङ्गलको प्रभावकारी र दक्षतापूर्ण उपयोग गर्ने प्रक्रिया थाल्नु पर्दछ ।
v कृषिमा विविधिकरण, विशेषीकरण र कृषि उद्योगको विकास गरेर मात्र गाउँको विकास गाउँबाटै सम्भव हुन्छ भन्ने मान्यता राख्नु पर्दछ ।
v गाउँको व्यवसायिक संरचना दक्ष र व्यवसायमुखी बनाउनु पर्दछ । यसका लागि  गाउँमा शैक्षिक र स्वास्थ्य चेतना बढाउनु पर्दछ ।
विकाससँगै असल संस्कार र असल चरित्रमा जोड दिएमा मात्र वास्तविक विकास ठहरिन्छ, अन्यथा जलराक्षसको जस्तो विकासले विनासलाई पनि निम्त्याउँछ । विकासकै अर्थमा अन्यत्रका राम्रा राम्रा उदाहरणहरुलाई आदर्श मानेर तदनुसारको प्रचलन पनि गाउँमा बसाउन सकिन्छ । यस्ता केही रिपोट तल प्रस्तुत छन् ।
ü पूर्वी पाहाडहरुको जस्तो स्थानिय उत्पादन गाउँमै विक्रि वितरण गर्नेका लागि निश्चित समय र स्थानमा हाट वजारको व्यवस्था गर्न सकेमा कृषि वजार व्यवस्थित हुदै जाने छ । माटो परिक्षण गरी भूउपयोगको क्षेत्र निर्धारण गरिदिनु पर्दछ ।

ü एकै ठाउँमा गुजुमुजु गरी वसेका अव्यवस्थित ग्रामीण वस्ती भन्दा करेसावारी समेत हुने गरी योजनावद्ध रुपमा सजिलो आवास व्यवस्था मिलाउन सकिन्छ । यसो गर्दा गाउँको रहन सहनमा सुधार आउने छ ।
ü थकालीहरुको जस्तो ढुकुटी प्रथा चलाई आपदविपद पर्दा परिचालन हुने गरी वचतलाई सहि उपयोगमा ल्याउन सकिन्छ ।
ü तरालीमगरहरुको जस्तो विशेष गरी महिलाहरुको लागि अलग्गै पेवा धनको प्रवन्ध मिलाउन सकिन्छ । यसो भएका महिला सशक्तिकरणमा बल पुग्ने छ ।
ü पर्महरुलाई पैसा दिने वा वचतमा राखने गरी सामुहिक श्रम वैंकको व्यवस्था गर्न सकिन्छ । यसो गर्दा श्रमको वचत हुने र श्रमिक खोज्न सुविधा पुग्ने छ ।
ü परम्परागत रुपमा टुक्रा टुक्रा भै वितरण भै रहेको जमीन चकलावन्दीमा मिलाउन सकिन्छ । यसले अनुत्पादक श्रम घट्नेछ र सहकारी खेती गर्न सुविधा हुनेछ ।
ü व्यर्थको गफ गरी विना काम दिन काट्ने मानिसहरुलाई बुढापाकाको समूहले सामाजिक काम तोकी अतिरिक्त श्रमलाई सस्तोमा प्रयोग गर्न सकिन्छ ।
ü काभ्रेका गाउँ घरहरुमा जस्तो पराल र नलबाट गुन्द्री चटाईहरु बुन्ने गर्न सकिन्छ । यसले घरेलु श्रमको अतिरिक्त उपयोग गराउन सिकाउने छ ।
ü धुवा रहित सुधारिएको चुलो, गोठेमलको आधुनिक व्यवस्थापन र आधुनिक घट्टहरुको सुधार गरी नयाँ प्रविधिको सदुपयोग गर्न सकिन्छ ।
अव एउटा गाउँका समस्त गाउँलेहरु एकै डुङ्गामा तरिरहेका यात्री जस्ता हुन् र डुङ्गामा प्वाल परे कोही पनि बच्न सक्दैनन् भन्ने भावनाको वलियो विकास हुनु जरुरी छ । हाम्रो वर्णित गाउँको भूभौतिकी विश्लेषण गर्दा निम्न कुरामा ग्रामीण विकासका योजनाहरु तयार हुन सक्दछन् ।
ü स्तरीय सामुदायिक भवनसँगै सुविधा-सम्पन्न पाहुना घर र आधुनिक सञ्चार सुविधा सम्पन्न सूचना केन्द्र निर्माण भएमा ग्रामीण पर्यटनको लागि यो गाउँ सहज गन्तव्य हुन सक्दछ । जैविक विविधता र प्राकृतिक दृश्यको अवलोकन, मानवीय परम्पराको अध्ययन, सुदूर पश्चिमेली लोकसम्पदा, लोक संस्कृति, लोक वाङ्मय र लोकसाहित्य अध्ययनका लागि नमूना स्थल बन्न सक्दछ ।
ü एक डेढ घण्टाको पैदल बाटोसम्म पुगेको मोटरबाटोलाई गाउँसम्म तान्न सकेमा गाउँको विकासले अझ फड्को हाल्नेछ ।
ü स्थानीय श्रम सीपलाई नयाँ प्रविधिको माध्यमबाट व्यवस्थित गर्न र सीपमूलक शिक्षा दिन शिक्षालयको व्यवस्था हुनु पर्दछ । उदाहरणका लागि फलाम र तामाका कलात्मक भाडा बनाउने, केतुकी र सिमलका डोरीबाट घरेलु सामान तयार गर्ने, स्लेट, खरीढुङ्गा चूनढुङ्गाको संकलन र प्रशोधन, औषधिको प्रवर्धन र प्रयोगका लागि तालिम दिन सकिन्छ ।
ü कम तर क्षमतावान पशु पाल्ने, आधुनिक गोठ राख्ने, डाले घाँस र चरनको विकास गर्ने गरी पशुपालनको कामलाई व्यवसायीकरण गर्न सकिन्छ ।
ü यसै गरी आधुनिक घट्ट निर्माण, आधुनिक गोठ निर्माण, आधुनिक चुलो प्रांगारिक मल, खाद्यान्न प्रशोधन, निगालोका सामान, नलपरालका गुन्द्री चटाई र अन्य सामान, स्थानीय जडीबुटीको प्रशोधनमा आधुनिक प्राविधिको प्रयोग गराउन सकिन्छ ।
ü बालीमा विविधिकरण गर्दै मसला खेती (अदुवा, वेसार, लसुन, अलैची, खुर्सानी आदि) र दलहन खेती (भटमास, गहत, मास, मास केराउ आदि) को प्रदर्शन प्लट राख्ने एवं करेशावारी, माहुरीपालन र जडीबुटी खेती समेतको विकास गर्न सकिन्छ ।
यसरी क्रमशः विकासको विस्तार हुँदै गएमा र सहकारिताको आधारमा काम हुन आलेमा यो गाउँ नेपालकै एउटा नमूना गाउ बन्न सक्ने स्थिति छ ।
समापन
    विगतमा आफ्नै किसिमको एकांकी जीवन वाचेका ग्रामीण समुदायलाई विकासका नयाँ सम्भावना तिर औल्याउँदै एउटा नयाँ दृष्टिकोण दिनुपर्ने वेला आएको छ । आजका ससाना वालकहरुमा भविष्यका थुप्रै होनहार प्रतिभा निक्लन सक्दछन् ।  त्यही स्वर्णिम भविष्यलाई ध्यानमा राखी काम गर्नु पर्ने भएको छ । कौटुम्बिक जात्याभिमानमा ठेस पुग्न नदिने हो भने वदलिएको विश्व व्यवस्था अनुरुप वदलिनै पर्दछ । भावि संततिको निष्कंटक भविष्य यस्तै योजनावद्ध काम गराईमा भर पर्दछ ।
   अचेल अर्वाचीन र प्राचीन सिद्धान्तहरु पुरै बदलिएका छन् । केही वर्ष अगाडि कै व्यवहारहरु पनि आज भोली समाजमा नमिलेका जस्ता देखिन्छन् । उचनीचको संस्तरण, खानपान र परस्पर व्यवहारमा व्यर्थैका वखेडाहरु बदलिदो सामाजिक प्रतिमान अनुसार समायोजन गर्नै पर्दछ । केही कमजोरी, केही अन्धविश्वास हट्न गएमा र शैक्षिक चेतनाको उज्यालोबाट बञ्चित नभएमा भविष्य निश्चित पनि प्रकाशोन्मुख रहनेछ ।
   गौरव गर्ने खालको आफ्नै पूर्खाको इतिहासले जीवन मूल्यको रचना गर्दछ । जीवनले हामीलाई रचना गर्नु प्राकृतिक घटना हो तर हामीले जीवन रच्यौ भने त्यो जीवन मूल्य बन्दछ । स्वतन्त्र व्यक्तिको परिचय उसको यसै मौलिकतामा हुन्छ । यस्तो पहिचानयुक्त ब्यक्ति सोच्न सक्दछ र रच्न सक्दछ । तर अतीतको थोत्रो गर्व मात्रै गरीराख्नेहरु कालक्रममा विलुप्त हुने गर्दछन् । त्यसैले पिता पुर्खाका सपनाहरुलाई यसरी वर्तमानमा उतार्नु पर्दछ, जसरी शिशुको अनुहारमा माता पिताको प्रतिविम्ब देखिने गर्दछ ।
    श्रीकेदारको आल मानिएको सुरकाल गाउँ वादल भित्र लुकेको यस्तो गाउँ हो, जहाँ आफ्नो मौलिक सम्पदा, भाषा, रहनसहन र आर्थिक हैसियत समेत सुरक्षित छ । पहाडका टाकुरामा पुग्दा देखिने मनोहारी दुश्य नै यहाँको आकर्षक र विचित्रपन हो । औसतमा परीश्रमी इमान्दार र सच्चा हृदय भएका बासिन्दाहरुमा नै गाउको नैसर्गिक चरित्र देखिन्छ ।
   अर्को ठाउँको नक्कल मात्रै समाज सुधार होइन । राम्रो चलनको रक्षा गर्नु र नराम्रोलाई सच्याउनु पनि सुधार कार्य हो । यहाँका उत्तराधिकारीहरु जानून कि उनीहरुको प्राचिन इतिहास कस्तो थियो ? खेचराद्रि, उकुकोट अजयमेरुका सभ्यताहरु कसरी सकिए ? कहाँको इतिहासमा उत्थान, पतन, सुख समृद्धि रक्तपात र षडयन्त्र छैन? ग्वाल्लेक केदारको पूर्वी पार्श्र्वमा असिम केदार र पश्चिमी पार्श्र्वमा सिम केदार रहनुको सांकेतिक अर्थ के होला? यस्तै कैयौं अनुसन्धनेय उत्तर दिनसक्ने उर्वर पुस्ता अवको आवश्यकता हुन् ।
   विश्वास गर्न सकिन्छ, अप्ठ्यारा र कठ्यांग्रिएका दिनहरुमा अव उज्यालो र न्यानो घाम लाग्ने छ । विगतको जस्तो अव कसैले दुःख पाउने छैनन् । आफ्नो सुधारको वातावरण आफैंले बनाउने, सफासुग्घर भएर बस्ने, शिष्टसभ्य भएर वोल्ने, सद्कर्म सद्व्यवहारमा लागिरहने र आफ्ना सन्तानहरुलाई शिक्षित सुसंस्कृत बनाउने काम प्रत्येक व्यक्तिको निजी दायित्व भित्र पर्नेछन् । कर्मी माहुरी जस्ता दिन रात काममा खटिरहने, सिधासादा गाउँलेहरुलेबाट व्यर्थैमा ठुलावडा भलादमी वनाइएका कथित खोले टाकुरे भुरे ठालुहरुले अबका दिनहरुमा ढलिमलि गर्न पाउने छैनन् । श्रम-निष्ठामा फुले फलेको गाउँको गौरवपूर्ण इतिहासका वर्तमान संस्करणहरुले पूर्खाको प्रेरणा लिई आफ्नो सोचलाई नविनता दिने छन् । गाउँमा चिन्तन विउझिने छ, चरित्रले यात्रा गर्ने छ । यहाँ सुन्दर रचिने छ, सुन्दर सोचिने छ । कसैको पनि व्यर्थैमा समय वर्वाद हुने छैन । जम्मा ४ हजार भन्दा कम जनसंख्या भएका दुनियाँका सवभन्दा साना राज्यहरु जस्तो अलग्गै पहिचान भएको यो गाउँका सबै वासिन्दाहरु मनवचनकर्मले गाउँको विकासमा लागि पर्ने छन् । गाउलेहरुमा विगतलाई हेरी आगतका लागि आस्था पलाउने छ र गाउँका वस्तीविसौनी, लेक डाँडाहरुको भविष्य अब उज्यालो बाटोतिर हिड्ने छ । शिबास्ते पन्थान ।

।। तन्मे मन शिव संकल्पमस्तु ।। 

No comments:

Post a Comment